कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धरानमा करको दररेट घटाउन विज्ञ टोली गठन गर्ने तयारी

प्रदीप मेन्याङ्बो

सुनसरी — धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले वृद्धि गरिएको समग्र राजश्वका प्रणाली तथा करको दररेट र दायराको पुनरावलोकनका लागि प्रक्रिया सुरु गरेको बताएका छन् । उनले धरान उपमहानगरपालिकाले यसअघि बढाएको कर तथा राजस्व, दस्तुर घटाउन कर तथा राजस्व विज्ञ सम्मिलित एक समिति गठन गर्ने तयारीमा रहेको बताए । 

धरानमा करको दररेट घटाउन विज्ञ टोली गठन गर्ने तयारी

निवार्चनताका राईले करको विषयलाई मुख्य एजेण्डा बनाएका थिए । उनले भने, ‘करको विषयमा नगरबासीले गुनासो गर्दै आएका थिए । मेयरको पदभार गर्नासाथ सोही विषयलाई पहिलो प्राथमिकतामा राखेर आर्थिक वर्ष ०७६/०७७ को वित्तिय क्षेत्रको बजेटमा आउने गरी शुल्क पुनरावलोकन गर्न विषेशज्ञ सम्मिलित कार्यदल गठन गर्न निर्णयार्थ प्रस्ताव राखिसकेको छु ।’


उनले उपमहानगरको पाचौं नगरसभाले पारित गरी लागू गरेको आर्थिक ऐन २०७६ अनुसारको करको दररेटलाई पुनरवलोकन गरेर घटाउनका लागि पेश भएको निर्णयार्थ प्रस्तावलाई सार्थक बनाउन आन्तरिक छलफल भइरहेको बताए । उक्त प्रस्ताव अब बस्ने नगरसभामा लगिने छ ।


धरान उपमहानगरपालिकाले विभिन्न क्षेत्रको कर वृद्धि गरेको बताइए पनि राजश्व महाशाखाले पूर्वका विभिन्न नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाले लागू गरेको कर तथा राजस्वको तुलना गर्दा सबैभन्दा कमै दर देखिएको छ । विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका लगायतले लागू गरेको करको दररेट भन्दा कम दररेट भएपनि नगरबासीले कर वृद्धि भएको गुनासो गरेकाले पुनरावलोकन गर्नु उचित देखिएको एक कर विज्ञले बताए ।


धरान उपमहानगरपालिकाले गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा १० देखि १५ प्रतिशत सम्पत्ति कर वृद्धि गरेको छ । व्यावसाय करमा गत वर्ष नै दर्ता गरेका फर्म वा कम्पनीलाई यथावत कायम गरिएको छ भने नयाँ व्यावसायीलाई करमा १० प्रतिशत थप गरिएको छ । आर्थिक वर्ष ०७५/७६ अगाडिका व्यावसाय करको तुलनामा १५ प्रतिशत वृद्धि गरेको राजस्व महाशाखाले जनाएको छ ।


संस्थागत विद्यालयको हकमा विद्यार्थी संख्या अनुसार व्यावसाय कर लिन प्याब्सन र एन प्याब्सनका पदाधिकारीको सहमतिमा वार्षिक कर लिने निर्णय गरेको छ । उक्त निर्णय अनुसार २ सय ५० विद्यार्थी भएका स्कुलले वार्षिक ४ हजार रुपैयाँ, ५ सय जनासम्म विद्यार्थी भएका स्कुलले ७ हजार रुपैयाँ, ७ सय ५० विद्यार्थी संख्या हुनेले ८ हजार रुपैयाँ, हजार विद्यार्थी संख्या हुनेले १० हजार रुपैयाँ र एकहजार एक भन्दाबढी विद्यार्थी संख्या भएका स्कुलले वार्षिक १५ हजार रुपैयाँ व्यावसाय कर तिर्नुपर्ने व्यवस्था गरेको छ । नक्सापास दस्तुरमा धरान उपमहानगरपालिकाले प्रतिवर्ग फिट १४ रुपैयाँ र सुपर भिजन दस्तुर ५ रुपैयाँ प्रतिवर्ग फिट गरी १९ रुपैयाँ तोकेको छ । टेम्पोलाई वार्षिक पार्किङ शुल्क २ हजार रुपैयाँ र ट्याक्सीलाई २५ सय रुपैयाँ निर्धारण गरिएको थियो ।


सरसफाइ करमा दैनिक सफाइ हुने बजार क्षेत्रमा व्यावसायीले वार्षिक हजार रुपैयाँ र घरधनीले पाँचसय रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ । सातामा एकपटक सफाइ गर्नुपर्ने क्षेत्रमा बस्ने व्यावसायीले वार्षिक ७ सय ५० रुपैयाँ र घरधनीले ५ सय रुपैयाँ तिर्नुपर्ने व्यवस्था रहेको छ ।

प्रकाशित : मंसिर २२, २०७६ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?