कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भोर्लाका पातमा चिच्चरको पोको

रमेशकुमार पौडेल

(चितवन) — माघ आउनै लाग्दा थारू समुदायमा माघीको रौनक भित्रिइसकेको छ । माघ १ गते थारूहरूको नयाँ वर्ष पनि हो । पश्चिम तराईका थारूले माघी भने पनि पूर्वी तराईमा खिचडा र चितवन नवलपुरतिर खिचरा भनेर यो पर्व मनाउँछन् । खिचराको मुख्य परिकार माछा र चिच्चर हो । अनदी धानको चामलबाट चिच्चर बनाइन्छ । बाफमा पकाएको अनदीको भात भोर्लाका पातमा पोको पारेर खिचराका दिन माछासँगै खाने चलन छ । 

‘अहिले एक त अनदी कम फल्छ, जेनतेन अनदी भेटिए पनि पकाएको चिच्चर केमा पोको पार्ने भन्ने समस्या सुरु भएको छ,’ थारू कल्याणकारी सभाका पूर्वसल्लाहाकार बासु चौधरीले भने, ‘भोर्लाको पात खोज्न को जंगल जाने ?’ पहिलेपहिले पुस मसान्तमा अनदीको चिच्चर पकाएर भोर्लाका पातमा पोको पारेर राख्ने र माघे संक्रान्तिमा खाने चलन थियो । यो बिस्तारै हराउँदै छ । वनमा भोर्लाको पात खासै नपाइने भएपछि केराको पात विकल्प बनेको छ । त्यसैले चिच्चरको स्वाद पहिलाको जस्तो नभएको चौधरी बताउँछन् । कुनै समयमा चौधरीले तीन–चार बिघामा अनदी धान रोप्थे । गत वर्ष तीन कट्ठामा लगाए । ‘माघी र ठूलो एकादशीमा चिच्चर बनाएर खाने गरिन्छ, पहिला चिच्चर अनेक काममा प्रयोग हुन्थ्यो,’ उनले भने, ‘अहिले खाने चलन घट्यो, त्यसैले अनदी रोप्न पनि कम हुँदै गयो ।’


माइतमा कसैको मृत्यु भएमा छोरीचेली चिच्चरको भारी लिएर भेट्न आउँथे । विवाह भएर गएपछि माइत आउँदा ल्याउने कोसेली पनि चिच्चर नै हुन्थ्यो । खेतमा काम गर्नेले पनि खाजाका रूपमा चिच्चर नै खान्थे । ‘यो खाएपछि भोक कम लाग्छ, काम गर्ने तागत आउँछ,’ चौधरीले भने । अनदीको लट्टे पकाएर पहाडी क्षेत्रमा खाने चलन पनि छ तर चिच्चर फरक विधिले पकाइन्छ । यसमा घिउ, चिनी राखिन्न ।


चिच्चर बाफमा पकाएको अनदीको भात नै हो । सबैभन्दा पहिला दुई घण्टाजति चामल भिजाइन्छ । भिजेको चामललाई कसौंडीजस्तै देखिने माटाका भाँडामा राखिन्छ, जसलाई पैनी भनिन्छ । पैनीको तल्लो खण्डमा ठूलो प्वाल हुन्छ । प्वालमा खडाइ बुनेर बनाएको ‘छितरी’ राखिन्छ, जसले गर्दा चामल खस्न पाउँदैन । तसला अर्थात् ठूलो भड्डुमा भकभकी पानी उमालिन्छ । पानी उम्लेपछि चामल भरेको पैनी तसलामाथि राखिन्छ । ‘तसलामा राखेको पानी उम्लेपछि पैनीमा राखेको चामल बाफले पाक्न थाल्छ, लगभग डेढ–दुई घण्टापछि चिच्चर पाकेर तयार हुन्छ,’ खैरहनी जब्कौली गाउँकी सिखनी चौधरीले भनिन् । चिच्चर पाकेपछि भोर्लाका पातमा राखेर पोका बनाइन्छ । ती पोका एक दिनपछि आगामा पोलेर माछासँग खाइन्छ । ‘यसरी खाँदा जाडामा ज्यानमा गर्मी आउँछ,’ खैरहनी–९ बैरनी गाउँकी चन्द्रा चौधरीले भनिन्, ‘चिच्चर पोकाको विशेषता यही नै हो ।’


अहिले चिच्चर पकाउने, पोका बनाउने र खाने क्रम घट्दै गएको छ । थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नम्बर ७ का अध्यक्ष चूडामणि चौधरीले भने, ‘चितवनका थारू समुदायको विशेष परिकार नै हराउने हो कि भन्ने चिन्ता लाग्न थाल्यो, पर्वको विशेषता जगाउनकै लागि ‘खिचरा महोत्सव’ आयोजना गरेका हौं ।’ कल्याणकारी सभा क्षेत्र नम्बर ७ ले खैरहनीको जब्कौली चौरमा आइतबार (पुस २७) देखि माघ ८ गतेसम्म सातौं खिचरा महोत्सव गर्दै छ । महोत्सव परिसरमा ‘चिच्चर पोका’को विशाल मूर्ति राख्ने अध्यक्ष चौधरीले बताए ।

प्रकाशित : पुस २७, २०७६ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?