कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.६७°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

रोल्पा-रुकुममा ‘भूम्या पर्व’ [तस्बिर]

गाउँदेखि सहर र विदेशसम्म लोकप्रिय बन्दै भूम्या
काशीराम डाँगी

रोल्पा — मगर समुदायको परम्परागत एवं लोकप्रिय पर्व भूम्या असार १ देखि रोल्पा–रुकुमका गाउँहरुमा सुरु भएको छ । मगर समुदायको राष्ट्रिय पर्वका रुपमा चिनिएको ‘भूम्या पर्व’ लाई धुमधामसाथ मनाउने चलन छ ।

असार १ देखि कम्तिमा एक सातासम्म नाचगानसहित विभिन्न तरिकाले यो पर्व मनाउने चलन छ । परम्परागत रुपमा भूमिको पूजा र प्रकृतिप्रति प्रेम दर्साउन मगर समुदायले यो पर्वको सुरुआत गरेको भन्ने भनाई छ । मगर समुदायमा विशेष भेला गरेर पर्वकै रुपमा टिकाटालो गर्ने र चेली पुजेर यो पर्व मनाउने गरिएको छ । मगर अगुवाहरुको नेतृत्वमा असार महिनाको पहिलो दिन भूमिको पूजा गरेर यस पर्वको सुरु गर्ने परम्परा रहिआएको छ । भूमि पूजासँगै बोका वा राँगाको बली दिँदा गाउँका सबैभन्दा अगुवालाई उपस्थित गराउने चलन छ । मगर बाहुल्य क्षेत्र रोल्पा र रुकुम लगायतका ठाउँका सहर र भित्री बस्तीमा समेत मगर समुदायले मौलिक तथा परम्परागत तरिकाले यो पर्व मनाउने गरेका छन् ।

जन्मभूमिप्रति प्रेम र आस्था व्यक्त गर्दै पर्वका लागि निकै टाढाबाट घरमा आउने पुरानै चलन छ । गाउँघरमा भेला भएका मगरहरु एकापसमा नाच्दै रमाउने र पाहुनालाई विशेष सम्मान गर्ने चलन छ । कतिपय मानिसहरुले यो पर्वलाई भूमे पर्व भनेर बुझे पनि स्थानीय खाम भाषीले भने ‘भूम्या महोत्सव’ भनेर मनाउने गर्छन् । यो पर्वलाई असार १ देखि ५ गतेसम्म विशेष धुमधामसाथ मनाउने चलन छ । खाम मगर भाषीको बसोबास रहेका गाउँहरु रोल्पाका थबाङ, जेलबाङ, उवा, मिरुल, गाम, पोबाङ, होमा, जंकोट, माडीचौर, कोर्चाबाङ घापा, भाबाङ, धबाङ तथा पूर्वी रुकुमका भूमे, महत, मैकोट, हुकाम, तकसेरा, राङ्सी र काँक्री लगायतका गाउँहरुमा भव्यसाथ यो पर्व मनाउने चलन छ । 

भूम्या पर्व मनाउन दशैं र तिहारमा जसरी टाढा पुगेकाहरु गाउमै फर्कन्छन् भने उनीहरु पर्व मनाउन आयोजना गरिएका विशेष मेलाहरुमा सहभागी हुन्छन् । मगर अगुवाहरुका अनुसार प्रकृतिको पूजा गरेमा अनावृष्टि, अतिवृष्टि र प्रकोपबाट पीडित हुनु नपर्ने विश्वास छ । साथै पर्व मनाउनाले मनोकामना समेत पूरा हुने विश्वास छ । स्थानीय मगरहरुले आफूहरुलाई प्रकृति पुजक मान्दछन् । भूमिको पूजा गरेर सम्मान प्रकट गर्न भूम्या महत्वपूर्ण पर्व भएको विश्वास गर्छन् । भूम्या पर्व मनाउँदा भूमिको पूजा गरेमा दैवी प्रकोपबाट जोगिन सकिने आम विश्वास छ । अझ मगर समुदायमा यो विश्वास बढी छ । खाम भाषी मगरहरुले आदिमकालदेखि मनाउदै आएको यो पर्व निकै पुरानो र परम्परागत एवं मौलिक पर्व पनि हो । यो पटक रोल्पा सदरमुकाम लिबाङमा पनि यो पर्व मनाइएको छ । यसैगरी दाङ, नेपालगन्ज र काठमाडौंमा नेपाल मगर संघको नेतृत्वमा यो पर्व मनाउने चलन छ । 

