कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीपी प्रतिष्ठानमा दुईमहिने शिशुको पेटबाट निकालियो डेढ किलोको ट्युमर

प्रदीप मेन्याङ्बो

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईमहिने बालिकाको पेटमा पलाएको डेढ किलोको ट्युमर शल्यक्रिया गरेर निकालिएको छ ।

बीपी प्रतिष्ठानमा दुईमहिने शिशुको पेटबाट निकालियो डेढ किलोको ट्युमर

प्रतिष्ठानको सर्जरी विभागका पेडियाट्रिक इन्चार्ज सर्जन डा. राजेश साह र उनको टिमले शिशुको सफलतापूर्वक शल्यक्रिया गरेको हो ।

शल्यक्रियापछि शिशुको अवस्था सामान्य भएपछि गत शुक्रबार डिस्चार्ज गरेर प्रतिष्ठानले औपचारिक रूपमा यसबारे जानकारी दिएको हो । डा. साहका अनुसार सामान्यतया चिकित्सा विज्ञानमा अति साना बालबालिकाको ट्युमरको सफल शल्यक्रिया विरलै मानिन्छ ।

धनकुटाको चौबिसे गाउँपालिका–८ साम्मेवा बस्ने दीपेन्द्र र विनीता लिम्बुकी दुईमहिने छोरीको पेटमा भएको ट्युमरको सफल शल्यक्रिया गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।

शिशुको पेट असामान्य रूपमा बढेपछि लिम्बू दम्पतीले जेठ २ गते प्रतिष्ठानमा उपचारका लागि भर्ना गरेका थिए । जेठ १८ गते शल्यक्रिया गरेर १६ दिन पीआईसीयू र पाँच दिन पेडियाट्रिक वार्डमा राखेर शिशुको अवस्था सामान्य भएपछि डिस्चार्ज गरिएको डा. साहले बताए । उनले भने, ‘पाँच घण्टा लगाएर बालिकाको पेटको ट्युमर निकाल्न सफल भयौं । चिकित्सा विज्ञानमा यस्तो ट्युमरलाई टेराटोमा भनिन्छ ।’

ती शिशु प्रतिष्ठानकै स्त्री तथा प्रसूति विभागमा जन्मिएकी थिइन् । बाबु दीपेन्द्रका अनुसार छोरीलाई घर लगिएकोमा २० दिनदेखि असामान्य रूपमा उनको पेट बढेको थियो । तत्कालै प्रतिष्ठानमा ल्याएर जाँच गर्दा ट्युमर पलाएको पत्ता लागेपछि शल्यक्रिया गरिएको र हाल छोरी सकुशल रहेको उनले बताए ।

प्रकाशित : असार १३, २०७७ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?