कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जुम्लामा घोडा दौडको रौनक [फोटोफिचर]

एलपी देवकोटा

जुम्ला — बडा दसैंअन्तर्गत फूलपातीको दिन जुम्ला सदरमुकाम खलंगामा रहेको राजासिममा मंगलबार घोडा दौड गरिएको छ । परम्परादेखि जुम्लामा चल्दै आएको जुम्ली घोडा दौड प्रतियोगिताले यस वर्ष निरन्तरता पाएको छ । २०५५/०५६ सालमा जुम्ला विमानस्थल पक्की भएपछि परम्परादेखि चल्दै आएको घोडा दौड प्रतियोगिता रोकिएको चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले बताइन् ।

'हरेक वर्ष फूलपातीको दिन जुम्ला एयरपोर्टको धावनर्मागमा घोडा दौंड हुन्थ्यो,' उनले भनिन्, 'धावनमार्ग पिच भएपछि घोडा दौड हराउँदै गएको थियो । तर, विगत ३/४ वर्षयता कर्णाली खेलकुद क्लबले यसलाई निरन्तरता दिइरहेको छ ।' गत वर्ष कोरोना महामारीका कारण रोकिएको घोडा दौडले यस वर्ष पुन: निरन्तरता पाएको छ । जुम्लाको ऐतिहासिक घोडा दौडलाई १७ वर्षपछि कर्णाली स्पोर्ट्स क्लबले निरन्तरता दिँदै आएको कर्णाली स्पोर्ट्स क्लबका अध्यक्ष सरोज शाहीले बताए । '१७ वर्षपछि हामीले निरन्तरता दिँदै आएका थियौं गत वर्ष कोरोनाका कारण हुन सकेको थिएन,' उनले भने, 'पुन: हामीले निरन्तरता दिएका छौं ।'

राजासिममा भएको घोडा दौडमा २३ वटा घोडा थिए । दौडमा सहभागी घोडाहरुको चाल, दौड, पालनपोषण, स्वास्थ्य अवस्था, वर्ष घोडालगायतका उपाधि पनि दिइएको थियो । घोडा दौडमा उपाधि हासिल गर्ने घोड सवार गर्नेलाई काठबाट निर्मित स्थानीय ट्रफीको व्यवस्था गरिएको थियो । यस वर्षको घोडा दौडमा गुठिचौरको मनसुर बोहोराले प्रथम उपाधि हात पारेका छन् ।


प्रकाशित : आश्विन २६, २०७८ १८:११
प्रतिक्रिया
पठाउनुहोस्