२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

‘उद्योगी धराशायी भएकै उधारोसम्बन्धी कानुन नभएर हो’

रवि केसी

राज्यको ४० प्रतिशत आम्दानी उठाउने नाकाका रूपमा वीरगन्ज चिनिएको छ, यो आँकडा आयातका कारण देखिएको हो । तर वीरगन्जलाई कस्तो अवसर छ भने अब आयातमा होइन यहीँ वीरगन्जमै उत्पादन गर्न सक्ने सम्भावना छ । हामीले आयात होइन वीरगन्जमै उत्पादन गरेर निर्यातमार्फत आम्दानी बढाउने वातावरण बनाउनुपर्छ र त्यसमा गर्व गर्ने अवस्था निर्माण गर्नुपर्छ ।

‘उद्योगी धराशायी भएकै उधारोसम्बन्धी कानुन नभएर हो’

निर्यात हुने गरी औद्योगिक उत्पादन वृद्धिलाई प्रोत्साहन गर्नुपर्छ, त्यसको प्रशस्त सम्भावना छ । यो किनभने वीरगन्जलाई काठमाडौंसँग जोड्ने फास्ट ट्रयाक बन्दै छ । सबैभन्दा धेरै जनघनत्व भएको काठमाडौं उपत्यकामा फास्ट ट्रयाक खुलेपछि वीरगन्जबाट एक घण्टामै पुग्न सकिन्छ । यसले वीरगन्ज-काठमाडौं ओहोर-दोहोर असाध्यै सहज हुने भएकाले उत्पादकत्व बढाउन मद्दत मिल्नेछ ।

अनेक सम्भावना भए पनि सरकारले लिएका नीति नियमले नै समस्या उत्पन्न गराएका छन् । सरकारले बजेट बनाउँदा आन्तरिक उद्योगमा भन्दा आयातमा आधारित भएर बनाउने गरेको छ । फिनिस्ड प्रोडक्टमा लागेको भन्सार दर र यहीँ उत्पादन हुने कच्चा पदार्थको भन्सार दर एउटै छ । यस्तो अवस्थामा यो देशमा कसरी उद्योग फस्टाउँछ ? त्यस्तै, ठूला उद्योग-व्यवसाय स्थापना गर्न पर्याप्त जग्गाजमिन चाहिन्छ । तर सरकारले जग्गा खरिदमा हदबन्दी तोकेको छ । मधेशमा ११ बिघा छ । औद्योगिक प्रयोजनका लागि किनेको यसभन्दा बढी जग्गा बिक्री गर्न र बैंकमा त्यसलाई धितो राखेर कर्जा लिनसमेत पाइदैन । यस्तोमा कस्तो उद्योग स्थापना गर्ने हामीले ? साइजेबल उद्योगका लागि ११ विघा ठूलो जमिन होइन । ११ विघा सिलिङका कारण नेपालमा ठूला उद्योग स्थापना हुने सम्भावना छैन । उद्योगको आकार र प्रकृति नहेरी पूरानो मानसिकताले बनेका यस्तो कानुनले ठूला उद्योग सञ्जालमा समस्या छ ।

त्यति मात्र होइन, हाम्रा सबै जग्गामा बाटो पुगेका छैनन् । जुन ठाउँमा बाटो पुगेको छ, ती जग्गा घडेरीको दाम बिक्छन् । घडेरीको जग्गा किनेर कसरी उद्योग खोल्ने ? नक्सा सुधारमा पनि ध्यान दिनुपर्छ । सकारकारले बाटो, पूर्वाधारको विषय हेरेकै छैन । वीरगन्जमा सम्भावना धेरै छ, सस्तो जनशक्ती पाइन्छ ।

राज्य र उद्योगीबीचको विश्वासमा ठूलो खाडल देखिएको छ । अहिले बजेट बन्दै छ, हामी आफ्ना भनाइ राख्न अर्थ मन्त्रालय जान खोज्दा त्यहाँको गेटै बन्द हुन्छ । उसले बनाएको नीति पालना गर्ने त हामीले हो नि, त्यो नीति उद्योगीमैत्री छ कि छैन, हामीले भन्न पाउनु पर्यो । त्यसमाथि अहिले सरकार र कर्मचारी नेतृत्वमा यति धेरै पटक फेरबदल भइरहेको छ, विभिन्न क्षेत्रका मानिस पदमा छन्,उहाँहरूले देश नबुझि बनाएको नीतिमा रहेर उद्योग सञ्चालन गर्दा त्यसलाई स्थापना गर्न वा स्थिरता दिन सकिएला भन्नेमै उद्योगीलाई विश्वास छैन । उद्योगीले सारा जोखिम मोलेर आफ्ना छोरा-नातीसम्मलाई सोचेर व्यवसाय सञ्चालन गरेको हुन्छ, अहिले यसका लागि कन्फिडेन्स छैन ।

