कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माडीमा राखियो राम–सीताको मूर्ति [तस्बिरहरू]

रमेशकुमार पौडेल

चितवन — प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भगवान राम’ जन्मेको दाबी गरेको चितवन माडीको अयोध्यापुरीमा बुधबार राम नवमीका दिन ‘भगवान’ राम, सीता तथा लक्ष्मण र हनुमानको मुर्ति स्थापना भएको छ । हिजो मंगलबार काठमाडौंबाट मूर्ति ल्याएर माडी आउने टोलीलाई प्रधानमन्त्री ओलीले नै बिदाइ गरेका थिए । टोली बुधबार दिउँसो ३ बजे माडी पुगेको थियो ।

मूर्ति ल्याएर आएको टोली हिजो साँझ देवघाटधाममा बसेको थियो । देवघाटमा कालीगण्डकी र त्रिशुली नदीको जलले मूर्तिहरुलाई स्नान गराएर माडीतर्फ लगियो । मूर्ति स्थापना कार्यक्रममा सहभागी हुन पर्यटन तथा संस्कृति मन्त्री भानुभक्त ढकाल हिजो मंगलबार नै चितवन आएका थिए । माडीमा आयोजना भएको कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश २ का प्रदेश प्रमुख राजेश अहिराज पनि सहभागी थिए ।

गत भानु जयन्तीको दिन प्रधानमन्त्री ओलीले रामको जन्म भारतमा नभएर नेपालमा भएको र वीरगञ्जदेखि पश्चिम ठोरीतिर राम जन्मभूमि रहेको मन्तव्य दिएका थिए । उनको यो मन्तव्य विवादमा परे पनि चितवन माडी अयोध्यापुरीमा रामधाम बनाउने योजना अगाडि बढेको थियो । रामधामको गुरुयोजना बन्दै गरेको हुँदा तत्कालका लागि मूर्तीहरु मात्रै अस्थायी मन्दिरमा राखिएको छ ।

आउँदो २०/२२ महिनामा रामधामको गुरुयोजना तयार भएर त्यही योजना अनुरुपको भव्य राम मन्दिर बनाउने अयोध्याधाम व्यवस्थापन समितिका अध्यक्ष तीर्थ भुषालले बताए । पछि त्यही मुख्य मन्दिरमा यी मूर्तिहरु राखेर प्राण प्रतिष्ठा हुने छ ।

सदरमकाम भरतपुरदेखि झण्डै ४५ किलो मिटर दक्षिण पश्चिम माडी नगरपालिका–९ अयोध्यापुरीको कृष्णनगर बगैंचामा रामधाम बनाउन सय विघा जग्गा उपलब्ध भएको छ । अहिले त्यसैको आडमा मूर्ति राख्ने अस्थायी मन्दिर बनेको छ अयोध्याधाम व्यवस्थापन समितिको प्रचारप्रसार उपसमितिका संयोजक श्रीप्रसाद दवाडीका अनुसार प्रदेश सरकारले उपलब्ध गराएको १४ लाख रुपैयाँ खर्च गरेर अस्थायी मन्दिर तयार भएको हो ।

प्रकाशित : वैशाख ८, २०७८ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्