कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

होटल खोल्ने होड

होटलमै तालिम, गोष्ठी गर्ने बढ्दै गएपछि राम्रो हल र वातानुकूलित कोठाको खोजी हुन थाल्यो, व्यवसायीले लगानी बढाएर स्विमिङ पुलसमेत भएको सुविधासम्पन्न होटल तयार गरे

बर्दिबास — मधेस प्रदेशका राजमार्ग र आसपासका सहरमा सुविधायुक्त तारे होटल निर्माण गर्ने होड चलेको छ । राजमार्ग भएर आउजाउ गर्ने यात्रु र पर्यटकलाई केन्द्रमा राखेर व्यवसायीले करोडौं लगानीमा नयाँ होटल निर्माण खोलिरहेका हुन् । संख्या थपिए पनि होटलहरू भने भरिभराउ नै देखिन्छन् । 

होटल खोल्ने होड

समतल भूबनोट भएको मधेस प्रदेशमा जनकपुरधाम, कोसी टप्पु वन्यजन्तु आरक्ष, पर्सा राष्ट्रिय निकुञ्ज, मानवनिर्मित भरत ताल, मौलापुर मदानी र नुनथरलगायत पर्यटकीय गन्तव्य छन् । जनकपुरधाममा पूजाआजा, सर्लाहीको भरत तालमा स्पिड बोट सफारी, निकुञ्जमा हात्ती सफारी र मौलापुर मदानीमा मेला भर्नका लागि सीमावर्ती भारतीय क्षेत्रबाट समेत ठूलो संख्यामा पर्यटक आउँछन् ।

पूर्वपश्चिम राजमार्गले मधेस प्रदेशका आठमध्ये सात जिल्लालाई जोड्छ । प्रदेश १ र यही मधेसका बासिन्दा पूर्वपश्चिम राजमार्ग हुँदै संघीय राजधानी काठमाडौं र पश्चिमी क्षेत्र आउजाउ गर्छन् । त्यही कारण राजमार्गमा सधैं चहलपहल हुने गरेको छ ।

प्रदेश र स्थानीय सरकार बनेपछि तालिम, गोष्ठी र सेमिनार होटलमै हुन थाल्यो । राम्रो सेमिनार हल, वातानुकूलित (एसी) कोठा भएको होटल प्राथमिकतामा पर्दै गयो । गर्मीमा नुहाउन स्विमिङ पुलको समेत खोजी हुन थाल्यो । त्यहीअनुसार व्यवसायीले करोडौं लगानीमा सुविधासम्पन्न होटल तयार गरेका छन् ।

बारास्थित प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र द्रुत मार्ग (फास्ट ट्र्याक) लाई लक्ष्य गरी निजगढ, सिमरा, अमलेखगन्ज, वीरगन्ज, कलैया, चन्द्रनिगाहपुरमा स्तरीय होटल खोलिएका छन् । राजमार्गका यात्रुलाई लक्ष्य गरी बर्दिबास, लालबन्दी, हरिवन, लहानमा पनि राम्रा होटल खुलेका छन् । होटलहरूले लोकल कुखुराको मासु, माछा र ढिडो जस्ता परिकार पनि उपलब्ध गराउँछन् । रैथाने परिकारका लागि परिकारका लागि ‘झुपडी’ होटल प्रख्यात छन् ।

नेपाल होटल तथा पर्यटन व्यवसाय महासंघ मधेस प्रदेशका अध्यक्ष हीरा गौतमले पछिल्लो समय राजमार्गमा होटल खोल्ने क्रम बढेको बताए । ‘कोभिडको महामारी नभएको भए अहिले राजमार्गमा थुप्रै स्टार होटल खुलिसकेका हुन्थे,’ उनले भने, ‘अवस्था सहज हुँदै गएको छ । नयाँ होटल खुल्दै जान्छन् ।’

