‘रोनाल्डो’ले घर भत्काउँदा संसद्‌मा तरंग

(चितवन) — चितवनमा ०६६ देखि ०६९ सालको हिउँदसम्म जंगली हात्ती ‘ध्रुवे’को आतंक थियो । उसले १५ जनाको ज्यानसमेत लियो । ध्रुवेले त्यसबेला संसद्मा पनि चर्चा पाएको थियो । अहिले ध्रुवे शान्त छ तर जंगली हात्तीका कारण पश्चिम चितवनको मेघौली क्षेत्र भने अशान्त छ । वडा कार्यालय, हानगरपालिका हुँदै जंगली हात्ती नियन्त्रणको स्वर संसद्सम्म उठेको छ ।

‘रोनाल्डो’ले घर भत्काउँदा संसद्‌मा तरंग

भरतपुर महानगरपालिकाको वडा नम्बर २७, र २८ को वडा कार्यालय भवन, निकुञ्जको मेघौली मध्यवर्ती उपभोक्ता समितिका कार्यालय र पोस्टमा बुधबारदेखि स्थानीयले ताला लगाएका छन् । भरतपुर महानगरपालिकाका मेयर, प्रशासकीय अधिकृत, सहायक प्रमुख जिल्ला अधिकारी, निकुञ्जका प्रमुख संरक्षण अधिकृत, जिल्लाका प्रहरी प्रमुखको टोली नै मेघौली पुगेर स्थानीयसँग छलफल गरेका छन् । राष्ट्रिय सभामा सांसद पार्वती रावल दिलकुमारीले बिहीबार मेघौली क्षेत्रमा फैलिएको जंगली हात्तीको ‘आतंकलाई’ नियन्त्रण गर्नुपर्ने र स्थानीय ढुक्कसँग बस्न पाउने अवस्था सिर्जना गर्न माग गरिन् । स्थानीयका अनुसार भरतपुर महानगरपालिकाको वडा नम्बर २७ र २८ मा पर्ने मेघौली क्षेत्रमा ‘रोनाल्डो’ र ‘गोविन्दे’ नाम गरेका दुईवटा जंगली भाले हात्तीले गाउँमा दु:ख दिइराखेका छन् ।


निरन्तर त्रास

चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको मेघौलीमा जंगली हात्तीले दु:ख दिने घटना नयाँ होइन तर यसपटक हात्तीले लामो समयदेखि सताइरहेको छ । ‘हरेक वर्ष जंगली हात्ती आउँछ । वर्षमा दुई–चार दिन आएर फेरि जंगलमै हराउँथ्यो,’ स्थानीय लोकनाथ सापकोटाले भने, ‘यसपालि पुस ७ गतेदेखि लगातार दु:ख दिइरहेको छ । दुई हात्ती गाउँ पसेका छन् ।’ भरतपुर–२८ का वडाध्यक्ष आशबहादुर कुमालका अनुसार जंगली हात्तीले एउटा घर पूर्ण रूपमा भत्काएको छ । दुईवटा घरको पालीमा क्षति पुर्‍याएको छ । सात बिघाको हाराहारीमा केराखेती नोक्सान गरेको छ । भकारीमा राखेको धान खाएर नोक्सान पुर्‍याएको उनले बताए । केरा र अन्नबाली गरेर २० लाख रुपैयाँ बराबरको नोक्सान बनाएको उनको अनुमान छ ।


हात्ती गाउँ आएर घरगोठ भत्काउन थालेपछि सिद्धबहादुर रानामगर आफ्नो कच्ची घर छाडेर छिमेकी खडानन्द सापकोटाको घरमा सुत्ने गर्छन् । तीन छोरीसहित छिमेकीको घरमा आश्रय नलिएको भए उनी ठूलो दुर्घटनामा पर्न सक्थे । पुस २२ गते राति जंगली हात्तीले उनको कच्ची घर ध्वस्त पारेको छ । पूर्वसावधानी अपनाएका कारणले मात्र हालसम्म मानवीय क्षति हुन नपाएको स्थानीय लोकनाथ सापकोटाले बताए । ‘दुई–दुई वटा जंगली भाले हात्ती गाउँ हिँडेका छन् । केरा र धान नोक्सान गरे । घर पनि भत्काए । मान्छेलाई भने धन्न केही भएको छैन,’ मेघौली मध्यवर्ती उपभोक्ता समितिका उपाध्यक्षसमेत रहेका सापकोटाले भने, ‘हात्ती डुल्न थालेपछि सुरक्षित रूपमा बसेका कारण मान्छे जोगिएका हुन् ।’


