कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्याक्सीमा ठगी उस्तै

मकर श्रेष्ठ

काठमाडौँ — महानगरीय ट्राफिक प्रहरी महाशाखाले मिटरमा जान नमान्ने र बढी भाडा लिने ट्याक्सी चालकलाई नियमित कारबाही गरिरहेको दाबी गरे पनि चालकले सर्वसाधारणलाई ठग्न छाडेका छैनन्

ट्याक्सीमा ठगी उस्तै

सानु : दक्षिणढोका जाने हो ?

चालक : कति दिने ?

सानु : कतिमा लैजाने ?

चालक : दक्षिणढोका कहाँनिर हो ?

सानु : गेटकै छेउमा ।

चालक : अनकनाउँदै नौ सय दिनुस् न ।

सानु : पाँच सय दिन्छु हुन्छ ?

चालक : जाम हुन्छ । फर्कंदा फेरि मान्छे पाइँदैन । खाली फर्कनुपर्छ । आठ सयसम्म दिने भए जान्छु ।


काठमाडौंको थापाथलीस्थित प्रसूतिगृहमा सुत्केरी भएकी श्रीमती अञ्जना लामा र सासूलाई मंगलबार साढे १२ बजे अस्पतालको मूलगेटबाहिर राखेर सानु बम्जनले यसरी नै नौवटा ट्याक्सी चालकसँग बार्गेनिङ गरे । मूलपानी दक्षिणढोकासम्म तीन दिनको सुत्केरी श्रीमतीलाई राखेर चार सय रुपैयाँमा लैजान ट्याक्सी खोजिरहे । ६ सयभन्दा कममा जानै चाहेनन् । अञ्जना र उनकी आमा भने सडकपेटीमा उभिरहेकी थिइन् । ट्याक्सी चालक जतिसक्दो बढी लिन चाहन्थे । सानु सस्तोमा जान खोज्थे । अस्पतालबाहिर जति पनि ट्याक्सी थिए कुनै पनि मिटरमा जान चाहेनन् ।


गेटमा यात्रुको खोजीमा बसेको पहिलो ट्याक्सीका चालकबाट सुरु भएको बार्गेनिङ उनी चढ्ने नवौंसम्म पनि जारी रह्यो । उनी हरेक ट्याक्सीको ढोकामा पुगेर दक्षिणढोका जान कति लिने ? भन्दै सोध्थे । कुनै पनि ट्याक्सीले ६ सयभन्दा कममा जाने इच्छा नै देखाएनन् । सानुले अन्तिममा बा१ज ७३९८ ट्याक्सी चालकलाई सोधे । बार्गेनिङ गरेर पाँच सयमा सुत्केरी श्रीमती र सासूलाई लिएर पौने एक बजे गए । जबकि थापाथलीबाट बानेश्वर, एयरपोर्ट, गौशाला, बौद्ध हुँदै दक्षिणढोका गए पनि १० किलोमिटर मात्रै छ । यातायात व्यवस्था विभागले ०७५ असोज ७ मा गरेको निर्णयअनुसार एक किलोमिटरको भाडा ३९ रुपैयाँ कायम गरेको छ । ट्याक्सी चढ्नेबित्तिकै १४ रुपैयाँ मिटरमा उठ्छ । त्यसमा प्रतिकिलो मिटर ३९ रुपैयाँको दरले उठ्दै जान्छ ।


अस्पतालबाहिर आधा घण्टा उभिँदा सानुले जस्तै भित्रबाट अरूले पनि बिरामी लिएर आइरहे । ट्याक्सी चालकसँग बार्गेनिङ गर्थे । भक्तपुरको इँटाभट्टामा काम गर्ने राजु नेपालीले श्रीमतीलाई अस्पतालमा आवश्यक सामान लिन च्यामासिंहसम्म ट्याक्सीमा जान खाजे । बा१ज ८८५५ नम्बरको ट्याक्सी चालकले एक हजार दुई सय मागे । राजुले साढे १३ किलोमिटर सडकमा गएको एक हजार दिन पनि तयार भए । तर, ती चालकले मानेनन् । उनी अर्को ट्याक्सी खोज्नतिर लाग्दा ती चालकले लैजान्छु भन्दै बोलाए । राजु त्यही ट्याक्सीमा चढे । चढ्नेबित्तिकै चालकले पैसा मागे । उनले घर पुगेर दिन तयार भए । पैसा नभएको भन्दै राजुलाई अस्पतालको गेटमै झार्दिए । ‘रक्सी खाएको रहेछ । उता पुगेपछि मात्रै भाडा दिने रे,’ चालकले भने, ‘त्यहाँ पुगेपछि भाडा नदिई भाग्यो भने के गर्नु ?’ यदि मिटरमै गएको भए च्यामासिंहसम्म पुग्न पाँच सय ४८ रुपैयाँ मात्रै लाग्थ्यो ।


