कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'पहिलो अँगालो'ले जित्यो 'वर्ल्ड प्रेस फोटो अफ द इयर'को अवार्ड

कान्तिपुर संवाददाता

काठमाडौँ — यस वर्ष डेनमार्कका फोटोपत्रकार म्याड्स निसेनको फोटोले वर्ल्ड प्रेस फोटो अफ द इयरको अवार्ड जितेको छ । निसेनको ‘पहिलो अँगालो’ शीर्षकको तस्बिरले यस वर्षको उत्कृष्ट फोटोको अवार्ड हात पारेको हो ।

वर्ल्ड प्रेस फोटो अफ द इयरको अवार्ड जितेको म्याड्स निसेनको फोटो

निसेनले कोरोनाबाट अति प्रभावित मुलक ब्राजिलको साओ पाओलोस्थित एक स्याहार केन्द्रमा एक जना वृद्ध महिलालाई नर्सले अँगालो हालेको तस्बिर खिचेका थिए । उक्त तस्बिरमा ८५ वर्षीया रोजा लुजिया लुनार्डीलाई नर्स एड्रियाना सिल्भा डा कोस्टा सुजाले अँगालो हालेको देखिन्छ । रोजालाई ५ महिनापछि कसैले अँगालो हालेको थियो । कोरोनाका कारण ब्राजिलका सबै स्याहार केन्द्रमा बाहिरका मानिसलाई आउन रोक लगाइएका कारण पनि रोजालाई कसैले भेट्न पाएको थिएन ।भर्चुअल रुपमा गरिएको अवार्ड घोषणापछि फोटोपत्रकार निसेनले भने, ‘सबैभन्दा कष्टकर समयमा यो एउटा आशा र मायाको कथा हो । जब ब्राजिलमा संकटको बादल मडारिँदै थियो, राष्ट्रपति बोल्सोनारोले यसलाई सुरुवातदेखि नै सानो ज्वरो त हो नि भन्दै बेवास्ता गरिरहेका थिए ।’

फोटो अनलाइन भिडियो अफ द इयर याङ सेन्लाई र ताङ चियाओलानको ‘कलिङ ब्याक फ्रम वुहान’ ले जितेको छ । जसमा विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको इपिसेन्टर मानिएको वुहानमा एक जनाले कोरोना संक्रमितलाई क्वारेन्टाइनमा राख्नका लागि परामर्श गरिरहेको दृश्य रहेको छ ।

समसामयिकतर्फ अर्जेन्टिनी फोटोपत्रकार पाब्लो टोस्कोको तस्बिरले प्रथम पुरस्कार जितेको छ । उक्त तस्बिरमा लामो समयदेखि द्वन्द्वग्रस्त मुलुक यमनकी एक महिलाको दैनिकी देखाइएको छ । यमनी महिला फातिमा र उनका छोराले डुंगामा बसेर माछा मार्नका लागि जाली तयार गरिरहेको तस्बिरले यो अवार्ड जितेको हो ।

त्यस्तै फ्रान्समा बसेर फ्रिल्यान्सिङ गर्ने जेरेमी लेम्पिनको ‘डक्टर पेयो एन्ड मिस्टर हासेन’ ले यस विधाको दोस्रो पुरस्कार पाएको छ । तस्बिरमा मेटास्टेटिक क्यान्सरबाट पीडित २४ वर्षीया महिला मेरियनले ७ वर्षीय छोरा इथानलाई अँगालो हालेको र पेयो नामक घोडाले थेरापीका लागि सघाएको छ ।

समसामयिक विधातर्फ तेस्रो पुरस्कार जितेको अर्मेनियाली फोटोग्राफर भाघिनाक घाज्र्यानको तस्बिर । यसमा अजरबैजानसँगको युद्धका क्रममा खटिएका एक अर्मेनियाली सैनिक बंकरमा आराम गरिरहेको देख्न सकिन्छ ।

क्यालिफोर्नियामा सि लायन उत्सुकतासाथ मास्कतर्फ अगाडि बढ्दै । राल्फ पेसले खिचेको यो तस्बिरले वातावरणतर्फको पहिलो पुरस्कार जितेको छ ।

म्यानमारको कचिन राज्यको एउटा पहाडको आधा भारगमा रहेको गुम्बा र अर्को भागमा पत्थरका लागि एक्स्काभेटर लगाएर उत्खनन् गरिँदै । ह्कुन लातको यो तस्बिरले वातावरणतर्फको दोस्रो पुरस्कार जितेको छ ।

बंगलादेशको सुन्दरवनमा रहेको एउटा गाउँकी महिलाले कपडाले छानेर वर्षाको पानी संकलन गर्दै । के एम असदले खिचेको यो तस्बिरले वातावरणतर्फको तेस्रो पुरस्कार जितेको छ ।

यस वर्ष फोटो स्टोरीतर्फको अवार्ड इटालीका फोटोपत्रकार एन्तोनियो फाचिलोंगोले जितेका छन् । एन्तोनियोको ‘हबिबी’ शीर्षकको फोटोकथाले यस वर्षको उत्कृष्ट फोटो कथाको अवार्ड हात पारेको हो । एन्तोनियो उक्त फोटो कथामा लामो समयदेखिको इजरायल–प्यालेस्टाइनबीच द्वन्द्वले पारेको प्रभावलाई चित्रण गरेका थिए । उनले इजरायली–प्यालेस्टाइनी युद्धका कारण प्यालेस्टाइनी परिवारले भोगेका पीडा प्रस्तुत गरेका थिए ।

यस पटक फोटो कन्टेस्टतर्फ नेपालकी नयनतारा गुरुङ कक्षपति जुरी चेयर थिइन् भने डिजिटल स्टोरीटेलिङतर्फ मुयी चियाओ जुरी चेयर थिइन् । तस्बिर सौजन्य : वर्ल्ड प्रेस फोटो


प्रकाशित : वैशाख २, २०७८ २२:०३
प्रतिक्रिया
पठाउनुहोस्