कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चार दिनदेखि बीपी प्रतिष्ठानमा नि:शुल्क पीसीआर जाँच रोकियो 

प्रदीप मेन्याङ्बो

सुनसरी — कोरोना संक्रमितहरुको संख्या दिनदिनै बढिरहेको बेला सरकारले पीसीआर जाँच गर्न चाहिने किट, रिएजेन्टलगायत सामग्रीहरु उपलब्ध गराउन नसकेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । 

चार दिनदेखि बीपी प्रतिष्ठानमा नि:शुल्क पीसीआर जाँच रोकियो 

सरकारले चार दिनदेखि पीसीआर जाँच गर्ने सामग्री उपलब्ध नगराएपछि नि:शुल्क जाँच गर्न नसकेको प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरीशंकर साहले बताए । उनले भने, ‘नि:शुल्क सामग्री उपलब्ध नगराएपछि प्रतिष्ठान आफैंले आन्तरिक आयश्रोतबाट किनेको किट प्रयोग गरेबापत सरकारले तोकेको न्यूनतम २ हजार रुपैयाँ शुल्क लिन थालेका छौं ।’ प्रतिष्ठानलाई सरकारले प्रदेश १ र २ का लागि कोरोनाको 'लेवल थ्री' सम्म उपचार गर्ने अस्पतालको रुपमा तोकेको छ ।

प्रतिष्ठानलाई प्रदेश र संघीय सरकारले पीसीआर परीक्षण गर्न गत चैत ५ गतेदेखि आवश्यक सामाग्री उपल्लब्ध गराउँदै आएको थियो । तर पछिल्लो समयमा पीसीआर परीक्षणका लागि किट उपलब्ध गराउन नसकेपछि प्रतिष्ठानले नि:शुल्क रुपमा स्वाब परीक्षण गरेर पीसीआर जाँच गर्न नसकिएको अस्पताल निर्देशक साहले बताए । उनले भने, ‘सरकारले नि:शुल्क रुपमा किट उपलब्ध गराउँदा प्रतिष्ठानले पनि नि:शुल्क परीक्षण गरेको थियो । तर केही दिनयता सरकारले दिने नि:शुल्क किट उपलब्ध नभएपछि प्रतिष्ठान आफैंले खरिद गरेर पीसीआर परीक्षणलाई निरन्तरता दिन बाध्य भएका छौं ।’

प्रतिष्ठानका अस्पताल निर्देशक साहले प्रतिष्ठानको कोभिड अस्पताल, आइसोलेसन सेन्टर र प्रतिष्ठानकै अन्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको पीसीआर परीक्षण गर्नु परेमा चिकित्सकको सिफारिसमा मात्र नि:शुल्क पीसीआर टेष्ट गर्ने सर्कुलर जारी गरेको बताए । उनले प्रतिष्ठानकै अन्य चिकित्सक र कर्मचारीहरुले तथा अन्य शंकास्पद कोरोना संक्रमित व्यक्तिहरुले पीसीआर टेष्ट गर्न चाहेमा सरकारले तोकेको न्युनतम शुल्क २ हजार भुक्तानी गर्नुपर्ने प्रवाधान राखेको बताए ।

उनले भने, ‘सरकारले नि:शुल्क रुपमा किट उपलब्ध गराए प्रतिष्ठानले पनि नि:शुल्क रुपमै पीसीआर जाँच गर्ने छ ।’ प्रतिष्ठानमा चैत पहिलो सातादेखि कोरोना शंकास्पद व्यक्तिहरुको स्वाब संकलन गरी पीसीआर जाँच हुन थालेको हो । प्रतिष्ठानको माइक्रोबायोलोजी विभागअन्तर्गतको प्रयोगशलामा हालसम्म ५४ हजार १ सय ८६ जनाको पीसीआर जाँच गर्दा २ हजार ५ सय ६५ को रिपोर्ट कोरोना पोजिटिभ आएको थियो ।


प्रकाशित : आश्विन ८, २०७७ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?