पैसा अग्रिम नतिरेर राजुलाई अस्पतालको गेटमा छाडेको बा१ज ८८५५ नम्बरको ट्याक्सीमा सतुंगल जाने यात्रु आइपुगे । आठ किलोमिटरको दूरीमा रहेको सतुंगल गएको चालकले सात सय रुपैयाँ मागे । यात्रुले ५ सय दिने प्रस्ताव गरे । बार्गेनिङ गरेर पाँच सयमा गए । थापाथलीबाट सतुंगल मिटरमा जाने हो भने तीन सय २६ रुपैयाँमा पुगिन्छ । बिरामी छाड्न आएको बा२ज २७१६ नम्बरको ट्याक्सीले अस्पतालभित्रैबाट बौद्ध जाने यात्रु भेट्टाए । मिटर नगई पाँच सय रुपैयाँमा लगे । यदि मिटरमा गएको भए दुई सय ९० रुपैयाँ मात्रै हुन्थ्यो । थापाथलीमा मात्रै होइन बानेश्वरको सिभिल अस्पतालबाहिर पनि मंगलबार बार्गेनिङ गर्दै यात्रु लगिरहेका थिए । नजिकै जाने यात्रु लैजान इन्कार गर्ने चालक पनि उत्तिकै थिए । सिभिल अस्पतालबाट शान्तिनगर हुँदै कात्यायनी मन्दिरसम्म दुई किलोमिटरको दूरी एक दम्पतीले दुई सय रुपैयाँ तिरेर बा२ख २७३४ नम्बरको ट्याक्सीमा गए । बच्चाको उपचार गर्न आएका कोटेश्वर महादेवस्थानका सहदेव थापाले घरसम्म जान ट्याक्सी खोजे । तर, अस्पतालबाहिर बसेको कुनै पनि ट्याक्सी चालक जान मानेनन् । हातमा बिरामी बच्चा च्यापेर बा२ज ५६००, बा१ज ८६२२ नम्बरको ट्याक्सी चालकलाई आग्रह गरे ।


दुईवटा ट्याक्सीले नलगेपछि उनी दिक्क मानेर प्रतीक्षालयमा बसे । ‘बसमा जाउँ महादेवस्थान पुगिँदैन । ट्याक्सीमा जान खोज्दा लैजादैन अब के गर्नु ?’ उनले भने, ‘पुलिस लगाएर कारबाही गर्नुपर्ने ।’ दुई जना महिला सुन्धरा जान बा२ज ४५१७ नम्बरको ट्याक्सी चालकलाई अनुरोध गरे । तर, जानै मानेनन् । अस्तपालबाट डिस्चार्ज भएर पौने ११ बजेतिर बिरामी र आफन्त बाहिर आइरहेका थिए । ट्याक्सी लाइन लगाएर राखिएको थियो । ललितपुरको सानागाउँ जाने बिरामी आए । ट्याक्सी चालकले सात सय मागे । बार्गेनिङ गरेर पाँच सयमा गए । साढे सात किलोमिटर सडकमा मिटरमा गएको भए तीन सय ६ रुपैयाँ मात्रै दिए पुग्थ्यो । भर्खर तेलको भाउ बढेकाले मिटरमा जान नसकिने भन्दै हचुवाको भरमा बार्गेनिङ गर्ने गरेका छन् । प्रसूतिगृहबाट निस्कने बिरामी र आफन्तले ट्याक्सी चालकसँग बार्गेनिङको साक्षी भने ट्राफिक प्रहरीका एक जवान पनि थिए । प्रसूतिगृहतिर ट्याक्सी चालकसँग बार्गेनिङ भइरहँदा ट्राफिक नर्भिक अस्तपालको पर्खाल छेउबाट हेरिरहे । न त उनले मिटरमा जाऊ भन्न सके न त कारबाही नै गरे ।


महानगरीय ट्राफिक प्रहरी महाशाखाको भने मिटरमा जान नमान्ने र बढी भाडा लिने ट्याक्सी चालकलाई नियमित कारबाही गरिरहेको दाबी छ । महाशाखाका अनुसार साउनदेखि यता मिटरमा जान नमान्ने, मिटर बिगार्ने चार हजार दुई सय ९८ चालकलाई कारबाही गरिसकेको छ । ‘जुनसुकै माध्यमबाट गुनासो आएपछि र सडकमा यात्रु भनेर पनि हामीले मिटरमा जान नमान्ने चालकलाई कारबाही गरिरहेका छौं,’ महाशाखा प्रमुख भीमप्रसाद ढकालले भने । ०७१ मा पाँच हजार तीन सय ४८, ०७२ मा दुई हजार सात सय ९५, ०७३ मा चार हजार पाँच सय ९८, ०७४ मा आठ हजार र ०७५ मा १२ चालकलाई कारबाही गरेको महाशाखाले जनाएको छ ।

प्रकाशित : पुस २३, २०७६ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?