अध्यक्ष गौतमका अनुसार मधेस प्रदेशमा १ हजार ३ सय होटल छन् । तीमध्ये एक दर्जनभन्दा बढी तारे होटल छन् । पर्सामा भारतीय पर्यटकलाई लक्ष्य गरी लर्डबुद्ध, दियालो, मकालुलगायत आधा दर्जन सुविधासम्पन्न स्टार होटल सञ्चालन गरिएका छन् । बारास्थित सिमरामा इच्छा, क्लासिक, निजगढको तराई–इन, चन्द्रपुरको तराई–इन, गौतम होटल, होटल आरोही, बर्दिबासको गौतम होटल, बौआ होटल, लहानको विशाल, मारुती, सिम्रिक, गोधूलि सुविधासम्पन्न छन् ।

नेपाल होटल तथा पर्यटन व्यवसाय महासंघ मधेस प्रदेशका महासचिव मोहन शर्माले राजमार्गमा मात्र २ सयभन्दा बढी पर्यटकीय स्तरीय होटल सञ्चालनमा रहेको बताए । ‘राजमार्गका होटललाई कुनै सिजन चाहिँदैन । चौबिसै घण्टा आन्तरिक र बाह्य पर्यटकको आवागमन हुन्छ,’ उनले भने, ‘यात्रामा हिँडेकाहरू पनि सुविधासम्पन्न होटलमा बस्न रुचाउँछन् ।’ एउटा स्टार होटल तयार गर्न १० करोडदेखि ४० करोड रुपैयाँसम्म लाग्ने गरेको महासचिव शर्माले बताए । उनका अनुसार मधेस प्रदेशमा मात्र सुविधासम्पन्न होटल निर्माण गर्न झन्डै ३ अर्बभन्दा बढी लगानी भएको छ । ‘उत्तिकै लगानीमा थप होटल खोल्ने तयारी पनि भइरहेको छ,’ शर्माले भने ।

दशकअघिसम्म राजमार्गमा सामान्य खालका होटल थिए र ती सस्ता पनि थिए । अहिले सुविधासम्पन्न होटलमा बढी खर्च गर्न पनि आन्तरिक पर्यटक पछि हट्दैनन् ।

तराईलाई काठमाडौं जोड्ने द्रुतमार्ग बनिरहेकाले र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्ने हुनाले व्यवसायीहरूले अरू ठूला होटल सञ्चालन गर्ने तयारी गरिरहेको महासंघ मधेस प्रदेशका अध्यक्ष गौतमले बताए । गौतमको बर्दिबासमा स्टार होटल छ ।

सिमरास्थित क्लासिक होटलका सञ्चालक ईश्वर केसीले ठूला होटल खुल्दै जाँदा स्थायित्वको चुनौती निम्तिन सक्ने बताए । ‘राजमार्ग होटल हब बन्दै गएको छ । यसलाई प्रतिस्पर्धाभन्दा पनि कसरी स्थायित्व दिन सकिन्छ भन्नेतिर लगानीकर्ताले सोच्नुपर्छ,’ उनले भने, ‘अरू बेला राम्रै भए पनि कोभिड महामारीले होटल व्यवसायलाई थला पार्‍यो । यस्तै स्थिति फेरि पनि आउन सक्छ ।’

होटल हब बर्दिबास

पूर्वपश्चिम राजमार्ग र बीपी राजमार्गको मिलनबिन्दु हो महोत्तरीको बर्दिबास । दुवै चल्तीका राजमार्ग हुन् । त्यही कारण बर्दिबासमा करोडौं लगानीमा होटल खुलेका छन् । यहाँ ३ तारेसम्मका होटल छन् ।

सबैले चिनेको, सुनेको होटल गौतम पूर्वपश्चिम राजमार्ग छेवैमा छ । पहिले छाप्रे होटल हुँदै गौतम होटल भनेर चिनिएको यो होटल अहिले सुविधासम्पन्न छ । बर्दिबास आउने प्रायः सबैजसोको बास बस्न र आराम गर्न पहिलो रोजाइ बन्ने गरेको छ ।

