२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७८

मधेसमा हावाहुरीका कारण ३ को मृत्यु, प्रदेश सभाको वार्षिकोत्सव नै स्थगित

धनुषा — मधेस प्रदेशमा शुक्रबार बिहानैदेखि तीव्र गतिमा चलिरहेको हावाहुरीका कारण रूख ढल्दा च्यापिएर ३ जनाको मृत्यु भएको छ । धनुषाको सबैलामा २ जना र रौतहटमा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मधेसमा हावाहुरीका कारण ३ को मृत्यु, प्रदेश सभाको वार्षिकोत्सव नै स्थगित

प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसपी तुलबहादुर कार्कीका अनुसार हावाहुरीले रुख ढाल्दा त्यसमा च्यापिएर मृत्यु हुनेहरूमध्ये धनुषा सबैलाका ८ वर्षीया प्रतिमाकुमारी सदा र १२ वर्षीय अरविन्द सदा रहेका छन् । मृत्यु हुने दुवैजना सवैला फकिरचन्द्र माध्यमिक विद्यालयका विद्यार्थी हुन् ।

विद्यालयमा रहेकै बेला त्यहाँको रुख ढल्दा दुवै विद्यार्थीको घटनास्थलमै मृत्यु भएको धनुषा प्रहरीका डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

यस्तै रौतहटमा हावाहुरीले ४५ वर्षीया महिला फूलमति देवीको मृत्यु भएको छ । रुख ढलेर घरमाथि खस्दा घर भत्किएपछि च्यापिएर उनको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।

प्रदेश सभाको वार्षिकोत्सव समारोह स्थगित

तीव्र हावाहुरीका कारण मधेसको प्रदेश सभाको वार्षिकोत्सव समारोहसमेत स्थगित भएको छ । हावाहुरीले त्रिपाल र मञ्चमासमेत क्षति पुर्‍याएको थियो । वार्षिकोत्सव समारोहका लागि जनकपुरस्थित प्रदेश सभा परिसरमा तयार पारिएको पन्डाल र टेन्ट उडाएपछि कार्यक्रम अन्तिम समयमा स्थगित गरिएको सभामुखका प्रेस सल्लाहकार प्रभाकर सिंहले जानकारी दिए ।

शुक्रबार बिहानैदेखि चलिरहेको हावाहुरीले वार्षिकोत्सवका लागि तयार गरेको पन्डालमा क्षति भएपछि कार्यक्रम स्थगित गरिएको प्रदेश सभा संसद सचिवालयले जनाएको छ । प्रतिकुल मौसमका कारण चौथो वार्षिकोत्सव कार्यक्रम स्थगित गरिएको प्रदेश संसद सचिवालयले अतिथि र सांसदहरूलाई एसएमएस गरेर सन्देश पठाएको छ ।

सचिवालयले पठाएको सन्देशमा मौसम प्रतिकुलताका कारण वार्षिकोत्सव स्थगित गरिएको र माघ २३ गते प्रदेश सभाको बैठक आह्वान गरिएको छ ।

हावाहुरीका कारण सांसदको पनि सहभागिता कम हुने भएकाले कार्यक्रम स्थगित भएको संसद्‍ सचिवालयका कर्मचारीले बताए । प्रदेश सभा सचिवालय शुक्रबार चार वर्ष पूरा भई पाँचौं वर्षमा प्रवेश गरेको छ । मधेस प्रदेशमा बिहीबार रातिदेखि वर्षासँगै तीव्र गतिमा हावाहुरी चल्दैछ ।

प्रकाशित : माघ २१, २०७८ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?