कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीमा परेर सुनसरीमा एकको मृत्यु, एक बालक बेपत्ता

प्रदीप मेन्याङ्बो

सुनसरी — सर्दु खोलाले बगाएर शनिबार दिउँसोदेखि बेपत्ता भएका धरान–१३ बस्ने ६० वर्षीय रामबहादुर बस्नेतको शव आइतबार फेला परेको छ ।

पूर्व भारतीय गोर्खा सैनिक समेत रहेका बस्नेत सर्दु खोला तर्ने प्रयास गरिरहेको बेला बाढीले बगाएर बेपत्ता भएका थिए । उनलाई बगेको स्थानबाट करिब पाँच किलोमिटर दक्षिण धरान–११ स्थित मंगलबारे छेउको सर्दु किनारमा भेटिएको प्रहरीले जनाएको छ ।

खोलामा दाउरा संकलन गर्नेहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । बस्नेतको शव पोस्टमार्टमाका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको इलाका प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

यसैगरी आइतबार नै सप्तकोसीले बगाएर ल्याएको दाउरा संकलन गर्ने क्रममा सुनसरीको बराहक्षेत्र नगरपालिका–७ बस्ने एक बालक वेपत्ता भएका छन् । बराहक्षेत्र नगरपालिकास्थित चक्रघट्टी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पाण्डव राजवंशीका अनुसार सप्तकोसी नदीले १४ वर्षीय अनिल बस्नेतलाई बगाएको हो । उनको खोजी कार्य भइरहेपनि हालसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।

यसैबीच लगातार परेको वर्षाका कारण धरान ३ र १५ को सिमानामा पर्ने निराजन बस्ती जाने बाटोमा पहिरो जाँदा विनोद मगरको भान्साकोठा पुरिएको छ । मगरका अनुसार राति झरेको पहिरोले सोफासेट, दराज, फ्रिज, ग्यास चुलो, सिलिन्डर, दुई बोरा चामल र भाडावर्तन सबै पुरेको छ । पुरिएका सामान हालसम्म निकाल्न सकेका छैनन् । पहिरो झरेकै शीरमा रहेको जिपछिरिङ भोटेको पक्की घर पनि जोखिममा परेको वडा–३ का वडाध्यक्ष आशाकुमार श्रेष्ठले बताए ।

प्रकाशित : असार २८, २०७७ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?