काठमाडौँ — भारतीय राष्ट्रिय क्रिकेट टिममा कप्तानी जिम्मेवारीमा हेरफेर गरिने चर्चा चल्दै आएको छ । ट्वान्टी–२० विश्वकपपछि विराट कोहलीले ट्वान्टी–२० र एकदिवसीय क्रिकेटको कप्तानको जिम्मेवारीबाट हट्ने समाचार भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका थिए ।
विराटले टेस्ट टिम र रोहित शर्माले ट्वान्टी–२० र एकदिवसीय टिमको कप्तानी सम्हाल्ने खबर सार्वजनिक भएका थिए । तर भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई) का उपाध्यक्ष राजीव शुक्लाले उक्त समाचार सही नभएको स्पष्टीकरण दिएका छन् ।
भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीमा शुक्लाले भने, ‘यो हल्लामा कुनै सत्यता छैन । भविष्यवाणी गर्नुभन्दा पनि हामीले ट्वान्टी–२० विश्वकपमा ध्यान केन्द्रित गर्नु आवश्यक छ । टिमको कप्तानी दुई खेलाडीबीचमा बाँड्नेबारे केही कुराकानी भएको छैन ।’
बीसीसीआईको छनोट समितिले गत बुधबार आगामी टवान्टी–२० विश्वकपका लागि खेलाडी छनोट गरेको थियो । टिममा रविचन्द्रन अश्विनलाई पनि राखिएको छ । अश्विनले सन् २०१७ मा पछिल्लो पटक ट्वान्टी–२० विश्वकप खेलेका थिए । साथै आगामी विश्वकपका लागि पूर्वकप्तान महेन्द्रसिंह धोनी टिमको ‘मेन्टर’ भूमिकामा देखिनेछन् ।
यसपटक विश्वकप यूएई र ओमानमा हुनेछ । पहिले भारतमा खेल हुने तय भए पनि कोरोनाका कारण आयोजनास्थल सारिएको हो । अक्टोबर १७ बाट सुरु हुने खेल नोभेम्बर २४ मा सकिनेछ । भारतले समूह चरणमै पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
यस्तो छ ट्वान्टी–२० का लागि भारतीय टिम
विराट कोहली(कप्तान), रोहित शर्मा, केएल राहुल, सूर्यकुमार यादव, ऋषभ पन्त(विकेटकिपर), इशान किशान(विकेटकिपर), हार्दिक पान्ड्या, रवीन्द्र जडेजा, राहुल चहर, रविचन्द्रन अश्विन, अक्षर पटेल, वरुण चक्रवर्ती, जसप्रित बुमराह, भुवनेश्वर कुमार, मोहम्मद शामी
रिजर्भमा राखिएका खेलाडी : श्रेयष अय्यर, दीपक चहर, शार्दुल ठाकुर
प्रकाशित : भाद्र २९, २०७८ १२:५९