कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

प्रदर्शनीमा 'सिर्जनाका समवर्ती लहराहरु' [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — सिर्जना कलेज अफ फाइन आर्टस्‌ले 'सिर्जनाका समवर्ती लहराहरु-२०२४' शीर्षकमा कला प्रदर्शनी सुरु गरेको छ । ०७५ देखि 'सिर्जना' शृंखलाका रूपमा सुरु भएको यो प्रदर्शनी सिर्जना कलेज अफ फाइन आर्ट्सले बर्सेनि गर्दै आइरहेको छ । यो प्रदर्शनी-श्रृंखलाको प्रमुख उद्देश्य कलेजमा अध्यापनरत अध्यापकहरू तथा कलेज संस्थापन पक्षसँग आबद्ध कलाकारहरूको सिर्जनात्मक अन्वेषण र उपलब्धिलाई उजागर गर्नु हो ।

यो पटक ज्येष्ठदेखि कनिष्ठ पुस्ताका २८ जना कलाकारहरूका विविध शैली, माध्यम, पद्धति एवम् वैचारिक चिन्तनमा रचित उम्दा पेन्टिङ, ड्रइङ, प्रिन्ट, फोटोग्राफ, पेपर कट्स, इन्सटलेसन, सेरामिक्स, मूर्ति कलालाई प्रदर्शनीमा प्रस्तुत गरिएका छन् । यो वर्ष नेपाली कलाजगतका चार वरिष्ठ कलाकारहरू सर्वश्री शशीविक्रम शाह, वत्सगोपाल वैद्य, कृष्ण मान्नघर तथा मदन चित्रकारको लामो कला-यात्रा र उनीहरूका सिर्जनाका विविध पाटालाई प्रस्तुत गरिएको छ ।

'नेपाली कला क्षेत्रमा उहाँहरूको अतुलनीय योगदान त छँदै छ, यस अतिरिक्त उहाँहरू चारै जनाले विविध कालखण्डमा सिर्जना कलेज अफ फाइन आर्टसमा नेतृत्वकारी भूमिकाको निर्वाह गर्दै कलेजको उत्थानमा अविस्मरणीय योगदान पुऱ्याउनुभएको छ, र यद्यापि पुर्‍याइरहनुभएको छ,' प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ, 'समग्र नेपाली कलाजगत र यस शिक्षण संस्थाप्रति उहाँहरूको योगदानप्रति नतमस्तक हुँदै प्रदर्शनीमा यी चार जना विशिष्ट कलाकारहरूको खण्डलाई 'मास्टरफुल पर्सपेक्टिभ्स : एपिटोम अफ टाइमलेसनेस'को संज्ञा दिइएको छ ।'

बबरमहलस्थित नेपाल आर्ट कासन्सिलको पहिलो तलाको ग्यालरी कक्षमा आयोजित प्रदर्शनीमा सर्वश्री श्यामलाल श्रेष्ठ, राधेश्याम मुल्मी, शारदामान श्रेष्ठ, शरद रञ्जित, गौतम मानन्धर, नवीन्द्रमान राजभण्डारी, सुनिल रञ्जितसँगै युवा पुस्ताका सशक्त कलाकारहरू देविना मल्ल, सम्झना राजभण्डारी, चन्द्रश्याम डंगोल, मनीषलाल श्रेष्ठ,सौरगंगा दर्शनधारी, कृष्णगोपाल श्रेष्ठ, मुकेश श्रेष्ठ, कुलदीप जंगबहादुर गुरुङ, विजय महर्जन, सुर्जमुनि शाक्य, मनोज शाक्य पान्जु, सुगत शाक्य, निपूर्ण बज्राचार्य, सौगात श्रेष्ठका २०० थान कला रचना प्रस्तुत छन् । असार ७ गतेसम्म सञ्चालन हुने यस कला प्रदर्शनीको अन्तिम दिन सिर्जना कलेज अफ फाइन आर्टस्‌का संगीत तथा नृत्य विभागका अध्यापकहरूबाट विविध सांगीतिक एवम् नृत्य प्रस्तुति पनि रहनेछ ।

प्रकाशित : असार ५, २०८१ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्