कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्राथमिक केन्द्र अस्पताल बन्यो

३६५ दिनै निःशुल्क ओपिडी 
प्रदीप मेन्याङ्बो

सुनसरी — दुई वर्षअघि सरकारी दरबन्दीमा जागिर खान पुगेका तनहुँका डा अनिल गिरीको सत्प्रयासले बराहक्षेत्र नगरपालिकाको चतरा स्वास्थ्य उपचार केन्द्रलाई इमर्जेन्सी सेवासहित ३६५ दिन खुला रहने निःशुल्क ओपिडी अस्पताल बनाएका छन् ।

उनको यो प्रयास सरकारी सहयोगले भन्दा पनि उनकै अवधारणाअनुसार नगरपालिका बोर्डले बनाएको चतरा स्वास्थ्य उपचार केन्द्र व्यवस्थापन समितिमार्फत भएको हो ।


सरकारी दरबन्दीमा आएका डा गिरीले चतराको स्वास्थ्य केन्द्र र स्थानीय बिरामीले पाएको दुःखलाई देखेर सरकारी दरबन्दीको जागिर राजिनामा दिएर बोर्डले तोकेको पदमा बसेर गरिब निमुखा र मजदुर गाउँलेलाई सकेसम्म निःशुल्क स्वास्थ्य उपचार दिने ध्याउन्नमा लागेपछि बिस्तारै सफलता हात पारेका हुन् ।


वीरगन्ज मेडिकल कलेजबाट एमबीबीएस गरेका २९ वर्षे युवा डा गिरीकै गुरु योजनाको नतिजास्वरूप १०–५ सम्ममात्र खुल्ने प्राथमिक स्वास्थ्य केन्द्रलाई शनिबार पनि खुलै रहने २४ घण्टे मात्र बनाए । ओपिडी सेवा पनि निःशुल्क बनाए । ९ वटा शय्या थपेर वार्ड बनाए । ल्याब स्थापना गरे । आकस्मिक कक्ष बिस्तार गरे । स्वास्थ्य केन्द्रको आफ्नै फार्मेसी पनि बनाए । जटिल शल्यक्रिया र रोगका उपचारबाहेक अरू गर्न सकिने वातावरण बनाए । एक्सरे र भिडियो एक्सरेको रिपोर्टका लागि बिरामीले लामो समय कुर्नु नपर्ने वातावरण पनि बनाए ।


बराहक्षेत्र नगर अस्पताल र चतरा स्वास्थ्यकेन्द्र दुवैको प्रबन्ध निर्देशक रहेका गिरिले भने, ‘आर्थिक अभाव त छँदैछ । स्वास्थ्यकेन्द्रमा दक्ष दजशक्तिको अभाव छ, आधुनिक उपकरण, एनालाइसिस गर्ने राम्रो ल्याव, एक्सरे मेसिन, पर्याप्त औषधि अभाव छ । तर यी अभावसँग डराएर हामी नै भाग्ने हो भने गाउँका बिरामीको उपचार कसले गर्ने ? जोसँग गोजीमा ५ रुपैयाँ हुँदैन । आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी हुँदैन । यो स्वास्थ्य केन्द्रले तिनीहरूलाई लक्षित गरेर आफ्नो अवधारणाअनुसार काम गर्दै छ ।’


आर्थिक अभावका बीच सत्प्रयास भएमा सबैले साथ दिँदा बिरामीलाई निःशुल्क ओपिडी, आकस्मिक कक्षको विस्तार र कमभन्दा कम शुल्क लिएर उपचार गर्ने वातावरण बन्दो रहेछ भन्ने उदाहरणका रूपमा चतरा स्वास्थ्य केन्द्रलाई स्थापित गर्न आफू लागिपरेको बताए ।


नेपालमा योग्य र दक्ष चिकित्सक धेरै उत्पादन भइसकेकाले उनीहरूको व्यस्थापनसँगै आधुनिक उपकरण सहितको सुविधासम्पन्न अस्पताल सञ्चालनमा ल्याउन सरकारले ध्यान दिनसके प्रत्येक नेपालीले निःशुल्क शल्यक्रियादेखि हरेक उपचार सहजै पाउने दाबी

गिरीले गरे ।

प्रकाशित : भाद्र १३, २०७६ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?