कोरोना संक्रमणबाट धरानमा थप दुई जनाको मृत्यु- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना संक्रमणबाट धरानमा थप दुई जनाको मृत्यु

प्रदीप मेन्याङ्बो

सुनसरी — कोरोना संक्रमणबाट धरान उपमहानगरपालिकामा थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान–९ बस्ने ६७ वर्षीया र वडा नं १६ की ८१ वर्षीया महिला छन् ।

उनीहरूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार मधुमेह र मानसिक समस्या रहेकी धरान–९ की महिलालाई कात्तिक १८ गते कोभिड अस्पताल भर्ना गरिएको थियो । पीसीआर जाँच गर्दा कात्तिक १९ गते कोरोना पुष्टि भएकी उनको शुक्रबार बेलुकी साढे ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसै गरी धरान–१६ की महिलालाई कात्तिक १९ गते कोरोना पुष्टि भएपछि कात्तिक २० गते कोभिड अस्पताल भर्ना गरिएको थियो । उच्च रक्तचापको समस्याबाट पीडित उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै शनिबार बिहान २ बजे मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ ।

धरानमा कोरोना संक्रमणबाट हालसम्म ६८ जनाको मृत्यु भएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताएका छन् । उनका अनुसार पछिल्लो समय समुदायस्तरमा पीसीआर परीक्षण घटेको छ ।

इनरुवास्थित स्वास्थ्य कार्यालयकी कोभिड संयोजक दीक्षा श्रेष्ठका अनुसार सुनसरीमा शनिबार बिहानसम्म कोरोना संक्रमणबाट १ सय ११ जनाको मृत्यु भएको छ । तीमध्ये सबैभन्दा बढी धरान, त्यसपछि इटहरी, इनरुवा, दुहबी क्षेत्रका छन् । श्रेष्ठका अनुसार जिल्लामा संक्रमितको संख्या ५ हजार ५ सय २१ पुगेको छ । तिनमा सक्रिय संक्रमित १ हजार ९ सय २२ र निको हुने ३ हजार ४ सय ७१ जना छन् ।

प्रकाशित : कार्तिक २२, २०७७ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्

‘औषधिबारे बुझ्न खोज्दा स्वास्थ्यकर्मी फोन उठाउँदैनन्’

होम आइसोलेसनका संक्रमितको निगरानीका लागि सरकारले ५० जना बिरामी बराबर एक जना स्वास्थ्यकर्मीको व्यवस्था गरेको छ तर उनीहरु सक्रिय छैनन् ।
फातिमा बानु

काठमाडौँ — कोरोना संक्रमण भई होम आइसोलेसन बसेका बालकुमारीका ४५ वर्षीय राजेन्द्र महर्जन मंगलबार एक्कासि बेहोस भए । तुरुन्तै एम्बुलेन्स बोलाएर उनलाई धापासीस्थित ग्रान्डी अस्पताल पुर्‍याइयो । अस्पताल पुग्दा उनको स्याचुरेसन (अक्सिजन लेभल) ६५ मा झरिसकेको थियो । चिकित्सक टोलीको घन्टौँ प्रयासपश्चात् उनी बाँचे ।

‘लक्षण सामान्य थियो, केही परे स्थानीय स्वास्थ्यकर्मीसँग सल्लाह लिउँला’ भनेर उनी अस्पताल भर्ना हुनेतर्फ लागेनन्, घरमै आराम गरेर बसे । ‘लक्षण बढ्दै गएपछि वडामा फोन गरेर परामर्श लिन खोज्यौं । वडाध्यक्षले स्वास्थ्यकर्मीको फोन नम्बर दिए तर जति गर्दा पनि उठेन,’ उनकी छोरी शान्ताले भनिन्, ‘ईडीसीडी र मन्त्रालयमा फोन गर्दा वडाकै सहयोग लिनुस् भनियो ।’

