कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना उपचारमा खटिएका बीपी प्रतिष्ठानका जेआर चिकित्सक आन्दोलित

प्रदीप मेन्याङ्बो

सुनसरी — कोरोना संक्रमितको उपचार र व्यवस्थापनमा अग्रपंक्तिमा खटिएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर रेसिडेन्ट (जेआर) चिकित्सकहरु आन्दोलित भएका छन् ।

कोरोना उपचारमा खटिएका बीपी प्रतिष्ठानका जेआर चिकित्सक आन्दोलित

प्रतिष्ठानमा कोभिड–१९ अस्पताल र इमर्जेन्सीमा संक्रमितको उपचार र व्यवस्थापनमा सबैभन्दा बढी जेआरहरु नै खटिँदै आएका छन् । तर जोखिमयुक्त अनेक समस्या खेप्नु परिरहेकाले प्रतिष्ठानका जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले ९ बुँदे माग राख्दै आन्दोलित भएको जनाएको छ । प्रतिष्ठानको कोभिड अस्पतालमामा हालसम्म अप्रेसन थिएटर, प्रयोगशाला र एक्सरेका कुनै पनि व्यवस्था गरिएको छैन । पूर्वयोजना अनुसार अस्पतालमा मेडिकल उपकरण जडान नगर्दा भर्ना भएका संक्रमितको रगत जाँच गर्नका लागि प्रतिष्ठानको जोखिम उठाएर सेन्ट्रल ल्याबमा पुर्‍याउनु पर्ने, एक्सरे, भिडियो एक्सरे, अप्रेसन थिएटर नहुँदा रोकेर राख्नु पर्ने जस्ता समस्या रहेका छन् ।

सोसाइटीले प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा खटिएका जेआर चिकित्सकलाई संक्रमणका कारण बिरामीको मृत्यु भएपछि शव व्यवस्थापन गर्न जेआर चिकित्सकहरुलाई खटाउने काम अन्त्य गर्नुपर्ने, इमर्जेन्सी कक्षमा उपचारका क्रममा संक्रमित व्यक्तिको सम्पर्क आएपछि क्वारेन्टिनमा बसेका जेआर चिकित्सकहरुलाई क्वारेन्टिनमै बसेको अवधिमा पुन: ड्युटीमा खटाउने व्यवस्था बन्द गर्नु पर्ने, कोभिड अस्पताल सञ्चालनमा आइसकेकोले इमर्जेन्सीमा बनाइएको आइसोलेसन तत्काल बन्द गरी शंकास्पद बिरामीहरुलाई कोभिड अस्पतालमा नै सिधै भर्ना गर्नुपर्ने माग गरेको छ ।

अस्पतालमा खटिइरहेका जेआर चिकित्सक देवराज घिमिरेले भने, ‘स्वास्थ्य मन्त्रालयले जेआरहरुलाई ड्युटीमा खटाउँदा लगातार १४ दिन र दैनिक १० घण्टाभन्दा बढी खटाउन नमिल्ने निर्देशिका जारी गरेको छ तर प्रतिष्ठानमा १ महिनासम्म ड्युटीमा खटाइने गरेको गरिएको छ । सोसाइटीले मन्त्रालयको निर्देशिका अनुसार मात्र जेआर चिकित्सकलाई ड्युटी खटाउन माग गरेको छ ।’ सरकारले कोरोना संक्रमितको उपचारमा अग्रपंक्तिमा खट्ने चिकित्सकहरुका लागि जोखिम भत्ताको बजेट मन्त्रालयबाट पठाइसकेपनि हालसम्म उपलब्ध नगराएकाले सोसाइटीले तत्काल प्रदान गर्न पनि माग गरेको छ ।

उनका अनुसार लेभल ३ कोभिड अस्पताल भएकाले चौबिसै घण्टा एकजना कन्सल्टेन्ट चिकित्सक कोभिड ड्युटीमा हुनुपर्ने भएपनि बिहान र बेलुकी राउण्डमा मात्र कन्सल्टेन्ट चिकित्सक आउने गरेका छन् । कतिपय अवस्थामा केही समस्या पर्दा फोन गर्नुपर्ने अवस्था रहेको पनि डा घिमिरेले बताए ।

सोसाइटीका अध्यक्ष डा कविराज पौडलेले गत बिहीबार नै प्रतिष्ठानका उपकुलपति, अस्पताल निर्देशक, रजिस्ट्रार र रेक्टरलगायत पदाधिकारी र अस्पताल प्रशासनलाई ९ बुँदे माग राख्दै ७२ घण्टे अल्टिमेटमसहित ध्यानाकर्षण पत्र बुझाएको तर सुनुवाइ नभएकाले आइतबारदेखि हातमा कालोपट्टी बाँधेर आन्दोलित हँुदै काममा खटिएको बताए । उनले भने, ‘सोसाइटीले कालोपट्टी बाँधेको २४ घण्टाभित्र माग पूरा नभए भदौ ९ गते देखि सम्पूर्ण जेआरहरुले इमर्जेन्सीबाहेक अन्य कुनै पनि ड्युटीमा नखट्ने निर्णय गरेको छ ।’

सोसाइटीले कोभिड अस्पतालमा खटेर क्वारेन्टिनमा बस्न पुगेका चिकित्सकहरुलाई खाने र बस्ने सुविधा पनि गुणस्तरहीन भएपछि कोठाबाट खाना मगाएर खानु परेको पनि जनाएको छ । प्रतिष्ठानको इमर्जेन्सीमा चिकित्सक, नर्स र हेल्पर गरी करिव १ सय ६० जना र कोभिड अस्पतालमा ४० जना अग्रपंक्तिमा खटिरहेको सोसाइटीले जनाएको छ । कोभिड अस्पतालमा ४० जना संक्रमित भर्ना भएर उपचाररत रहेका छन् । उपचारका लागि संक्रमितहरुलाई कोभिड अस्पतालमा ल्याउने क्रम भने जारी रहेको छ ।

प्रकाशित : भाद्र ७, २०७७ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?