नेपालमा उद्योगी भनेका फटाह हुन्, कर छली गर्छन्, बदमासी गर्छन् भन्ने भाष्य बनेको छ । यस्ता प्रवृत्ति हट्नुपर्यो । उद्योगीले पनि सामाजिक उत्तरदायित्वका काम गर्नुपर्छ । हामीले सात/आठ वर्ष अघिदेखि नै पशु नश्ल सुधारअन्तर्गत गाई पाल्ने किसानलाई स्थानीय साँढे लगाउनुको सट्टा बाहिरका उन्नत जातका ईआई प्रणाली अवम्बन गर्न आर्थिक सहायता प्रदान गर्दै आएका छौं । ईआई कार्यक्रम गरेपछि जुन गाउँमा दुधको अभाव हुन्थ्यो, त्यो ठाउँमा आज २५/३० हजार उत्पादन हुन्छ । त्यस्तै, गड्यौला मलका लागि पनि किसानलाई प्रोत्साहन गर्दै आएका छौं ।

सूर्ती खेतीको काममा धेरैलाई रोजगारी दिएका छौं भने निर्यातसमेत गरिरहेका छौं । बयरबोका वितरण गर्दै आएका छौं । एउटा ह्याचरिङ मसिनमा ६ सय वटा अण्डा ह्याच गर्ने मसिन १५ वटा आमा समूहलाई बाँडेको थिएँ । घरमा पालेको लोकल कुखुराले पारेको फूल संकलन गरी ह्याच गर्न दिने र चल्ला हुर्काउँदा त्यसको परिणामा राम्रो आइरहेको छ । यसबाट आमा-दिदि बहिनेले लोकल कुखुरा बेचेर आकर्षक आम्दानी गरिरहेका छन् । ब्रोइलर कुखुरा ५/६ सय रुपैयाँमा बिक्छ भने लोकलको दाम २५ सय/तीन हजार पर्छ । यस्ता साना-साना पहलहरूबाट पनि ठूला र प्रभावशाली परिवर्तन देखिँदा रहेछन् भन्ने प्रमाणित भएको छ ।

यत्रो चारकोसे झाडी भए पनि वीरगन्जमा कुनै रिसर्ट वा जंगल साइट छैन । यसको प्रमुख कारण हाम्रा जंगलमा पानीको अभाव हो । यो समस्या समाधान गर्न हामीले सीमसारमा बाँध बाँधेर पानीको जोहो गर्ने प्रयत्न गरेका छौं । उद्योगमा लगाएको एक थोपा पनि पानी हामी खेर फाल्दैनौं । नेपाल मात्रै नभएर भारतमा पनि वातावरणीय प्रभावसम्बन्धमा हामीले जति प्रशंसापत्र कसैले पाएको छैन होला । पेपरमिलमा कुहिएर जाने चिजलाई हामीले रिसाइकल गरेका छौं । हामी दिनको तीन हजार टन कागज उत्पादन गर्छौं । तर पानीलगायत कुनै वस्तु खेर फाल्दैनौ । मैले भन्न खोजेको के हो भने, उद्योगीहरू समाज वातावरणप्रति उत्तरदायी हुनुपर्छ । नेपालमा र त्यसमा पनि वीरगन्जमा धेरै अवसर छन् ।

आयातभन्दा स्वदेशी उत्पादनलाई हामीले जोड दिनुपर्छ । कुनै देश चिनिन त्यो देशमा कुनै ब्रान्ड स्थापना हुन जरुरी हुन्छ । मैले ब्रान्ड बनाएका १२ सिंहे, ८८४८, ओल्ड दरबारलगायत पनि उत्पादन छन्, यी मेरा होइनन्, राज्यका हुन् । आज एप्पल भन्नासाथ अमेरिकी ब्रान्ड भनेर चिनिन्छ । हामी टुबर्ग, गोर्खा नेपालमा खपत गरिरहेका छौं तर यसको सम्पूर्ण लाभ डेनमार्कले लैजान्छ । त्यो देशले ब्रान्डकै कारण अर्बौं रूपैयाँ नेपालबाट आर्जन गरिरहेको छ । हामी उद्योगीले यस्तै ब्रान्ड बनाउन प्रयास गर्नुपर्छ र उपभोक्ताले पनि विदेशी ब्रान्ड प्रयोग गर्दैमा ठूलो मान्छे भएँ भन्ने सोच्नु हुँदैन । स्थानीय ब्रान्ड प्रयोग गर्दा देश बनाउन सहयोग मिल्छ, मेरो पनि योगदान रहन्छ भन्ने बोध गर्नुपर्यो ।

कुनै पनि देश आर्थिक रूपमा बलियो हुन त्यहाँका उद्यमी बलिया हुनुपर्छ । उद्यमी बलिया हुन अहिले नेपालमा उधारो कानुन ल्याउनुपर्छ । उधारो कानुन नभएकाले नै व्यवसायी धरासायी बनेका हुन् । केही कुरा उधारो नदिइकन व्यवसाय वा व्यवहार चलाउन गाह्रो हुन्छ । तर उधारोसम्बन्धी कुनै कानुन नभएकाले मान्छेको मनस्थिति बिग्रियो भने उसले एक त जानीजानी नतिर्ने वा कानुन बलियो नभएकाले उधारो स्रोत अन्त लगानी गर्ने प्रवृत्ति छ । यो वर्ष जसरी पनि उधारोसम्बन्धी कानुनी ल्याउन जरुरी छ ।

-रवि केसी उद्योगी हुन् ।

प्रकाशित : चैत्र २८, २०८० १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?