कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनाङको सडक फेरि क्षतविक्षत [तस्बिरहरु]

आश गुरुङ

लमजुङ — केही दिनयताको बेमौसमी वर्षापछिको बाढी-पहिराले हिमाली जिल्ला मनाङ जोड्ने एकमात्र बेंसीसहर–चामे सडक क्षतविक्षत बनाएको छ । गएको जेठ १४ साथै ३१ र असार १ गतेको भीषण बाढी-पहिरोले क्षतविक्षत बनाएको सडक दसैंअघिमात्रै खुलेको थियो । करिब ४ महिनापछि खुलेको सडक आइतबारदेखि वर्षासँगैको बाढी-पहिरोले पुन: क्षतविक्षत बनाएको छ । बाढी-पहिराले अस्थायी पुल तथा सडकहरु बगाएको छ । केही ठाउँमा मर्स्याङ्दीमा आएको बाढीले कटान गरेको छ ।बेंसीसहरदेखि मनाङसम्मको ६५ किलोमिटरमध्ये लमजुङ खण्डको म्यार्दीसम्म ३५ किलोमिटर छ । उक्त सडक खण्डको केही भागमा बाढी-पहिराले बिगारेको छ । म्यार्दीदेखि मनाङ सदरमुकाम चामेको ठाउँठाउँमा बाढीपहिरोले सडक र अस्थायी पुल बगाएपछि सवारी साधन चल्न सकेको छैन ।

मनाङका डीएसपी सुवास खड्काले चामे गाउँपालिकाको कोतो नजिकैको भीर, थान्चोक र तिमाङबीचको ठाउँमा कतै पहिरो खसेको छ, कतै पहिरो झरेको छ । स्याल्क्युखोलाको अस्थायी काठे पुलमा ठूलो मुढा अड्किएर बगाउने तर्खरमा छ । तिमाङखोलाको अस्थायी काठे पुलको केही भाग बगाएको छ । नासों गाउँपालिकाको दानक्यु नजिकैको अस्थायी काठेपुलमा क्षति पुर्‍याएको छ । बगरछाप एक्लेभट्टी, खोत्रो, निगालाघारीमा ठाडोखोलाले सडक बगाउनुका साथै पहिरो चलाएको छ । उनका अनुसार माथिल्लो मनाङ जाने सडक तलेखुको माथिल्लो क्षेत्रमा मर्स्याङ्दी नदीले कटान गरेपछि सडकमा क्षति पुर्‍याएको छ । भ्राताङदेखि तल र तलेखुदेखि माथिको क्षेत्रमा मर्स्याङ्दीले कटान गर्नुका साथै डुबाएको छ ।प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले बेंसीसहर–चामे सडकको मनाङ खण्ड धेरैजसो ठाउँमा बाढी-पहिराले क्षति पुर्‍याएको बताए । उनका अनुसार सडकको मनाङ खण्डमा मात्रै पुलसमेत गरी १२ वटा ठाउँमा बाढी-पहिरोले क्षति पुर्‍याएको देखिएको छ । ‘हामीले आज (मंगलबार) करिब २५ किलोमिटर अनुगमन गर्‍यौं । बाटो क्षतविक्षत छ’, उनले भने । जेठ असारमा बगाएको सडक मर्मत गरिएकोमा फेरि बगाएको उनले बताए ।

डुम्रे–बेंसीसहर–चामे सडक योजनाका प्रमुख ईन्जिनियर अच्युत विलास पन्तले एकादशीको दिनदेखि दिनदिनै परेको वर्षाका कारण बाढीपहिरो हुँदा सडक अवरुद्ध भएको बताए । लमजुङ खण्डको अर्खलबेंसी, च्याम्चेलगायत क्षेत्रमा बाढीपहिरोले सडकमा क्षति पुर्‍याएपनि अवरुद्ध भने छैन । मनाङ खण्डमा भने सवारी अवरुद्ध भएको उनले बताए । पानी पर्न रोकिएपछि सडक मर्मत थालिने उनले बताए ।

मनाङका प्रमुख जिल्ला अधिकारी आचार्यले पानी पर्न रोकिएपछि एकैदिन सडक मर्मत सक्ने गरी योजना बनाएको बताए । उनका अनुसार भ्राताङदेखि तिमाङसम्म एउटा डोजर, दानाक्यु–बगरछापक्षेत्रमा एउटा डोजर र धारापानी–ताल क्षेत्रमा एउटा डोजर लगाएर सडक मर्मत गरिने बताए । ‘हामी सडक मर्मत गर्न सेना–प्रहरी समेत परिचालन गर्छौं’, उनले भने ।वर्षाले लमजुङको मर्स्याङ्दी गाउँपालिका ७ र ८ क्षेत्रको सडक बगाएको छ । सडक बगाएपछि वडा नं. ८ को भुलभुलेस्थित गाउँपालिकाको कार्यालयसँग वडा नं. ७, ६ र ५ को सडक सम्पर्क टुटेको छ । मर्स्याङ्दीले कटान गर्नुका साथै बाढीले क्षति पुर्‍याएपछि माथिल्लो क्षेत्रका नागरिक गाउँपालिकामा आउन समस्या परेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।

तस्बिर सौजन्य : नेपाल प्रहरी, मनाङ र सशस्त्र प्रहरी मनाङ

प्रकाशित : कार्तिक २, २०७८ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्