कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुसहर महिलाको माग : शौचालय र पानी

३५ घरघुरीको बस्तीमा शौचालय, सडक, खानेपानी र शिक्षा साझा समस्या

धनुषा, महोत्तरी — धनुषाको मुखियापट्टी मुसहरनियाको तुल्सीयाहीस्थित मुसहरी टोलकी ६० वर्षीया शैलदेवी सदाले अहिलेसम्म घरमा शौचालय देख्न पाएकी छैनन् । स्थानीय रुनादेवी सदालाई पनि शौचालय नहुँदा साह्रै असजिलो हुन्छ । मुसहर बस्तीका महिलाहरू शोच गर्न हरेक रात पुरुषहरू सुतेपछि र बिहान पुरुष उठ्नुअगावै बस्तीनजिकैको खेतमा पुग्छन् । 

मुसहर महिलाको माग : शौचालय र पानी

उज्यालोमा खुल्ला खेतमा शौच गर्न लाज हुनेर खेतधनीले गाली गर्ने हुँदा राति र बिहान अँध्यारोमै शौच गर्नुपर्ने बाध्यता छ । पालिका कार्यालयनजिकैको यो मुसहर बस्तीमा कसैको पनि घरमा शौचालय छैन । एक/दुई जनाको घरमा बनेको वर्षौं भए पनि प्रयोगमा छैन । अबको चुनावपछि गाउँमा बत्ती जोडिन्छ, खानेपानीका लागि कल गाडिन्छ, शौचालय निर्माण हुन्छन् र जग्गाको लालपुर्जा पाइन्छ भन्ने आशा उनीहरूको छ । बस्तीको साझा समस्या शौचालय बनाइदिने र घरमा धारा जडान गर्नेलाई मतदान गर्ने रुनादेवी सदाले बताइन् । करिब ३५ घरघुरी रहेको मुसहर बस्तीमा शौचालय, सडक, खानेपानी, शिक्षा साझा समस्या हो ।

भारतीय सीमानजिकै यो बस्तीमा अहिलेसम्म स्थानीय सरकारको उपस्थिति नदेखेको स्थानीयको गुनासो छ । त्यसैले उनीहरूलाई आसन्न स्थानीय तह निर्वाचनबारे त्यति धेरै चासो पनि छैन । सामान्य ज्यालामजदुर गरी दैनिक गुजारा चलाइरहेका मुसहर समुदायलाई बर्खामा डुबान र हिउँदमा खानेपानीको अभावको पनि समस्या छ ।

सुकुम्बासी बस्ती भएकाले लालपुर्जाको अभावमा बिजुली जडान गर्न नपाउनु उनीहरूको अर्को दुःख हो । स्थानीय रुनादेवी गाउँपालिकामा धेरै पटक समस्या राख्दा पनि सुनुवाइ नभएको गुनासो गर्छिन् । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सत्यनारायण साहले जनप्रतिनिधि उत्तरदायी नबन्दा बस्तीमा सुधारका काम हुन नसकेको बताए । गाउँपालिका उपाध्यक्ष मीरादेवी महतो मुसरह बस्तीका विषयमा जानकार रहेको बताउँछिन् । तर पनि खिचातानीका कारण पालिकाबाट पर्याप्त बजेट बस्तीका लागि दिन नसकेको बताइन् ।

प्रतिबद्धतापत्रबिनै घरदैलो

स्थानीय तह निर्वाचनमा उठेका उम्मेदवारहरू योजनाबिनै घरदैलोमा व्यस्त हुन थालेका छन् । कतिपयले पुरानै नारा लिएर मतदाता भेटघाटलाई तीव्रता दिएका छन् । पुराना प्रतिबद्धता पूरा नभएको र नयाँ योजना पनि नभएको भन्दै मतदाता भने असन्तुष्ट छन् ।

पुरानै नारा लिएर घरदैलोमा आएका नेताका कुरा सुन्न झर्को लाग्न थालेको बर्दिवास–७ किसाननगरकी सन्जुला यादवले बताइन् । ‘घरदैलोमा आउने नेताले पार्टी र आफ्नो चुनाव चिह्न देखाउँछन् र भोट माग्छन्,’ उनले भनिन्, ‘समस्या कसैले सोधेका छैनन्, हिजो सोध्नेले पनि केही नगरेकाले अब नेताको विश्वास लाग्दैन ।’ यसअघिको निर्वाचनमा खानेपानी, सिँचाइ, बाटोघाटो राम्रो बनाउने बाचा गरेका नेताले समस्या समाधान नगरेको उनले बताइन् ।

प्रमुख राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा माओवादी केन्द्रलगायतका दलका नेता चुनावी अभियानमा छन् । घरदैलोमा गएर जनतासँग भोट माग्न थालिसकेका नेताहरू आफ्नो प्रतिबद्धतापत्र भने तयार भइरहेको बताउँछन् । माओवादी केन्द्रबाट बर्दिवास नगरपालिकाको प्रमुख पदका उम्मेदवार राजु खड्काले आफू निर्वाचित भएपछि समाजवादको आधार तयार गर्ने बताए । बर्दिवासको स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि, बाटाघाटा राम्रो बनाउने नै प्रमुख लक्ष्य भएको उनको भनाइ छ ।

जिल्लामा घरदैलो अभियान तीव्र बनाएको लोसपाले आफ्नो योजना सार्वजनिक गरेको छैन । विभिन्न पालिकामा अभियान चलेको भए पनि घोषणापत्र भने जनतामाझ नबाढिएको महोत्तरी मटिहानीका ऐबुल रायनले बताए । बर्दिवासमा कांग्रेसबाट टिकट नपाएपछि बागी उम्मेदवार बनेका प्रमुख पदका उम्मेदवार प्रह्लाद क्षेत्रीले चुनाव जितेपछि भ्रष्टाचारको अन्त्य गर्ने योजना लिएका छन् । शिक्षा, स्वास्थ्य, यातायात, कृषि, रोजगारिलगायत नारा लगाउँदै चुनावी अभियानमा होमिएका क्षेत्रीले पनि घोषणापत्र तयार भइरहेको बताए ।

प्रकाशित : वैशाख १९, २०७९ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?