विश्वसम्पदा नबिगार्ने प्रतिबद्धता

दामाेदर न्याैपाने

काठमाडाैं — विश्वसम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तूपमा कुनै पनि किसिमको क्षति पुर्‍याउने काम नगर्ने प्रतिबद्धता सरोकार निकायले गरेका छन् ।

बौद्धनाथ स्तूपमा मापदण्डविपरीत राखिएका किला, बिजुलीका तार हटाएपछि परेवा उडाएर सम्पदा संरक्षणमा लाग्ने प्रतिबद्धता जनाउँदै जनप्रतिनिधि र स्थानीय । तस्बिर : इलिट जोशी/कान्तिपुर


‘ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक, मौलिक, धार्मिक स्तूप प्रवद्र्धन तथा सम्वद्र्धनमा हामी सबै उत्तरदायी र प्रतिबद्धछाैं’ भन्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर पनिगरेका छन्।

बौद्ध तथा मेलम्ची घ्याङ गुठी, काठमाडौं महानगरपालिका, बौद्धनाथ क्षेत्र विकास समिति लगायतको संलग्नतामा स्तूपमा राखिएका आधुनिक बत्तीसमेत हटाइएको छ। बत्ती हटाउन मेलम्ची घ्याङ गुठीका
पदाधिकारी अघि सरेका थिए। त्यहाँ राखिएका किलासमेत उप्काउन सुरु गरिएको छ। किला उप्काउन महानगर, गुठीका पदाधिकारीलगायत पेन्चिस बोकेर गएका थिए। अभियन्ताले यसलाई ‘पेन्चिस अभियान’ नाम दिएका थिए।

घ्याङ गुठी र क्षेत्र विकास समितिलाई बत्ती झिक्ने काममा प्रदेश ३ का सांसद छिरिङ दोर्जे लामाले समन्वय गरेका थिए। ‘एकअर्कामा समन्वय नहुँदा सम्पदा खतरामा पर्‍यो,’ लामाले भने, ‘क्षेत्र विकास समिति, घ्याङ गुठी र महानगर वडा कार्यालय एकै ठाउँमा बस्ने हो भने बौद्धनाथलाई कायापलट पार्न सकिन्छ।’

काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले सम्पदालाई अब व्यवस्थित बनाइने बताइन्। ‘जनप्रतिनिधि नहुँदा १८ वर्षसम्म जे भयो भयो,’ खड्गीले भनिन्, ‘अब व्यवस्थित हुनेछ।’ बौद्ध घ्याङ गुठीले बत्ती राख्न ‘ड्रिल मेसिन’ ले खोपेको थियो। त्यसको चौतर्फी विरोध भएको थियो।

गुठीले बत्ती बाल्न जेनेरेटर राखेको थियो। त्यसलाई हटाउन पुरातत्त्व विभागले पत्राचार गरेको थियो। तीनपटक पत्र पठाएपछि गुठीले जेनेरेटर हटाएको छ। ‘अब बौद्धनाथमा कुनै पनि नयाँ संरचना बन्ने छैनन्,’ महानगर वडा नम्बर ६ का अध्यक्ष दीपेन्द्र लामाले भने, ‘अब बत्ती बाल्दा पनि नयाँ तरिका अपनाएर बाल्छौं। अब सम्पदा मासिने कुनै पनि गतिविध हुन वडा कार्यालयले दिने छैन।’

यी दुई निकायको विवादले विश्वसम्पदा व्यवस्थापनमा समस्या हुँदै आएको छ। एकले गर्न लागेको काममा अर्काेले अवरोध गर्ने प्रवृत्ति छ। पुनर्निर्माण पनि मापदण्डविपरीत भएको छ। कंक्रिट मिसाएर ढलान गरेपछि त्यसको चौतर्फी विरोध भएको थियो। विरोध हुँदा हुँदै पनि कंक्रिट झिकिएन। चाँडो बनाइयो भनेर प्रचार गरियो तर पुरातात्त्विक मापदण्ड मिचियो।

बत्ती निकालेपछि शान्तिको प्रतीक १० जोर परेवा उडाइएको थियो। स्थानीयवासी, अभियन्ता, विद्यार्थीलगायतले मानवसाङ्लो बनाएर स्तूपलाई घेरा लगाएका थिए। समितिका अध्यक्ष राजकुमार लामालेसम्पदा संरक्षणका लागि बौद्धनाथबाटमहत्त्वपूर्ण काम थालनी भएको प्रतिक्रिया दिए।

बौद्धनाथ क्षेत्र विकास समिति र गुठीले बेला बेलामा स्तूप खोपेर कुरूप पार्दै आएका थिए। स्तूपको मेरुदण्ड मानिने ‘सोक्सिङ’(रष्ती) देखि नै खोप्न सुरु गरेका छन्। १३ तलाको बीचमा हुने ‘सोक्सिङ’ मा अग्राखकोकाठ हुन्छ। त्यसमा स्वर्ण अक्षरले बुद्धमन्त्र लेखिएको हुन्छ।

