बीपी प्रतिष्ठानका दुई चिकित्सकलाई कोरोना- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीपी प्रतिष्ठानका दुई चिकित्सकलाई कोरोना

प्रदीप मेन्याङ्बो

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत दुई जना चिकित्सकसहित प्रतिष्ठान भित्रकै एक महिलामा कोरोना संक्रमण भएको छ ।



प्रतिष्ठानका प्रवक्ता प्राडा निदेश सापकोटाका अनुसार ती चिकित्सकहरुले आफूहरुलाई पनि कोरोना संक्रमण भएको शंका लागेर होम आइसोलेसनमा बसेका थिए । उनीहरुले प्रतिष्ठानकै माइक्रोबायोलोजी विभागको प्रयोगशालामा पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए । उनले भने, ‘पीसीआर परीक्षणको नतिजा पोजिटिभ देखिएको छ । उहाँहरुको अवस्था सामान्य छ । कुनै लक्षण भने देखिएको छैन ।’

संक्रमित चिकित्सकको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम सुरु भएको प्रवक्ता सापकोटाले बताए ।

संक्रमित चिकित्सकहरु एक साताअघि जनकपुर र विराटनगर गएको प्रतिष्ठान श्रोतले जनाकारी दिएको छ । यअसघि प्रतिष्ठानको आवासीय क्षेत्रमा बस्ने एक महिला चिकित्सक, एक इन्टर्न चिकित्सक, र दुई जना एमबीबीएस अध्ययनरत विद्यार्थीलाई कोरोना संक्रमण भइसकेको छ ।

प्रकाशित : श्रावण २५, २०७७ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्

आधा किशोरी विद्यालय नफर्कने जोखिममा

जब परिवार आर्थिक मन्दीमा पर्न थाल्छ, छोरीहरूको पढाइ सबैभन्दा कम प्राथमिकतामा पर्छ ।
नम्रता शर्मा

कोभिड–१९ महामारीपश्चात् एसिया र अफ्रिकाका आठ देशका २८,००० किशोरीसँग गरिएको अन्तर्वार्ताबाट आएको नतिजाले छर्लंग्याउँछ, लगभग दुई किशोरीमा एक जना (करिब ४९ प्रतिशत) किशोरी विद्यालय नफर्कने उच्च जोखिम अवस्थामा छन् ।

भारत, बंगलादेश, नेपाल, श्रीलंका, भियतनाम, लाओस, कम्बोडिया र तान्जानियाबाट संकलन गरिएको यो तथ्यांक रुम टु रिड गैरसरकारी संस्थाको किशोरी शिक्षा कार्यक्रमको कार्यक्षेत्रमा गरिएको अनुसन्धानको नतिजा हो । रुम टु रिड अनुसार, निम्न आय समुदायमा गरिएको यो सर्भे संसारभरिकै कोभिड–१९ महामारीमा यस्तो समुदायमा गरिएको सबैभन्दा ठूलो सर्भे हो ।

यो सर्भेमा अन्तर्वार्ता दिने किशोरीहरू १५–१९ वर्ष उमेर समूहमा पर्छन् । उनीहरू सबै निम्न आयस्रोतवाला परिवारका हुन् । भारत, बंगलादेश, नेपाल, श्रीलंका, भियतनाम, लाओस, कम्बोडिया र तान्जानियामा महामारीअघि पनि ठूलो संख्यामा किशोरीहरूले विभिन्न कारणले पढाइ छोड्ने गरेका थिए । त्यही कारण रुम टु रिडले ती देशमा किशोरी शिक्षा कार्यक्रम सुरु गरेको थियो । महामारीयता धेरै देशमा बन्दाबन्दी सुरु भयो । त्यसका कारण पहिले नै जोखिममा परिसकेका आफूसँग जोडिएका किशोरीहरूको अवस्था के छ र साथै निम्न आय भएका समुदायका बालिकाको अवस्थामा महामारीले के–कस्तो असर पार्‍यो भन्ने बुझ्न गरिएको यो सर्भेले ती समुदायका करिब ५० प्रतिशत किशोरी विद्यालय खुलेपछि ‘ड्रप आउट’ हुने उच्च जोखिम रहेको आकलन गरेको छ ।

यो सर्भे २०२० को अप्रिलदेखि जुनसम्म गरिएको थियो र त्यति बेला सबै देशमा बन्दाबन्दी भइसकेको थियो । २८,००० किशोरीसँग अन्तर्वार्ता फोन र भिडियो एपमार्फत गरिएको थियो । छरितो र सजिलो पार्न केवल तीन छोटाछोटा प्रश्न सोधिएका थिए, जसको जवाफ ‘हो/होइन’ मा दिन मिल्थ्यो ।

यही अनुसन्धानका क्रममा नेपालमा २०२० को मे–जुनमा बाँके, बर्दिया, नुवाकोट र तनहुँका रुम टु रिडमा आबद्ध ३,९९२ किशोरीसँग अन्तर्वार्ता गरिएको थियो । अरू देशमा झैं नेपालमा पनि करिब दुई किशोरीमा एक जना विद्यालय नफर्कने उच्च जोखिम रहेको देखिन्छ, जुन संख्या नेपालका हकमा ५३ प्रतिशत छ । सर्भेको नतिजाअनुसार, १५९ (७ प्रतिशत) किशोरीले विद्यालय खुले पनि आफू जान नपाउने खुलासा गरेका छन् भने, १,४३३ (४५ प्रतिशत) जनाले आफ्नो परिवारबाट रोकावट आएको बताएका छन् । जब परिवारमा आर्थिक मन्दी हुन्छ, छोरीहरूको पढाइ सबैभन्दा कम प्राथमिकतामा पर्छ । छोरीहरूलाई या त घरका काममा लगाउन या विवाह गरेर पठाइदिन विद्यालयबाट निकालिन्छ ।

