प्रदेश ३ को स्थायी राजधानी र नामको प्रस्ताव सदनमा दर्ता हुँदै, आजैदेखि छलफल सुरु हुने

सुवास विडारी

(मकवानपुर) — प्रदेश ३ को स्थायी राजधानीको स्थान र नामको प्रस्ताव शनिबार सदनमा औपचारिकरुपमा दर्ता हुँदैछ । स्थायी राजधानी नामकरण र प्रदेश नामकरण सम्बन्धी कार्यविधि २०७६ अनुसार बिहान ९ देखि ११ बजेसम्म प्रदेशसभा सचिवालयमा प्रदेशको स्थायी राजधानीको स्थान र नाम दर्ता हुने समय तोकिएको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।

प्रदेश ३ को स्थायी राजधानी र नामको प्रस्ताव सदनमा दर्ता हुँदै, आजैदेखि छलफल सुरु हुने

उनका अनुसार सदनमा दर्ता भएको स्थायी राजधानीको स्थान र नामबारे आजै दिउँसो १ बजेबाट बस्ने प्रदेशसभा बैठकमा छलफल प्रारम्भ हुनेछ । ‘प्रदेशसभा दर्ता भएको स्थान र नामको विषयमा सदनमा छलफल सकिएपछि आइतबार निर्णायार्थ पेस हुनेछ । दुवै विषय मतविभाजन प्रक्रियाद्वारा टुंगिनेछ’, सभामुख श्रेष्ठले भने ।


प्रदेशको स्थायी राजधानी हेटौंडा कायम गर्ने र वाग्मती नामकरण गर्ने विषयमा नेमकिपा र विवेकशील नेपाली दलबाहेक सबै दल एकमत भइसकेका छन् । दुवै दलले आज यस विषयलाई टुंग्याउने जनाएका छन् । राजधानी सम्भाव्यत्ता अध्ययन समितिको प्रतिवेदनअनुसार पाँच जिल्लामध्येबाट जिल्ला र जिल्लाका कुनै स्थान नै तोकेर राजधानीको लागि प्रस्ताव सदनमा दर्ता हुनेछ ।


कांग्रेसका सचेतक छिरिङ दोर्जेका अनुसार सदनमा दर्ता भएको जिल्लाहरुको स्थानमध्येबाट एक स्थानलाई मतविभाजनद्वारा राजधानी घोषणा गरिनेछ । समितिले काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुर स्थायी राजधानीका लागि योग्य भएको भन्दै सिफारिस गरेको थियो । नामकरण सम्बन्धी कार्यविधि २०७६ अनुसार नाम प्रस्ताव प्रक्रिया अगाडि बढ्नेछ । यसअघि सदनमा दर्ता भएका नामहरु पुनः प्रस्ताव गर्नुपर्ने हुनेछ । यसअघि सदनमा गौरीशंकर, नेवा–ताम्सालिङ, नेपाल मण्डल, पशुपतिलगायत नाम विभिन्न समयमा प्रदेशसभा सदस्यहरुले दर्ता गराएका थिए ।


यसअघि नामकरणको सम्बन्धमा कार्यविधि नबनेको कारण दर्ता भएको भए पनि अब कार्यविधिअनुसार पुनः दर्ता गर्नुपर्ने भएको हो । नयाँ कार्यविधि अनुसार सदनमा दर्ता भएका नामहरुमध्येमा मतविभाजनद्वारा एउटा नामको टुंगो लगाइने छ ।


प्रकाशित : पुस २६, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?