३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

दुहुना गाई–भैंसी तस्करी

(पर्सा) — सशस्त्र प्रहरीको १४ नम्बर गुल्मले मंगलबार साँझ वीरगन्ज बसपार्क क्षेत्रमा बा१७च १९ नम्बरको बोलेरो जिपबाट दुइटा दुहुनो भैंसी र पाडी नियन्त्रणमा लियो । ती चौपाया भारतको रक्सौलबाट भन्सार छलेर ल्याइएका हुन् । प्रहरी देखेपछि चौपाया धनी र चालक जिप छाडेर भागेका थिए । 

प्रहरीले चौपाया र गाडीसमेतको मूल्य ७ लाख ८० हजार कायम गरी थप कारबाहीका लागि वीरगन्ज भन्सारमा बुझाएको छ ।


सशस्त्र प्रहरी राजस्व भन्सार गस्ती वीरगन्जका प्रमुख डिएसपी अमरबहादुर खत्री साउनयता दुहुना गाईभैंसीको तस्करी बढेको बताउँछन् । उनका अनुसार यो अवधिमा विभिन्न नाकाबाट बरामद गरिएका ५ गाई, २९ भैंसी तथा पाडापाडी र ६ वटा खसी लिलामी गरिएका छन् ।


पशु क्वारेन्टाइन कार्यालय वीरगन्जका प्रमुख डा. हरेराम यादव नाकाबाट कुनै पनि पशुपन्छी आयातमा भारतीय क्वारेन्टाइनको सिफारिस अनिवार्य गरिएको बताउँछन् । महाशाखाले पशु स्वास्थ्य सेवा ऐन २०५५ र नियमावली २०५६ अनुसार चौपाया तथा माछा आयात गर्ने मुलुकका क्वारेन्टाइनबाट तिनको स्वास्थ्य तथा उत्पत्तिको सिफारिस अनिवार्य गरेको हो ।


भारतका कोलकाता, दिल्ली, मुम्बई, चेन्नई, हैदराबाद र बेंग्लोर गरी आधा दर्जन स्थानमा यस्ता क्वारेन्टाइन कार्यालय छन् । यी कार्यालय टाढा भएकाले कारोबारीले सिफारिस ल्याउन अटेरी गर्ने गरेका छन् । कतिपय कारोबारीले पशु क्वारेन्टाइन महाशाखाको सूचना अवज्ञा गरी जबर्जस्ती यस्ता चौपाया भित्र्याउन खोज्छन् । कतिले नाकासँग सम्बन्धित वडाका जनप्रतिनिधिको सिफारिस देखाउँछन् ।


विगतमा भारतबाट राँगा, भैंसी, खसी, बाख्रा, माछा आदि आयात गर्दा यस्तो सिफारिस अनिवार्य थिएन । यसले गर्दा स्वदेशी माछा र मासु व्यवसायीले भारतीयसँग कडा प्रतिस्पर्धा गर्नुपरेको थियो । भारतीय माछा तथा चौपाया अस्वस्थकर भएको गुनासोपछि महाशाखाले सिफारिस अनिवार्य गरेको डा. यादव बताउँछन् । यो नियम आउनुअघि पर्सा, बारा र रौतहटका विभिन्न नाका हुँदै मासिक ३ हजारसम्म चौपाया भित्रिन्थे ।


भन्सार छलीको सामान बरामद

सर्लाही– प्रहरीले नेपाल–भारत सीमाबाट भन्सार छलेर ल्याइँदै गरेको ठूलो परिमाणको सामान नियन्त्रणमा लिएको छ । मलंगवा नगरपालिका–६, भाँडसर नाकाबाट भित्र्याइँदै गरेको उक्त सामान १ लाख ४३ हजार रुपैयाँबराबरको रहेको प्रहरीले जनायो ।


भारतका सोनवर्षाबाट मोटरसाइकलमा आएका तस्कर प्रहरीको गस्ती टोली देख्नासाथ सामान छाडेर भागेका थिए । प्रहरीले मोटरसाइकल, विभिन्न कपडा र झोला बरामद गरेको छ । खुला सीमा–नाकाका कारण तस्करहरूले लुकाई–छिपाई भारतबाट अवैध रूपमा सामान भित्र्याउने गरेका छन् । जिल्लाका केही नाकाबाट प्रहरीकै मिलेमतोमा सामान भित्रिने गरेको आरोप छ ।

प्रकाशित : माघ ३, २०७६ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?