कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उखु अनुदानको रकममा ढिलाइ

(सिमरा) र (सर्लाही) — चिनी मिललाई उखु बेचेको झन्डै वर्ष दिन हुन लाग्यो । मिल सञ्चालन हुने अर्को सिजन पनि नजिकिँदैछ । चाडपर्व मुखैमा छन् । तर, उखु उत्पादक किसानले अहिलेसम्म बाराको श्रीपुरस्थित रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिजलाई बिक्री गरेको उखुको आधा भुक्तानी बाँकी नै छ ।

मिलले आफूले तिर्ने कुल रकमको ७० प्रतिशत किसानलाई बिहीबारसम्म भुक्तानी गरिसकेको जनाएको छ ।


गएको सिजनमा चिनी मिलले २८ लाख ३६ हजार ४ सय ६० क्विन्टल २८ किलो उखु क्रसिङ गरेको जनाएको छ । उक्त उखु खरिद गरेवापत १ अर्ब ३३ करोड ६७ लाख ६७ हजार ७६ पैसा किसानलाई भुक्तानी दिनुपर्ने थियो । तर, अहिलेसम्म मिलले ९१ करोड ६७ लाख रुपैयाँ मात्र किसानलाई भुक्तानी दिएको रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिजका डेपुटी जेनरल म्यानेजर (डिजिएम) गौरव सिलोडियाले जानकारी दिए ।


उनका अनुसार अहिलेसम्म किसानलाई ४२ करोड रुपैयाँ रकम भुक्तानी गर्न बाँकी छ । लट अनुसार अहिले पनि किसानलाई भुक्तानी दिने क्रम जारी राखिएको उनले जनाकारी दिए । छठ अगाडि सबै किसानको उखु भुक्तानी गरिसकिने मिलले लक्ष्य राखेको छ ।


चिनी मिलले दिने रकममध्ये केही भुक्तानी पाए पनि किसानले सरकारले दिने भनिएको अनुदान वापतको रकम प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अझै पाएका छैनन् । सरकारले बारा/पर्साका किसानलाई अनुदान वापतको रकम १८ करोड ५१ लाख ६४ हजार १ सय २७ रुपैयाँ ८ पैसा दिने प्रतिबद्धता जनाएको थियो । अनुदान रकम सरकारबाट कहिले पाउने हो, अहिलेसम्म कुनै अत्तोपत्तो नभएको उत्तरझिटकैयाका पीडित किसान श्यामबाबु यादवले गुनासो गरे ।

‘मिलले बोकेको दायित्व अनुसारको रकम उपलब्ध गराइसक्यो,’ उनले भने, ‘अब सरकारले भ्याटवापत उठाएको अनुदान रकम किसानलाई दिनुपर्‍यो ।’ मिलले दिने र सरकारी अनुदान जोडेर बितेको सिजनमा ५ सय ३६ रुपैयाँ ५६ पैसा उखुको मूल्य निर्धारण गरी चिनीमिल सञ्चालन भएको थियो । तर, ६५ रुपैयाँ २८ पैसा अनुदान वापतको रकम अहिले सम्म किसानले पाउन नसकेको उखु उत्पादक किसान संघ बाराका अध्यक्ष वीरेन्द्र कुशवाहाले जानकारी दिए ।

‘अनुदान वापतको रकम तत्कालै किसानलाई उपलब्ध गराउन किसान संघले पहल गरिरहेको छ,’ उनले भने, ‘केन्द्रीय अध्यक्ष र सरकारका मन्त्रीलाई ताकेदा गरिरहेका छौं ।’ सरकार र किसान संघका केन्द्रीय अध्यक्षको ढिलासुस्तीका कारण अहिलेसम्म उखु किसानले अनुदान वापतको रकम पाउन नसकेको उनले बताए । सरकारले दिने भनिएको अनुदान रकम समयमै उपलब्ध नभए किसानले आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिए ।


‘उद्योग र सरकार उस्तै’


महिनौंअघि उखु बिक्री गरेका किसानले चिनी उद्योगबाट रकम नपाएर छटपटाई रहेका बेला सरकारी अनुदान समेत पाएका छैनन् । सरकारले उखु किसानका लागि अनुदान छुट्याए पनि किसानको हातमा पर्न सकेको छैन ।

