कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आचारसंहिताविपरीत प्रचार

प्रमुख राजनीतिक दलले नै चुनावी प्रचारप्रसारमा बालबालिका, डिजे, पर्चा र भारतीय नम्बरका सवारीसाधनको प्रयोग गरेका छन्

महोत्तरी,सर्लाही — महोत्तरीमा उम्मेदवारहरूले प्रचारप्रसारमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएको छ । उनीहरूले प्रचारको क्रममा बालबालिका, डिजे, पर्चा पोसाक र भारतीय नम्बरका सवारी प्रयोग गरेका हुन् ।

आचारसंहिताविपरीत प्रचार

मटिहानीमा कार्यरत केही कर्मचारी निर्वाचन आचारसंहिताविपरीत प्रमुख पदका उम्मेदवारको लागि भोट माग्दै हिँडेका छन् । आचारसंहिता अनुसार सरकारी कर्मचारीले कुनै पनि उम्मेदवारको पक्षमा भोट माग्न पाउँदैनन् । मटिहानीका कर्मचारीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट प्रमुख पदका उम्मेदवार हरिप्रसाद मण्डलको पक्षमा भोट माग्दै गरेको तस्बिर सार्वजनिक भएको हो ।

वडा ७ का सहायक कम्प्युटर अपरेटर मनोहर कापरले आफू भोट माग्न नहिँडेको दाबी गरे । आफू बाहिर उभिएर चुनावी माहोल हेरेको बेला कसैले फोटो खिचिदिएको उनको भनाइ छ । उनीसँगै निर्वाचनमा हिँडेका अन्य कर्मचारी आफू कार्यालय समयमा नभएर अन्य समयमा हिँडेको स्वीकार गर्छन् । कतिपय कर्मचारीले भने नाम नभन्ने सर्तमा डर र धम्कीका कारण प्रचारप्रसारमा हिँडेको बताए । प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले भोट माग्न हिँडेका कर्मचारीलाई कारबाही माग गर्दै लिखित रूपमै निवेदन परेको र यस विषयमा बुझ्ने काम भइरहेको बताए । छड्के चेक गर्दा अहिलेसम्म फेला नपारिएकाले कोही कारबाहीमा नपरेको उनको भनाइ छ ।

राजनीतिक दलहरूले बालबालिकालाई पनि निर्वाचनको प्रचारमा प्रयोग गरेका छन् । एमाले नेता गुन्ज खड्काले बच्चालाई आफ्नो पार्टीले लिएर नहिँडेको दाबी गर्दै पार्टीका पोसाक भने प्रयोग गरेको स्विकारे । अन्य पार्टीले प्रचार पोसाक बनाएर हिँडेपछि आफ्नो भोट नघटोस् भनेर पोसाक बनाउनुपरेको खड्का बताउँछन् । निर्वाचन कार्यालयले कडाइका साथ पोसाक लाउनेलाई कारबाही नगरेर पनि पोसाकको सिको बढ्दै गएको उनको भनाइ छ । गाउँबस्तीलाई रंगीचंगी बनाउने, पार्टीका झन्डा, ध्वजापता टाँग्ने कार्यलाई महोत्तरीमा निकै कम गरिसकेको प्रमुख निर्वाचन अधिकृतको कार्यालय महोत्तरीले जनाएको छ । जताततै टाँगिएका झन्डा भने आफूहरूले निकालिसकेको प्रमुख निर्वाचन अधिकृत दीपक खरेलले जानकारी दिए ।

महोत्तरीमा निर्वाचनको मुखमा भारतीय नम्बरका ७ हजार सवारी जिल्लामा भित्रिएको जिल्ला भन्सार कार्यालयका प्रमुख डिल्लीरमण सुवेदीले बताए । यी गाडी यतिबेला निर्वाचनको प्रचारप्रसारमा दलहरूले प्रयोग गरिरहेका छन् । २ दिनदेखि १ सातासम्मको भन्सार लिँदै ती गाडी ल्याइएको हो ।

