कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यसरी बन्दै छ संघीय संसद् भवन [तस्बिरहरु]

तस्बिर : बिजु महर्जन

काठमाडौँ — सिंहदरबारस्थित पुतली बगैंचामा निर्माणाधीन संघीय संसद् भवनको भौतिक प्रगति ३२.५ प्रतिशत पुगेको छ । ०७६ असोज १६ गते सम्झौता भइ निर्माण सुरु भएको उक्त भवनको हालसम्मको वित्तीय प्रगति ३० प्रतिशत रहेको आयोजनाले जनाएको छ ।

निर्माणाधीन संसद् भवनको शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले अवलोकन गरेका थिए । अवलोकनका क्रममा विशेष भवन निर्माण परियोजनाका प्रमुख दिलीपशेखर श्रेष्ठले आयोजनाको हालसम्मका प्रगतिबारे जानकारी गराएका थिए । निर्माणाधीन भवनको अवलोकनपछि सभामुख सापकोटाले संसद् भवनको निर्माण कार्यप्रति आफू सन्तुष्ट रहेको बताए । पछिल्ला समय निर्माणमा भइरहेको प्रगतिले खुशी लागेको बताउँदै उनले प्रतिकूलताका बीच पनि निर्माण कार्यले गति लिएको र आगामी दिनमा पनि समन्व्यात्मक ढंगले काम गर्न निर्देशन दिए ।

सम्झौताअनुसार नयाँ संसद् भवन २०७९ असोज १५ गतेभित्र सम्पन्न हुनुपर्नेछ । भवन निर्माण थालिएको २२ महिना भइसकेको छ । कोरोनाका कारण निर्माण अवधि छ महिना थप गरिएको छ । आयोजनाको कूल लागत रु छ अर्ब दुई करोड (भ्याटबाहेक) रहेको छ । आयोजनामा १२ वटा भवनसहित चारवटा गेट र ल्यान्डस्केपिङ पनि हुनेछ । संघीय संसद् भवनमा प्रतिनिधिसभा, राष्ट्रिय सभा, सचिवालय, दलका कार्यालय, पुस्तकालय, चमेनागृहलगायत अत्याधुनिक संरचना हुनेछन् ।

संसद् भवन अत्याधुनिक सुविधासहित नेपाली परम्परागत ढाँचाका हुने आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए । संघीय संसद्का दुवै सदन नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सञ्चालन हुँदै आएका छन् ।


प्रकाशित : श्रावण २२, २०७८ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्