रोल्पा रुकुमका मगर गाउँहरुमा पछिल्ला वर्षहरुमा यो पर्वलाई आपसी भेटघाट, संस्कृति संरक्षण र महान पर्वका रुपमा मनाउने गरिएको छ । भूम्या पर्वलाई प्रभावकारी र रमाइलो बनाउन असार अघिदेखि नै नाच सिक्ने असार १ देखि औपचारिक रुपमा नाच प्रदर्शन गर्ने चलन छ । महिला र पुरुष संयुक्त रुपमा नाच्न मिल्ने र नाचिने यस पर्वका दिनहरुमा मेलाको समेत आयोजना गर्ने चलन छ । खासगरी नाच प्रतिष्पर्धा र संस्कृतिक झाँकीहरु यस अवसरमा प्रदर्शन गर्ने चलन छ । यस पर्वको महत्व दर्साउन रुकुम पूर्वमा एउटा स्थानीय तहको नाम नै भूमे नामाङकरण गरिएको छ । तीन वटा स्थानीय तह भएको रुकुम पूर्वको भूमे गाउँपालिकाले वर्षेनी धुमधामसाथ भूम्या पर्व मनाउने गरेको छ । गाउँपालिकाको नाम राख्न र पर्वलाई सांस्कृतिक महत्व प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेका भूमे गाउँपालिकाका संस्थापक अध्यक्ष रामसुर बुढामगरले मगर समुदायमा भूम्या पर्व एउटा एैतिहासिक भएको बताए । ‘भूम्यालाई मगर मात्रै होइन, सबैले महत्वसाथ स्वीकार गर्नु राम्रो हुन्छ’ उनले भने । 

भूम्या पर्वको महत्व दर्साउन भूमे गाउँपालिकाले मात्रै होइन, रोल्पाको थबाङमा सधैं विशेष मेला आयोजना गरिन्छ । थबाङ घर भएका नेपाल पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्ष मौसम रोकामगरका अनुसार भूम्या वा स्थानीय मगर भाषामा नाम्क समेत भनिने यस पर्वलाई सबैतिर फैलाउन अन्य समुदायको समेत भूमिमा रहेको छ । थबाङमा भूम्मा पर्व मनाउन र नाच प्रदर्शन गर्न मगर लगायत गैर मगर समुदायको पनि उत्तिकै सक्रियता र सहभागिता रहने गरेको छ । ‘सबैको स्वीकार भएको यो पर्व मगर समुदायको मात्रै रहेन । यो सबैको लोकप्रिय बन्दैगएको छ ।’ उनले भने । पर्व जोगाउन र एैतिहासिक बनाउन स्थानीय युवाहरुले परम्परागत मौलिक चलनलाई जोगाउने गरेका छन् । 

परम्परा अनुसार थबाङमा भूम्या पर्व मनाउने चलन बलि बेग्लै छ । गाउँका मानिसहरु एकै ठाउँमा भेला हुन्छन् र संयुक्त रुपमा नाचगान गर्छन् । खासगरी मगर खाम भाषीहरुले विशेष रुपमा यो पर्व मनाउने चलन भएपनि थबाङमा भने गैरमगर समुदाय पनि सहभागी हुन्छन् । स्थानीय ठूलोगाउँ मुनि रहेको लाँकुरीको रुख छेउ बेलुका भेला भई दलित र मगर समुदायका एक/एक अगुवा जेष्ठ नागरिकको सम्मान गर्ने चलन छ । उनीहरुको सम्मानका निम्ति मगरहरुले बोकाको बलि दिने चलन छ । यसो गर्नाले जेष्ठ नागरिकको ‘मृत्यु टाढिने’ विश्वास रहिआएको छ । मगर अगुवाहरुका अनुसार निकै अघिदेखि यो चलन सुरु भएको थियो । साथै भूमिको पूजा गरेमा गाउँमा सदैव शान्ति र सहिष्णुता कायमै रहने विश्वास छ । पूजाआजा गरेमा वर्षभर मानिस वा पशुपंक्षीमाथि कुनै पनि दैवी प्रकोप आइनपर्ने विश्वास समेत छ । यसका साथै प्रकृतिको पूजापछि बाढी, भूइचालो, पहिरो र चट्याङ पनि नपर्ने विश्वास छ । 

पर्वलाई थप आकर्षक बनाउन गाउँका सबै भेला भएर ठूलो स्थानमा संयुक्त रुपमा नाच्ने चलन छ । यसैगरी बारी र जंगल हुदै विशेषगरी युवा र युवतीको संयुक्त जोडी एकैसाथ दौड्दै नाच्दै गन्तव्यमा पुग्ने चलन छ । गन्तव्यमा पुगेपछि उक्त जोडी बीच प्रेम साटासाट गर्न कपडा वा गहना साटासाट गर्ने चलन छ । युवतीले आफूले लगाएको गहना वा कपडा युवकलाई लगाइदिएपछि मन पराएको भनेर बुझ्ने चलन छ । यसरी नाच्दा सयौं जोडी एकैसाथ दौडेर गन्तव्यमा पुग्नुपर्ने मान्यता रहिआएको छ । सदिऔंदेखि सुरु भई मनाइदै आएको मगरहरुको मौलिक पर्व भूम्यालाई मगर समुदायको पछिल्लो पुस्ताले समेत पछ्याउदै आएको छ । 


प्रकाशित : असार २, २०८१ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्