कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिरामी कुरुवाले बन्द गर्दा बीपी प्रतिष्ठानमा तनाब

उपचाररत एक बालिकामा कोरोना पुष्टि भएपछि एउटै वार्डमा रहेका बिरामीका आफन्तले आफूहरूको पनि पीसीआर जाँचको माग राखी बिल काउन्टर र प्रशासनिक भवन तीन घण्टा बन्द गरेका हुन् ।
प्रदीप मेन्याङ्बो

धरान — बिरामीका कुरुवा र आफन्तले आफूहरूको पीसीआर जाँच गर्नुपर्ने माग राखी आइतबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपीडी सेवाको बिल काउन्टर र प्रशासनिक भवनको प्रवेशद्वार बन्द गरिदिएका छन् । बिहान ६ बजेदेखि करिब तीन घण्टा बन्द गरिँदा सेवा प्रभावित हुन पुगेको थियो ।

बिरामी कुरुवाले बन्द गर्दा बीपी प्रतिष्ठानमा तनाब

गत बिहीबार प्रतिष्ठानको हाडजोर्नी विभागको अब्जर्भेसन वार्डमा रहेकी एक बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँ रहेका अन्य बिरामीका आफन्तले आफूहरूको पनि पीसीआर परीक्षण गर्नुपर्ने अडान लिएका हुन् ।

बिरामीका कुरुवाले बन्द गरेको प्रवेशद्वार सुरक्षा गार्डले पछाडिको झ्यालबाट छिरेर खोलेका थिए । बालिकामा संक्रमण पुष्टि भएपछि चिकित्सकहरू उक्त वार्डका अन्य बिरामीलाई समेत हेर्न नआएको आफन्तहरूले आरोप लगाएका छन् । उनीहरूले पीसीआर जाँचको माग गरेपछि चिकित्सकहरू आएर सम्झाएका थिए ।

बराहक्षेत्र नगरपालिका–७ महेन्द्रनगरकी ११ वर्षीया बालिका खुट्टा भाँचिएपछि उपचारका लागि दुई सातादेखि प्रतिष्ठानमा थिइन् । शल्यक्रियाअघि उनको पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो ।

प्रतिष्ठानका प्रवक्तासमेत रहेका मानसिक रोग विभागका वरिष्ठ चिकित्सक डा. निदेश सापकोटाले डब्लूएचओले तयार पारेको प्रोटोकलअनुसार सबैको पीसीआर जाँच गरिने बताए । ‘हामीले प्रोटोकलअनुसार नै ती बालिकाको उपचारमा संलग्न पेडियाट्रिक इमर्जेन्सीमा रहेका ७ जनासहित ३५ जनाको कन्ट्याक ट्रेसिङ गरेर शनिबार स्वाब संकलन गरेका छौं,’ उनले भने, ‘आज बिहान मात्र फेरि १७ जनाको स्वाब लिएर पीसीआर जाँच गर्ने तयारी भइरहेको छ ।’

प्रकाशित : जेष्ठ २५, २०७७ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?