कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धरानमा कोरोना परीक्षणका लागि भाइरल सेफ्टी क्याबिन जडान

प्रदीप मेन्याङ्बो

सुनसरी — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण पहिचान र परीक्षण गर्नका लागि प्रयोगशाला स्थापना गरिएको छ ।

धरानमा कोरोना परीक्षणका लागि भाइरल सेफ्टी क्याबिन जडान

सरकारले रिएजेन्ट, किट, रसायन, भाइरल ट्रान्सपोर्ट मेडियम (भिटिएम), व्यक्तिगत सुरक्षा सामाग्री (पीपीपी) पठाइदिए जुनसुकै बेला पनि कोरोना परीक्षण गर्न सकिने प्रतिष्ठानले जनाएको छ ।


कोरोना परीक्षणका लागि प्रतिष्ठानसँग एउटामात्र भाइरल सेफ्टी क्याबिन रहेकोमा सरकारले पठाएको नयाँ क्याबिन आइतबार प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको प्रयोगशालामा जडान गरिएको हो । प्रतिष्ठानका अस्पताल निर्देशक एवं र्‍यापिड रेस्पोन्स कमिटिका संयोजक प्रा. डा गौरिशंकर साहले प्रतिष्ठानसँग कोरोना परीक्षणका लागि भौतिक पूर्वाधार र दक्ष जनशक्ति भएकाले थप नयाँ भाइरल सेफ्टी क्याबिन जडान गरेको बताए ।


यसैबीच कोरोना संक्रमण फैलिन नदिनका लागि प्रतिष्ठानले तत्काल उपचार नगर्दा थप जोखिम नहुने बिस्तारित स्वास्थ्य सेवालाई आइतबारदेखि आगामी दुई साताका लागि स्थगन गरेको छ । अस्पताल निर्देशक साहका अनुसार कोभिड–१९ को रोकथाम तथा नियन्त्रणको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार गरेको निर्णयअनुसार प्रतिष्ठानले केही सेवाहरु दुई साताका लागि स्थगित गरेको हो ।

उनका अनुसार तत्कालका लागि सबै प्रकारका पेइङसहितका इन्स्टीच्युसनल प्राक्टिस, स्वास्थ्य बीमा स्थगित गरिएको छ । उनले भने, ‘तत्काल उपचार नगर्दा पनि थप जोखिम नहुने खालका स्वास्थ्य सेवालाई स्थगित गरेर कोरोना संक्रमण रोकथाममा बढी ध्यान दिएको हो ।’

प्रकाशित : चैत्र ९, २०७६ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?