‘सोक्सिङ’ को चारै दिशामा पञ्चबुद्ध (बहिलोचन, रत्नसम्भव, अमिताभ र अमोकसिद्धिसहित पञ्चबुद्ध) को प्रतिमा राखिएको हुन्छ।

यहाँका बिजुलीका सर्किट जीर्ण हुँदा त्यसले स्तूपमा खतरामा परेको छ। जुनसुकै बेला आगलागीको खतरा रहेको भन्दै पुरातत्त्व विभागले त्यसलाई व्यवस्थित गर्न ७ महिनाअघि पत्र पठाएयो। जडान गरिएका विद्युत् सर्किट जीर्ण भएको, तार यत्रतत्र नांगै पल्टिएको हुँदाविश्व सम्पदामा आउने पयर्टन, धर्माबलम्वीलाई समेत अप्ठेरो परेको भन्दै पुरातत्त्वविभागले विद्युत् प्राधिकरणलाई मर्मत गर्न पत्र पठाएको थियो।

प्रकाशित : पुस २०, २०७५ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्

अवैध बालुवा उद्योगमा प्रहरी छापा

कान्तिपुर संवाददाता

धादिङ — बूढीगण्डकी जलविद्युत् आयोजनाले खरिद गरेको जग्गामा बालुवा खानी तथा बालुवा प्रशोधन केन्द्र सञ्चालन गरिरहेका अवैध उद्योगहरूमा प्रहरीले छापा मारेको छ ।

सशस्त्र प्रहरीको कमान्डमा ज्वालामुखी ५ बुङ्गकोट घाट, मस्तेखोलामा रहेका एक दर्जन बालुवा प्रशोधन केन्द्रमा छापा मारी विद्युतीय उपकरण नष्ट गरिएको हो ।

आयोजना मातहत गइसकेको जग्गामा विभिन्न स्थानमा ८ वटा बालुवाखानी सञ्चालन गरेर दैनिक ५ सय टिपर बालुवा बेचबिखन गरिरहेको गुनासो आएपछि प्रहरीले छापामारेको हो । स्थानीय तहका पदाधिकारीहरूकै मिलोमतोमा विगत १ वर्षदेखि नैअवैध बालुवाखानी सञ्चालन हुँदैआएको थियो ।

‘हामीले स्थानीय प्रशासन र स्थानीय तहहरूलाई आयोजना स्थलबाट बालुवाको अवैध ओसारपसार रोक्न पत्राचार गरे पनि रोकथाम नभएपछि केन्द्रमै सम्पर्क गर्नुपरेको हो,’ आयोजनाका संयोजक कृष्णबहादुर कार्कीले बताए ।

सशस्त्र प्रहरीका जिल्लास्थित प्रहरी नायव उपरीक्षक दर्शन गिरीको नेतृत्वमा गएको जनपदसहितको ३ वटै सुरक्षा निकायको टोलीले बालुवा उद्योगमा छापा मारेको हो । प्रहरी पुगेलगत्तै फिरफिरेका मजदुर र स्काभेटर, टिपर लगायत उपकरणरका चालकहरू उद्योग छोडेर भागेका थिए ।

गत वर्षको चैतमा पनि स्थानीय प्रशाासन र जिल्ला वन कार्यालयले पटकपटक छापा मारेर बन्द गराए पनि राजनैतिक दबाब र आर्थिक लेनदेनमा सञ्चालनमै रहेका थिए । गत वर्षसम्म खानीबाट बालुवा लिएर धुने सामान्य फिरफिरे जडान गरेका बालुवा तस्करहरूले यसपालिठूला आधुनिक लाखौं मूल्य पर्ने वुमरलगायतका उपकरणहरू जडान गरेका छन् ।

बालुवा प्रशोधन उद्योग सञ्चालन गर्न कम्पनी रजिस्ट्रार कार्यालयमा कम्पनी दर्ता गर्दा अन्य स्थानको लालपुर्जा पेस गरेका बालुवा व्यवसायीहरूले उद्योग र खानी बूढीगण्डकीको नाममा मुआब्जा लिएर नामसारी गरेकै जग्गामा सञ्चालन गरेका छन् । कम्पनी रजिस्ट्रार कार्यालयले बालुवा प्रशोधन तथा धुलाइ गर्ने बालुवा खरिद गर्ने दर्तावाला खानीको लिखित सहमतिबिना नै बालुवा प्रशोधन उद्योग दर्ता गरिएको फेला परेको छ ।

राजमार्ग क्षेत्र वरपरका त्रिशूली नदीमा नदीजन्य पदार्थको उत्खनन र बालुवा प्रशोधन बारम्बार विवादमा आएपछि बूढीगण्डकी किनारमा बालुवा तस्करहरूले आँखा गाडेका थिए । यसै मौकामा बूढीगण्डकी किनारमा रातारात उद्योग सञ्चालन गर्न पुगेका तस्करहरूले सदरमुकाम लगायतका काठमाडौंका बजारमा पुर्‍याएर महँगो मूल्यमा बालुवा बेच्दै आएका थिए ।

प्रकाशित : पुस २०, २०७५ ०७:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्