मतदातालाई थरीथरी आश्वासन

चुनावको मिति नजिकिँदा उम्मेदवार र दलका नेता–कार्यकर्ता थरीथरी आश्वासन बोकेर मतदाताको घरदैलो धाइरहेका छन् । उनीहरूले कतिपय ठाउँमा पुरानै आश्वासन दिँदै आएका छन् भने कतै पूरा गर्न सक्ने सम्भावना कम भएका प्रतिबद्धता पनि जनाइरहेका छन् । महोत्तरीको जलेश्वरमा नेपाली कांग्रेसबाट प्रमुखका उम्मेदवार शम्भु पाठक र उपप्रमुखका अनिता शर्माले घोषणा पत्र सार्वजनिक गर्दै जलेश्वरलाई सुन्दर र सफा सहर बनाउने वाचासँगै कर कटौती गर्ने उल्लेख गरेका छन् । जनतालाई खुसी पार्न मात्रै नभएर वास्तविक मारमा परेका जनताको पक्षमा आफ्नो घोषणापत्र भएको कांग्रेस नेता बजरंग नेपालीले बताए । नेकपा एमालेले पनि जग्गाधनी पुर्जा दिने, स्मार्ट सिटी, सहरलाई सफा र स्वच्छ बनाउने, दलित र विपन्नलाई आवासको व्यवस्था गर्ने आफ्नो घोषणा पत्रमा राखेको छ । जलेश्वरमा प्रमुखका उम्मेदवार रामआधार कापरले घोषणापत्रमा जलेश्वरको समग्र विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।

माओवादी केन्द्रले पनि गरिब र विपन्नलाई व्यवस्थित भूमि नीतिबाट लालपुर्जा वितरण गरिने, एक वडा एक योग ध्यान केन्द्र स्थापना गरिनेलगायत उल्लेख गरेको छ । बर्दिवास नगरपालिकाको प्रमुखका उम्मेदवार राजु खड्काले सार्वजनिक गरेको घोषणापत्रमा बर्दिवासलाई शैक्षिक सहर र सफा स्वच्छ सहर बनाउने जनाएका छन् । गरिब तथा विपन्नलाई जग्गा दिने र आवास बनाइदिने सबै पार्टीले आफ्नो घोषणापत्रमा मुख्य योजना बनाएका छन् ।

सर्लाहीका स्थानीय तहका उम्मेदवारहरू शिक्षा, स्वास्थ्य र सडक जस्ता विकासे योजना लिएर मतदाता समक्ष पुगिरहेका छन् । उम्मेदवारहरूले गरिबी हटाउने र युवालाई रोजगारी दिनेसम्मको प्रतिबद्धता जनाइरहेका छन् । उम्मेदवारहरूका यी योजना र प्रतिबद्धता नयाँ भने होइनन् । ०७४ मा पनि उम्मेदवारहरूले यही नारा लगाएर चुनावमा होमिएका थिए ।

जिल्लामा ११ नगरपालिका र ९ गाउँपालिका गरी २० स्थानीय तह छन् । मतदाताले भने चुनाव आएपछि विभिन्न आश्वासन बाँड्ने र जनताको घरदैलोमा पुग्ने नेताहरू जितेपछि एक पटक पनि फर्केर नआउने गरेको गुनासो पोखिरहेका छन् । हरिपुर नगरपालिका–९ का मुकेश माझीले गत निर्वाचनमा आनो टोल बस्तीमा मत माग्न आएका प्रमुख तथा उपप्रमुखको उम्मेदवार दोस्रो चुनावमा मात्र देखापरेको बताए । ‘गत निर्वाचन पछि हाम्रो टोलमा वडाध्यक्ष बाहेक निर्वाचित मेयर तथा उपमेयर देखै परेनन्, हाम्रो दुःखमा उनीहरूले मलम समेत लगाउन आउँदैनन्,’ उनले भने, ‘चुनाव आएपछि बल्ल उनीहरू हाम्रो गाउँ टोलमा धाउन थालेका छन् ।’

गत चुनावमा कांग्रेसले सदरमुकाम मलंगवा, हरिपुर्वा नगरपालिकासहित धनकौल, रामनगर, विष्णु र बसबरिया गाउँपालिकामा जित निकाल्न सफल भएको थिय । तत्कालीन राजपा अहिलेको लोसपाले बलरा, गोडैता, कविलासी नगरपालिकासहित चन्द्रनगर, ब्रह्मपुरी र कौडेना गाउँपालिकामा जितेको थियो । यस्तै गत निर्वाचनमा एमालेले ईश्वरपुर, लालबन्दी, हरिपुर र हरिवन नगरपालिकामा जित हासिल गरेको थियो । माओवादीले बरहथवा, वाग्मती र चक्रघट्टामा जितेको थियो ।

प्रकाशित : वैशाख २७, २०७९ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?