कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यादव तीन जिल्लाबाट सिफारिस

जसपा अध्यक्ष यादव राजनीतिमा आएदेखि हरेक निर्वाचनमा जिल्ला फेरेका छन्, मोरङबाट चुनावी प्रतिस्पर्धामा होमिएका यादवले त्यसयता सुनसरी र सप्तरीबाट चुनाव जितेका थिए

सिरहा‚ बारा — आगामी संघीय निर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको नाम मधेसका तीन जिल्लाबाट सिफारिस भएको छ । यादवले आफ्नो दलको जनाधार रहेका सप्तरी, सिरहा र बाराबाट प्रतिनिधिसभाको चुनावका लागि नाम सिफारिस गराएका हुन् । सिरहा र बारामा दुई–दुईवटा क्षेत्रबाटै उनको नाम सिफारिस भएको छ ।

यादव तीन जिल्लाबाट सिफारिस

यादव भने राजनीतिका यस्ता पात्र हुन्, जसले हरेक निर्वाचनमा जिल्ला र क्षेत्र फेरेका छन् । पहिलो संविधानसभाको निर्वाचनमा मोरङ र सुनसरीबाट चुनाव जितेका यादवले दोस्रो संविधानसभाको निर्वाचनमा सुनसरीबाट विजयी भएका थिए । ०७४ को निर्वाचनमा उनी सप्तरी आए । सप्तरीको निर्वाचन क्षेत्र नं.२ बाट उनले प्रतिनीधिसभा सदस्यमा चुनाव जिते । मधेस आन्दोलनको जगमा उदाएका नेता यादवको सप्तरी–२ बाटै जनमत पार्टीका अध्यक्ष सिके राउतले पनि उम्मेदवारी दिने घोषणा गरेपछि यादव ‘दोधार’ मा छन् । वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा राउतको दल जनमतले सप्तरीमा दुईवटा स्थानीय तह र केही वडा जितेको थियो ।

आगामी निर्वाचनमा जसपा मधेसमा पाँच दलीय गठबन्धनभन्दा मधेस केन्द्रित अर्को दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संग गठबन्धन गर्ने दाउमा छ । त्यसैले यादवले आफ्नो ठाउँ सुरक्षित गर्न र मधेसमा लोकप्रिय रहेको सन्देश दिन ती जिल्लाबाट नाम सिफारिस गर्न लगाएका हुन् । जसपाको क्षेत्रीय समितिको बिहीबार बस्ने बैठकले यादवको नाम एक नम्बरमै सिफारिस गर्ने जसपाका नेता शम्भु झाले बताए ।

प्रतिनिधिसभा निर्वाचन उम्मेदवारका लागि सिरहा क्षेत्र नम्बर १ र २ बाट जसपाका अध्यक्ष यादवको नाम सिफारिस गरिएको छ । जसपा सिरहा क्षेत्र नम्बर १ का क्षेत्रीय समितिको बुधबार बसेको बैठकले पहिलो नम्बरमा पार्टी अध्यक्ष यादवको नाम सिफारिस गरेको क्षेत्रीय कार्यसमिति सचिव राकेश गुप्ताले जानकारी दिए । उनका अनुसार २०६३ को मधेस आन्दोलनको उद्गमस्थल लहान भएको र त्यही भावनाअनुरूप राष्ट्रिय अध्यक्षको उम्मेदवारी यही क्षेत्रबाट हुनुपर्ने पार्टीका नेता–कार्यकर्ताको माग आएपछि यादवको नाम सिफारिस गरिएको हो ।

पार्टी अध्यक्षको नाम आएपछि २०७४ को निर्वाचनमा पराजित राजलाल यादवले अध्यक्षका लागि दाबी छाड्दै प्रदेशसभा सदस्य ‘ख’ बाट उम्मेदवारी घोषणा गरेका छन् । प्रदेशसभा सदस्य उम्मेदवारका लागि उनको नाम सिफारिस गरिएको छ । २०७४ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवार बनेका यादव १३ हजार ३ सय ५१ मतसहित तेस्रो स्थानमा थिए । त्यो क्षेत्रबाट कांग्रेसका प्रदीप गिरि २३ हजार ९ सय ५१ मतसहित निर्वाचित भएका थिए । ‘अध्यक्षको नाम आएपछि मैलै उम्मेदवारी दाबी छाडे,’ यादवले भने ।

