सधैं हात्तीको त्रास
सिन्धुलीमाढी — कमलामाई नगरपालिका ८ पातिपरनका वीरबहादुर मगरकी ३५ वर्षीया श्रीमतीको हात्ती आक्रमणमा मृत्यु भयो । उनको मृत्युपश्चात् परिवार अहिले विक्षिप्त छ । वीरबहादुरले श्रीमती र ५ छोराछोरीले आमा गुमाएका छन् ।
बजारबाट घरका लागि आवश्यक विभिन्न सामान लिएर फर्कंदै गर्दा घर नजिकैको रातुझोरा भन्ने ठाउँमा श्रीमतीलाई हात्तीले आक्रमण गरेको हो । श्रीमतीको मृत्युले उनका परिवार ठूलो पीडामा छन् । ‘पहिलेदेखि नै हात्तीले केही गर्ने हो कि भनेर डरैडरमा बाँचेका थियौं, नभन्दै श्रीमतीलाई हात्तीले मारिदियो ।’
गहभरि आँसु पार्दै वीरबहादुले भने, ‘अझै कति दिनसम्म हामी यस्तो त्रासैत्रासमा बाँच्नुपर्ने, थाहा छैन ।’ अझै पनि हात्ती आतंक रहेकाले बाँच्नेहरू पनि त्रासैत्रासमा छन् । फेरि पनि परिवारका अरू कोही सदस्य गुमाउनुपर्ने त होइन भन्नेमा उनका परिवार त्रसित छन् । ‘कतिखेर हात्ती आएर के गर्ने हो भन्ने थाहा छैन ।’ उनले भने, ‘हात्तीलाई नियन्त्रणमा लिई हामीलाई सधैंभरि हात्तीको त्रासमा बाँच्नुपर्ने समस्याबाट मुक्त गर्न कसैको ध्यान गएन ।’
पातिपरनकी ताराकुमारी माझीको भने हात्तीले खेतमा लगाएको सबैजसो मकै खाइदियो । झन्डै १ सय भारी मकै भित्र्याउँदै आएको खेतबाट ताराले यस वर्ष भने जम्मा २ डोका मात्रै मकै भित्र्याइन् । ‘लगाएको बाली जति सबै हात्तीले खाइहाल्छ । यस्तै हुने हो भने त अनिकाल नै पर्ला जस्तो भइसक्यो ।’ उनले भनिन्, ‘यसपालि खेतको मकैको त भरै भएन । बारीको मकै चाहिं पाकेको छैन । त्यसको पनि के आस भोर, फेरि आएर खाइहाल्ला ।’
गत वर्ष पनि हात्तीले उनको आधाभन्दा बढी मकै खाएको थियो । घरसमेत भत्काएको थियो । हात्तीले घर भत्काएपछि उनी घरमाथि बारीको पाटामा एउटा सानो घर बनाएर बसेकी छन् । हात्तीको बिगबिगीले रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको माझीले बताइन् । हात्ती गाउँ पसेर घर भत्काउने अन्नबाली खाने गर्न थालेपछि वन कार्यालयमा गएर पटक–पटक भन्दा पनि सुनुवाइ नभएको उनले दुखेसो पोखिन् ।
‘हामी रात दिन त्रासैत्रासमा बाँच्न सक्दैनौं । सम्बन्धित निकायले हात्ती नियन्त्रणतर्फ ध्यान दिनुपर्यो । हैन भने यो ठाउँ छोड्देऊ, अन्तै बस्ने व्यवस्था गर्दिन्छौं भन्न सक्नुपर्यो,’ उनले भनिन् । जिल्लाका विभिन्न ठाउँमा ५/६ वर्षदेखि नै हात्ती गाउँमा पसेर क्षति गर्ने गरेको भए पनि पछिल्लो ३ वर्षदेखि भने बढी मात्रामा गाउँमा देखिन थालेको छ ।
प्रकाशित : असार ९, २०७६ १०:२२