होटल गौतमले धनुषाको मिथिला नगरपालिकामा अर्को चारतारे होटल थप्दै छ । ५० करोड रुपैयाँ लगानीमा उक्त होटल बनाउन थालेको होटल सञ्चालक हीरा गौतमले जानकारी दिए । बर्दिबास–४ स्थित माईस्थानमा पूर्वपश्चिम राजमार्गनजिकै ४० करोड लागतमा २ वर्षअघि तीनतारे नाब्या होटल खुलेको छ ।

बर्दिबासको मुख्य बजारमै रहेको होटल विनायक प्रालिका सुविधासम्पन्न होटल र ब्याङ्क्वेट छन् । होटलमा लिफ्ट, भीआईपी कक्ष र सुइट रुमको व्यवस्था गरिएको छ । होटल विनायक पनि ४० करोड हाराहारीकै लगानीमा खुलेको हो । ‘समयअनुसार संरचना र सेवासुविधा परिमार्जन गर्दै लगेका छौं,’ होटल सञ्चालक विष्णु खड्काले भने ।

बर्दिबासको होटल गुञ्ज पनि ४० करोड हाराहारीकै लगानीमा खुलेको हो । ‘कोरोना कालका बेला होटल सञ्चालनमा आएको भए पनि सेवा र सुविधाका कारण व्यवसाय फस्टाउँदै गएको छ,’ होटल सञ्चालक गोपाल कार्कीले भने । मिथिलाको मौलिकता झल्काउँदै बर्दिबासमै खोलिएको होटल पावन मिथिला पनि आगन्तुकको रोजाइमा पर्ने गरेको छ ।

कोरोनाकालमा होटल व्यवसाय सुस्ताएको थियो । तर महामारी मत्थर भएपछि नयाँ होटल निर्माणले फेरि गति लिएको छ । बर्दिबासका सन्तोष श्रेष्ठले २० करोड लागतमा पूर्वपश्चिम राजमार्गमै सुविधासम्पन्न श्रेष्ठ होटल सञ्चालनको तयारी गरेका छन् । त्यस्तै १६ करोड लगानीमा होटल रोयल सेन पनि बर्दिबासमै खुल्ने तयारीमा छ । बर्दिबासमा ५ करोडदेखि १५ करोड रुपैयाँसम्म लगानी भएका होटल धेरै छन् । बर्दिबास–३ स्थित गौरीडाँडामा बीपी राजमार्गछेउमा पनि प्रशस्त होटल खुलेका छन् । कोरोनाकालमै खुलेको बर्दिबास रिसोर्ट पनि ग्राहकहरूको रोजाइमा पर्ने गरेको छ ।

होटल पर्यटन व्यवसायी महासंघ महोत्तरीका अनुसार जिल्लाभरि ८ सय होटल छन् । ‘आवास सुविधासहितका ७० वटा सुविधासम्पन्न होटलमध्ये बर्दिबास बजार आसपास मात्रै ४५ वटा छन्,’ महासंघ महोत्तरीका अध्यक्ष रेवन्त कार्कीले भने ।

बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष प्रह्लाद क्षत्रीले बर्दिबासमा अहिले सबैभन्दा बढी व्यवसायका रूपमा होटल नै दर्ता हुने गरेको बताए । उनका अनुसार संघमा बर्दिबास नगरपालिकाभित्रका ११ सय साना तथा ठूला होटल दर्ता छन् ।

खासगरी बीपी राजमार्ग सञ्चालनमा आएपछि बर्दिबास होटल खोल्ने क्रम बढेको हो । बीपी राजमार्ग र पूर्वपश्चिम राजमार्ग भएर आउजाउ गर्ने यात्रुले बर्दिबासलाई विश्रामस्थल बनाउँछन् । कतिपय भने काठमाडौंबाट सुस्ताउन बर्दिबास आइपुग्छन् ।

बर्दिबासमा सुविधासम्पन्न होटल थपिँदै जानु बर्दिबासको समृद्धि र विकासको सूचक रहेको नगरपालिकाका प्रमुख विदुर कार्कीले बताए । ‘आन्तरिक तथा बा≈य पर्यटकका लागि बर्दिबासको चिनारी होटल बन्दै गएको छ,’ उनले भने ।

प्रकाशित : वैशाख ७, २०७९ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?