पीसीआर रिपोर्ट पोजिटिभ आएपछि सिनामगंलको एक परिवारका पाँच जना नै होम आइसोलेसनमा बसे । कसैलाई लक्षण देखियो, कोही सामान्य नै थिए । यस्तो अवस्थामा कसरी बस्ने, के औषधि खाने, के नखाने उनीहरू अलमलमा परे । उनीहरूले पनि वडाको सहयोग लिने प्रयास गरे तर पाएनन् । ‘ज्वरो आएको थियो, घाँटी पनि दुखेको थियो,’ संक्रमित नजमा अन्सारीले भनिन्, ‘अरू बेला यस्तो समस्या हुँदा हामी सिटामोल, एन्टिबायोटिक खान्थ्यौं । कोरोनामा खान मिल्ने नमिल्ने थाहै भएन, जेसुकै होस् भनेर खाइदियौं ।’ कहिले सास फेर्न गाह्रो हुने, कहिले पखाला र बान्ता हुने समस्या हुँदा पनि उनीहरूले स्थानीय स्वास्थ्यकर्मीको सल्लाह पाउन सकेनन् ।

कोभिड–१९ संक्रमितको आइसोलेसनसम्बन्धी मापदण्डअनुसार होम आइसोलेसनमा बसेका बिरामी स्थानीय तहमा स्वास्थ्यकर्मीको नियमित निगरानीमा हुनुपर्छ । स्वास्थ्यकर्मीले संक्रमितलाई दिनमा दुईपटक फोन गरेर स्वास्थ्य अवस्थाको जानकारी लिनुपर्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा बसेका संक्रमितलाई चिकित्सकको सल्लाहबिना कुनै औषधि सेवन नगर्न भनेको छ ।

घरमा बस्नेले अपनाउनुपर्ने निर्देशिका पनि बनेको छ तर अधिकांश सर्वसाधारण निर्देशिकाबारे अनविज्ञ छन् । संक्रमित भइसकेपछि के गर्ने भन्नेमा उनीहरूमा अलमल छ । उनीहरूलाई न स्वास्थ्यकर्मीले फोन गर्छन् न संक्रमितको फोन नै उठाउँछन् । होम आइसोलेसनका संक्रमितको निगरानीका लागि सरकारले ५० जना बिरामी बराबर एक जना स्वास्थ्यकर्मीको व्यवस्था गरेको छ तर उनीहरू सक्रिय छैनन् । संक्रमितलाई श्वासप्रश्वासमा कठिनाइ भए, छाती दुखे, होस हराए या अन्य कुनै जटिल समस्या आए स्वास्थ्यकर्मीलाई खबर गर्नुपर्ने निर्देशिकामा उल्लेख छ तर स्वास्थ्यकर्मी बिरामीको फोन उठाउँदैनन् ।

सामान्य समस्या घरमा समाधान गर्न नसकेकै कारण कतिपय बिरामी अवस्था धेरै खराब भएपछि मात्रै अस्पताल पुगिरहेको चिकित्सक बताउँछन् । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार अहिले होम आइसोलेसनका संक्रमित र स्वास्थ्य सेवाबीच ठूलो खाडल छ, जसले गर्दा सामान्य परामर्श र औषधि नपाएर संक्रमित जटिल भइरहेका छन् । ‘होम आइसोलेसनमा बस्नु भनेको उपचार नै नचाहिनु होइन । यसको अर्थ घरमै संक्रमण व्यवस्थापन गर्नु र अरूलाई सर्नबाट रोक्नु हो,’ उनले भने, ‘घरमा बसेका संक्रमितले सही सूचना र परामर्श पाएनन् भने मृत्युको मुखसम्म पुग्न सक्छन् । स्वास्थ्यकर्मीको नियमित निगरानीबिना होम आइसोलेसन बस्नु जोखिम मोल्नु हो ।’

डा. पुनका अनुसार घरमै बसेर आफ्नै तरिकाले औषधि खाँदा स्वास्थ्यमा नकारात्मक असर मात्रै पर्छ । चिकित्सकको सल्लाहबिना कुनै पनि औषधि खानु हुँदैन । होम आइसोलेसनका संक्रमितलाई निगरानी गर्ने सवालमा उपत्यकामा जनप्रतिनिधि र स्वास्थ्यकर्मीले बेवास्ता गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । ‘काम गर्नुस् भनेर हामीले नीति निर्देशिका बनाइदिएका छौं, बजेट पनि पठाएकै छ,’ उनले भने, ‘कामै गर्न अटेरी गरेपछि हामीबाट मात्रै गरेर संक्रमण कसरी नियन्त्रण हुन्छ ?’

प्रकाशित : कार्तिक २२, २०७७ ०९:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×