अन्तर्वार्ता दिएका १६ प्रतिशत किशोरीले बन्दाबन्दी सुरु भएदेखि आफ्नो पढाइलेखाइ पनि बन्द भएको र त्यसैले विद्यालय खुले पनि, परीक्षामा असफल हुने डरले, नजाने जोखिम बढेको जनाएका छन् । अति आर्थिक मन्दीले ल्याएको कठिनाइ र विद्यमान लैंगिक असमानताले नेपालका निम्न आयस्रोत भएका समुदायका किशोरीहरूले माध्यमिक शिक्षा पनि पूरा गर्न नसक्ने अवस्था आउन सक्ने यो सर्भेले देखाउँछ । यसबाट के अनुमान गर्न सकिन्छ भने, किशोरीहरूको पढाइ बन्द भएसँगै बाल विवाह, श्रम र यौन शोषणको जोखिम पनि बढ्छ ।

कोभिड–१९ महामारीका कारण विश्वभरिकै बालबालिकालाई धेरै असर परेको छ । त्यसमा पनि निम्न आयस्रोत भएका परिवारका बालबालिकामा, अझ किशोरीमा, यसको प्रभाव झन् बढी नकारात्मक छ । सम्पन्न र मध्यम वर्गका बालबालिकालाई बन्दाबन्दीले असर पारे पनि विद्यालय सञ्चालन हुन थालेपछि उनीहरूको पढाइ फेरि सुरु हुन्छ । निम्न आयस्रोत भएका परिवारका किशोरीहरूको भने बन्दाबन्दीले पढाइमा असर मात्र नपारी, उनीहरूको पढाइको अन्त्य, ज्ञान हासिल गर्ने क्रमको अन्त्य र आफू र आफ्नो समुदायको जीविकामा सकारात्मक परिवर्तन ल्याउने सपनाकै अन्त्य नै हुने सम्भावना एकदमै उच्च देखिएको उक्त अनुसन्धानले देखाएको छ । त्यति मात्र नभई, तिनले आफ्नो बालापना र किशोरावस्था नै गुमाउने जोखिम उच्च देखिएको छ । निम्न आयस्रोत भएका परिवारले आकस्मिक कठिनाइ परेका बेला किशोरावस्थाका छोरीहरूको विवाह गरिदिने चलन सर्भे गरेका देशहरूमा विद्यमान छ । विवाहपछि यी किशोरीहरूको शिक्षा प्रायः बन्द हुन जान्छ र उनीहरू घरेलुलगायत अरू काममा शोषणमा पर्न थाल्छन् ।

यस कारण यो महामारीका कारण १ अमेरिकी डलरभन्दा कम आयस्रोत भएका परिवारका छोरीहरूको पढाइ बन्द हुने सम्भावना धेरै छ । उदाहरणका लागि, सत्र वर्षीया एक किशोरी घरमा आर्थिक मन्दी आएपछि रोजगारीको खोजीमा भागेर ४८० किमि टाढा काठमाडौं पुगिन् । तर त्यहाँ उनले काम पाउन सकिनन् । कुलतमा फस्दै गइन् । लागूपदार्थको अम्मली हुँदै गइन् । कालान्तरमा उनी रुम टु रिडको सम्पर्कमा पुगिन् । रुम टु रिडका कर्मचारीहरूले उनलाई त्यस्तो लत र संगतबाट बचाएर परिवारको जिम्मा लगाइदिए । उनी भन्छिन्, ‘अब फेरि पढ्छु ।’

रुम टु रिड नेपालका कन्ट्री डाइरेक्टर पुष्करलाल श्रेष्ठ भन्नुहुन्छ, ‘वित्तीय कठिनाइका कारण नेपालका किशोरीहरू शिक्षाबाट वञ्चित हुने गर्छन् । त्यसकारण कोभिड–१९ को महामारीले निम्न आयस्रोत भएका समुदायमा लैंगिक असमानता अझै बढाउने सम्भावना बढेको छ ।’ कोभिड–१९ को नकारात्मक असर के हुन सक्छ र यसको समाधान कसरी गर्ने भन्ने जान्न नै रुम टु रिडले यो अनुसन्धान एसिया र अफ्रिकाका आठ देशमा गरेको पनि उहाँले बताउनुभयो । त्यस्ता किशोरीहरूलाई समेट्न र सुरक्षित राख्न रुम टु रिडका मेन्टरहरूले दूर परामर्श र मार्गनिर्देशन कक्षा सञ्चालन गर्दै आएका छन् ।

निम्न आयस्रोत भएका ५३ प्रतिशत किशोरी शिक्षाबाट वञ्चित हुनु भनेको देशका लागि ठूलो हानि हो । नेपाल सरकारले यो तथ्यांकको नतिजा हेरी सरकारी र गैरसरकारी तवरबाट कस्तो रणनीति बनाउने भन्नेमा ध्यान दिनु जरुरी छ ।

प्रकाशित : श्रावण २५, २०७७ १०:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×