कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८

साकेला सिलीको मैझारो [तस्बिरहरु]

डम्बरसिं राई

खोटाङ — कालो है अक्षर लेखौँला, अर्को साल लै लै भेटौँला, नमरे बाँचे भेटौँला...

ढोल, झ्याम्टाको तालमा माझकिरात खोटाङको दिक्तेल माटिकोरे खेल मैदानमा उभौलीको अवसरमा शनिबार किराती समुदायका युवा–युवती, बालबालिका, बृद्ध–बृद्धाले साकेला सिली नाँचे । योसँगै यसपालिको उभौली साकेला सिलीको मैझारो भएको छ । किरात राई यायोक्खा, किरात सेवा समाजको संयुक्त आयोजनामा भव्यताका साथ यो वर्षको उभौली साकेला सिली मैझारो गरिएको हो । बाली नाली राम्रो होस्, असिना नपरोस्, अनिकाल नलागोस्, भल पहिरो, चट्याङ लगायत प्राकृतिक प्रकोप आइनपरोस् भन्ने कामनाका साथ प्रकृतिको पूजाआराधना गर्दै यो वर्षको उभौली साकेला सिली समापन गरिएको किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरातले बताए ।

‘हामी किरातीहरू प्रकृति पूजक हौं, प्राकृतिक प्रकोप आइनलागोस् भनी प्रकृतिको पूजाआराधना गरी उभौली मनाइएको छ, साथै यो चोटीको उभौलीमा कोसी प्रदेश नामाङ्कनको विरोध गर्दै पहिचानको आधारमा किरात प्रदेश पुनःनामाङ्कन गरियोस् भन्ने माग सहित उभौली चाड मनाइएको छ,’ किरातले भने । किराती समुदायले वर्ष दुई चोटि साकेला सिली नाँच्ने गर्दछन् । वैशाखे पूर्णिमामा उभौली र मङ्सिरे पूर्णिमामा उधौली चाडको अवसरमा साकेला सिली नाँच्ने गर्दछन् । जलचर तथा थलचर जीव जनवारहरू उभौली लाग्ने बेला वैशाखे पूर्णिमामा उभौली र जलचर तथा थलचर जीव जनवारहरू उधौली लाग्ने बेला मङ्सिरे पूर्णिमामा उधौली चाड मनाउने चलन रहेको किरातले सुनाए । उधौलीको अवसरमा मङ्सिरे पूर्णिमा बाली भित्राउने बेला अन्नको सह बसोस्, अनिकाल नलागोस् लगायतका कामना गर्दै पृथ्वीमा रहेका सम्पूर्ण जीव जनवार तथा प्रकृतिमा कुनै अनिष्ट आइनपरोस् भन्ने कामना गर्दै प्रकृतिको पूजाआराधना गर्ने चलन रहेको किरातले बताए ।


प्रकाशित : असार २, २०८१ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्