यस्तै, सिरहा क्षेत्र नम्बर २ बाट पनि जसपा अध्यक्ष यादवको नाम उम्मेदवारीका लागि सिफारिस भएको छ । जसपा सिरहाका सहसचिव लालबहादुर साहले कार्यकर्ता पंक्तिबाट राष्ट्रिय अध्यक्ष यादव, मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयकुमार यादव र शत्रुघ्नप्रसाद सिंह कोइरीको नाम आएपछि उम्मेवारीका लागि सिफारिस गरिएको जानकारी दिए । क्षेत्रबाट आएका उम्मेदवारको सिफारिस नामावली जिल्लामा प्राप्त भएको उनले जानकारी दिए । बाराको दुई निर्वाचन क्षेत्र २ र ३ बाट पनि जसपा अध्यक्ष यादवको नाम सिफारिस गरिएको छ । गत भदौ १२ मा पार्टीको क्षेत्रीय कमिटीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ र ३ बाट यादवको नाम पार्टीको जिल्ला समन्वय समितिमा सिफारिस गरेको हो । क्षेत्रले गरेको सिफारिसबारे विस्तारित जिल्ला कमिटीमा बुधबार छलफल भइरहेको जसपाका जिल्ला अध्यक्ष अजय पटेलले बताए । ‘क्षेत्रबाट जिल्लामा आएका सिफारिसबारे जिल्ला कार्यकारिणी समितिले निर्णय गर्ने कि विस्तारित बैठकले निर्णय लिने भन्नेबारे छलफल भइरहेको छ,’ उनले भने ।

०७४ को निर्वाचनमा बाराको यी दुवै निर्वाचन क्षेत्रबाट यादवकै दलले जितेको थियो । निर्वाचन क्षेत्र नम्बर ३ मा जसपका तत्कालीन जिल्ला अध्यक्ष रामबाबु यादव विजयी भएका थिए भने क्षेत्र नम्बर २ मा जसपाका तत्कालीन महासचिव रामसहाय यादवले जितेका थिए । क्षेत्र नम्बर ३ को ‘क’ बाट प्रदेशसभामा माओवादीकी नेतृ ज्वाला साहले जितेकी थिइन् । साह अहिले एमालेकी नेतृ छिन् । ‘ख’ बाट समाजवादी पार्टीका पारस साहले जितेका थिए । यसैगरी निर्वाचन क्षेत्र नम्बर २ को ‘क’ बाट प्रदेशसभाको लागि समाजवादी पार्टीकै शारदाशंकर कलवार र ‘ख’ बाट पनि समाजवादीकै बच्चा यादव अहिर जितेका थिए ।

क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि पार्टी केन्द्रीय अध्यक्षबाहेक अरु ५ जनाको नाम क्षेत्रीय समितिबाट सिफारिस भएको जिल्ला अध्यक्ष पटेलले बताए । उनकाअनुसार हालका संघीय सांसद रामबाबुकुमार यादव, पहिलो संविधानसभा सदस्य प्रमोद गुप्ता, केन्द्रीय सदस्य प्रकाश चापागाईं, युवा नेताद्वय सुनिल दास र मनीष यादवको नाम क्षेत्रबाट सिफारिस भएको छ । यसैगरी निर्वाचन क्षेत्र नम्बर २ बाट संघीय सांसदका लागि पार्टी केन्द्रीय अध्यक्ष यादवबाहेक हालका सांसद रामसहाय यादव र प्रयाग राय यादवको नाम सिफारिस भएको पटेलले बताए ।

प्रकाशित : भाद्र १६, २०७९ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?