छाउपडी प्रथा अन्त्यका लागि गृह मन्त्रालयबाट समिति गठन भएको छ :  गृहमन्त्री लामिछाने

असार १०, २०८१

कान्तिपुर संवाददाता

A committee has been formed by the Ministry of Home Affairs to end the Chhaupadi system: Home Minister Lamichhane

काठमाडौँ — उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयले छाउपडी प्रथाको अन्त्यका लागि समिति गठन गरेको बताएका छन् । राष्ट्रिय सभाको बैठकमा अछाम जिल्लाको छाउगोठमा भएको घटनाका बारेमा राष्ट्रिय सभामा सोमबार जानकारी गराउँदै गृहमन्त्री लामिछानेले  छाउपडी प्रथाको अन्त्यका लागि विगतमा भएका अध्ययन, अनुसन्धान र विज्ञहरूसँग सल्लाह लिई समितिले दिएको सुझाव र प्रतिवेदनका आधारमा नीति बनाउने काम हुने बताएका हुन् । 

गत असार ४ गते अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ बस्ने १६ वर्षकी किशोरी छाउगोठमा बलात्कृत भएको विषयबारे संसद्‍मा जानकारी गराउँदै गृहमन्त्री लामिछानेले आगामी दिनमा यस किसिमका घटना हुन नदिन समिति गठन गरिएको जानकारी दिएका हुन् । अछाम घटनाको अनुसन्धान पनि भइरहेको उनले जानकारी दिए । 

'अनुसन्धानलाई पूर्णता दिइ चाँडै नै अदालतमा मुद्दा दायर हुने व्यहोरा जानकारी गराउँछु । पीडित उपचाररत रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको छ । भविष्यमा यस्ता घटना दोहोरिन नदिन छाउपडी प्रथाको अभ्यास भएका जिल्लामा स्थानीय प्रशासनबाट भइरहेका कार्यको समीक्षा गर्ने, निरोधात्मक कार्यक्रम सञ्चालन गर्ने निर्देशन भएको छ,' उनले भने । पीडित उपचाररत रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको गृहमन्त्री लामिछानेले जानकारी दिए । त्यस्तै समिति गठनबारे जानकारी दिँदै गृहमन्त्री लामिछानेले भने, '

आज नै गृह मन्त्रालयले एक समिति बनाइ आजसम्म छाउपडी प्रथा सम्बन्धी भएका, त्यसको अध्ययन सम्बन्धी भएका सबै प्रतिवेदनलाई एकत्रित गरी तिनलाई अध्ययन गरी र विभिन्न व्यक्तिसँग सल्लाह, परामर्श लिइ कानूनी, नीतिगत, सामाजिक, अभियानका रुपमा यसलाई नियमन गर्न, नियन्त्रण गर्न र यो प्रथालाई अन्त्य गर्नेतर्फ कदम चाल्न समिति निर्माण गर्ने र समितिले दिएको प्रतिवेदनमा टेकेर नीतिगत निर्णय गर्ने र विभिन्न अभियान सञ्चालन गर्ने निर्णय गरेका छौँ ।'

कान्तिपुर

Link copied successfully