चिनी उद्योगबाट भुक्तानी नपाएर छटपटाइरहेका किसानलाई सरकारी अनुदान समेत नपाउँदा मन खिन्न छ । उनीहरूले चिनी उद्योगीजस्तै सरकारी रवैया भएको गुनासो गरे । ‘उद्योगले त पैसा दिएकै छैन, सरकारी अनुदान वापतको रकम पनि पाउन सकेको छैन, बारा उधोरणका सुशील सिंहले भने, ‘हामी किसानका लागि चिनी उद्योगी र सरकार उस्तै हो ।’


चिनी उद्योगले भुक्तानीमा आलटाल गरिरहेका बेला सरकारी अनुदानको भरमा कतिपय किसान बडा दसैं मान्ने योजना बनाएका छन् । तर, अझै पनि अनुदानको रकम नपाउँदा बुनेको योजना असफल हुने हो कि भन्ने चिन्ता किसानमा छ । अनुदानको रकमले आफूले चाडवाड मान्ने योजना बनाएको स्थानीय किसान सुरेन्द्र रायले बताए । उनले चिनी उद्योगले भुक्तानी नदिँदा अनुदानको रकम पाए पनि चाडवाड मान्न मद्दत पुग्ने बताए । ‘चाडवाडको मुखमा चिनी उद्योगीको भर भएन, सरकारकै आशा गरेको छु, तर त्यो पनि पूरा नहोलाजस्तो छ,’ रायले भने, ‘अनुदानको रकम भए पनि चाडवाड मान्न सजिलो हुने थियो ।’


यता उखु किसान सम्बद्ध नेताले स्पष्ट विवरण पठाउँदा पनि सरकारी अनुदानमा प्रत्येक वर्ष झमेला हुने गरेको बताए । नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिल मुनि मैनालीले परार सालकै सरकारी अनुदान वापत किसानले करिब डेढ करोड रकम बाँकी रहेको गुनासो गरे । ‘गतवर्षको अनुदानको त कुरै छाडौं, त्यो भन्दा अघिल्लो वर्षको झन्डै डेढ करोड रकम सरकारी अनुदान किसानले पाएका छैनन्,’ उनले भने, ‘किसान चौतर्फी मारमा परिरहँदा सरकारले पनि किसानको भलो चिताएन ।’


गतवर्षको उखुको सरकारी अनुदानका लागि किसानले अझै केही दिन कुर्नु पर्ने देखिएको छ । बजेट भाषण लगतै अर्थमन्त्रालयले कृषि मन्त्रालयमा अनुदानको सम्पूर्ण रकम उपलब्ध गराए पनि कोष तथा लेखा नियन्त्रण कार्यालयमा अख्तियारी नआएकाले भुक्तानी हुन सकेको छैन । कृषि मन्त्रालयबाट अख्तियारी नआएकै कारण अनुदानमा ढिलाइ भइरहेको कोलेनिका प्रमुख जगत थपलियाले बताए । ‘अर्थले कृषिमन्त्रालयलाई एकमुष्ट रकम पठाइसकेको छ, गतवर्ष मन्त्रालयबाट निकासा आएको थियो, यस वर्ष कृषि विभागमार्फत आउने कुराकानी छ,’ उनले भने, ‘मन्त्रालयले कृषि विभागलाई अख्तियारी दिने र विभागले कोलेनिकालाई अख्तियारी दिने जानकारी आएको छ, अख्तियारी आउने बितिकै उद्योगको खातामा रकम जम्मा हुन्छ ।’


गत सिजनमा जिल्लाको हरिवनस्थित इन्दुशंकर चिनी उद्योग, धनकौलस्थित अन्नपूर्ण चिनी उद्योग र बगदहस्थित महालक्ष्मी चिनी उद्योगले ५५ लाख ३३ हजार ४ सय १६ दशमलव ६ क्विन्टल उखु क्रसिङ गरेका थिए ।


प्रकाशित : आश्विन ३, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?