जंगली भाले हात्ती ‘रोनाल्डो’ पूर्वी चितवनको सौराहा क्षेत्रमा बस्ने गर्थ्यो । यसपटक मेघौली छिरेपछि उसले आतंक सुरु गरेको स्थानीय बताउँछन् । चितवन निकुञ्जको विभिन्न सेक्टरमा भाले हात्तीहरू पोथी र आहाराको खोजीमा भौंतारिने गर्छन् । माडी क्षेत्रमा ध्रुवे हात्ती बस्छ भने गोविन्दे नामको अर्को हात्ती पनि त्यतै घुमिरहन्छ । रोनाल्डोले भने पूर्वी क्षेत्र कब्जा गरेको छ । यसबाहेक चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज ओहोरदोहोर गर्ने हात्तीको झुण्ड नै हुने गरेको छ । यी हात्ती बेलाबेला स्थानीयका लागि समस्या बन्ने गरेका छन् ।


चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेका अनुसार यो आर्थिक वर्षमा जंगली हात्तीका कारण तीन जनाले ज्यान गुमाएका छन् । उनीहरू सबै माडीका बासिन्दा हुन् । अघिल्लो आव जंगली जनावरका कारण ११ जनाको मृत्यु हुँदा हात्तीले मात्रै ६ जनालाई मारेको थियो । मेघौली क्षेत्रमा रोनाल्डोकै आतंक रहेको उनी बताउँछन् । स्थानीयले दुई वटा हात्ती गाउँ आउने गरेको भने पनि निकुञ्जका अधिकारी एउटा मात्रै हात्ती गाउँ छिरेको बताउँछन् । ‘रोनाल्डोलाई बिहीबार डार्ट गरेर लठ्याएपछि रेडियो कलर बाँधेका छौं । कता जान्छ अब निगरानी गर्न सकिने भएको छ,’ सहायक संरक्षण अधिकृत घिमिरेले भने, ‘गाउँ छिरेमा जंगल धपाउने प्रबन्ध गर्छौं ।’


हात्तीलाई रेडियो कलर बाँधेर निगरानी गर्न सुरु भएपछि कार्यालयहरूमा लागेका ताला खुल्ने वडाध्यक्ष आशबहादुर कुमालले आशा गरे तर अर्को हात्तीलाई नियन्त्रणमा लिने प्रयास नगरेका कारण स्थानीय निश्चिन्त बन्न सकेका छैनन् ।


प्रजननका लागि जंगली भालेकै भर जंगली भाले हात्ती स्थानीयका लागि त्रास बनेको छ तर चितवन निकुञ्ज क्षेत्रमा रहेका पालिएका पोथी हात्ती प्रजननका लागि जंगली भाले हात्तीकै भर पर्नुपर्छ । केही वर्षअघिसम्म निकुञ्ज क्षेत्रमा रोमियो, नानापाटेकर नामका जंगली भाले हात्ती सक्रिय थिए । त्यसपछि रोनाल्डो, ध्रुवे र गोविन्देको उदय भएको हो । अर्को जंगली भाले हात्ती पनि हुर्कंदै गरेको निकुञ्जका अधिकारी बताउँछन् ।


०४२ सालमा स्थापना भएको खोरसोर हात्ती प्रजनन केन्द्रमा ५० वटा छावा (बच्चा) जन्मेका छन् । केन्द्रका प्रमुख बुधन चौधरीका अनुसार प्रजनन केन्द्रमा पहिला एउटा वीरेन्द्रप्रसाद नामको घरपालुवा भाले हात्ती थियो । उसको संसर्गबाट केन्द्रमा जम्मा दुई वटा मात्रै छावा जन्मिए । नभए निकुञ्जका ढोई (पोथी हात्ती) जंगली मत्ता (भाले) कै सम्पर्कबाट गर्भवती हुने गरेको चौधरीले जानकारी दिए । निकुञ्जका सूचना अधिकारी गोपालबहादुर घिमिरे भाले हात्तीहरू पोथीकै खोजीमा हिँड्ने गरेको बताउँछन् । रोनाल्डो सौराहा र खोरसोर क्षेत्रमा सीमित थियो । ‘यो वर्ष कसरा आएर पोथी हात्तीसँग बसेको थियो, त्यसपछि मेघौलीसम्म पुगेछ,’ उनले भने । पोथी खोज्दै हिँड्ने भाले भोकाएपछि खाना खोज्न थाल्छ । खानाको खोजीमा गाउँ छिरेपछि दुर्घटना हुने खतरा बढ्ने उनले बताए ।


प्रकाशित : पुस २६, २०७६ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?