कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अब शीतले भिज्दैन किताब

कृष्ण थापा

(मालाकोट, नुवाकोट) — गर्मीमा जस्ताबाट आएको तापले पोल्थ्यो । जाडामा शीत चुहिएर किताब भिज्थ्यो । लिखु गाउँपालिका–३ मालाकोटस्थित गणेशसूर्य आधारभूत विद्यालयका विद्यार्थीले भोग्दै आएको यो सास्ती अब हटेको छ । काठ–बाँसको बार र जस्ताको टहरामा पढ्दै आएका बालबालिकाले भूकम्पपछि पक्की भवनमा पढ्न पाएका छन् । कक्षा ५ विद्यार्थी विकेश राईले खुसी हुँदै भने, ‘पहिले किताबमा शीत चुहिएर पूरै भिज्थ्यो, अहिले त आनन्द छ ।’

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षाले यहाँ दुईवटा नयाँ पक्की भवन बनाइदिएपछि विद्यार्थीले खुसीसाथ पढ्न पाएका हुन् । ‘जाडामा जस्ताबाट झरेको शीतले शिक्षक र विद्यार्थी भिजाउँथ्यो,’ प्रधानाध्यापक दुर्गाराज पाण्डेले भने, ‘अहिले नयाँ भवन बनेपछि बल्ल ती समस्याबाट पार पाइयो ।’


भमरा आधारभूत विद्यालयको हालत पनि उस्तै थियो । यहाँ ९२ जना विद्यार्थी छन् । उनीहरूले अहिले नयाँ भवनमा पढ्न पाएका छन् । ‘भूकम्पपछि भवन अभावमा कहाँ राखेर पढाउने भन्ने समस्या थियो,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि रिमालले भने, ‘रुम टु रिडले पक्की भवन बनाइदिएपछि जस्ताको टहरामा राखेर पढाउने समस्या हट्यो ।’


सदरमुकाम विदुरबाट लिखु ३० किमि पश्चिममा पर्छ । जिल्लामा ४ सय ५३ विद्यालय छन् । तीमध्ये ३ सय ४२ आधारभूत र १ सय ११ मावि छन् । भूकम्पले ३ सय ६४ वटा विद्यालय पूर्ण क्षतिग्रस्त भएका थिए । पूर्ण र आंशिक गरेर ४ हजार २ सय ५७ कक्षाकोठा भत्किएका थिए ।


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत जिल्ला कार्यन्वयन इकाइ शिक्षाका अनुसार अहिलेसम्म १ सय ६७ वटा विद्यालय पुनर्निर्माण भएका छन् । भारतीय दूतावासले १० वटा स्कुल पुनर्निर्माण गरिरहेको इकाइका सूचना अधिकारी इन्जिनियर सुमन पोखरेलले बताए ।

प्रकाशित : पुस २४, २०७६ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?