कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

हिउँले ढाक्यो रारा [तस्बिरहरु]

राजबहादुर शाही

मुगु — समुद्री सतहदेखि दुई हजार नौ सय २९ मिटर उचाइमा अवस्थित पर्यटकीय गन्तव्य रारालाई हिउँले छपक्कै ढाकेको छ । वरिपरि सेताम्य हिउँ, बीचमा निलो ताल, आइतबार राराको सौन्दर्य झनै खुलेको छ । शुक्रबारदेखि मौसममा परिवर्तन भइ शनिबारदेखि बर्षा सुरुवात भएसँगै रारामा ७ इन्च भन्दा बढी हिउँ जमेको छ ।फागुनको हिउँले गर्दा रारा कपास फुलेजस्तै देखिएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयकी रेन्जर हिमाली खत्रीले बताइन् । पर्यटकलाई स्वागत गर्न प्रकृतिले रारा ताल वरिपरि सेता कार्पेट बिछ्याएको उनको भनाइ छ । रारा ताल वरपर रहेका होटेल, निकुञ्जको कार्यालय र हुटु नेपाली सेनाको ब्यारेक हिउँले सेताम्य देखिएका छन् । 

शहरी क्षेत्रबाट रारा घुम्न आएका पर्यटकहरु हिउँमा रमाउन थालेका छन् । अब रारामा पर्यटकहरु हिउँ खेल्न आउने निकुञ्ज कार्यालयका सुचना अधिकारी जयहरि धितालले बताए । 'बसन्त ऋतु प्रारम्भसंगै रारामा हिमपात हुँदा आन्तरिक पर्यटकको संख्यामा बृद्धि हुने आशा गरिएको छ,' उनले भने । फागुनमै रारामा तीन पटक हिउँ परेको निकुञ्जले जनाएको छ । चिसो छल्न साइबेरिया क्षेत्रबाट रारामा आएको मौसमी चराहरु हिउँमा रमाउन थालेका छन् ।राराको तल्लो मिलिचौर, माथिल्लो मिलिचौर, ओढरबोट, ठाकुरज्यूको मन्दिर, रारा निजार लगायत क्षेत्र हिउँले सेताम्य देखिएको छ । गर्मी मौसम सुरु हुने लागेको हुँदा रारामा हिउँ धेरै दिनसम्म नटिक्ने होटल व्यवसायीको भनाइ छ । रारा तालभन्दा आधा घण्टा टाढा रहेको मुर्मागाउँ पनि हिउँले छोपेको छ । पर्यटकीय क्षेत्र रारा ताल नजिकै रहेको मुर्मागाउँ पनि हिउँले सेताम्य देखिएको मुर्मा गाउँका दिपबहादुर रोकायाले सुनाए । राराको हिउँ विश्वभरि देखाउन अचेल युट्यूबर, फोटोग्राफी ब्यक्तिहरु रारा पुग्न थालेका छन् । सडक र हवाई सुविधा भरपर्दो भएपछि शहर क्षेत्रबाट युट्यबुर र फोटोग्राफरहरु रारा पुगेर आकाशबाट खस्दै गरेको हिउँ खिच्न थालेका छन् । 

प्रकाशित : फाल्गुन २०, २०८० १५:०२
प्रतिक्रिया
पठाउनुहोस्