कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रिशूलीमा बन्दै गरेको पुल भत्कियो [तस्बिरहरू]

रमेशकुमार पौडेल

चितवन — चितवनको ठिमुरा र तनहुँको देवघाटको घिनाघाट जोड्ने त्रिशूली नदीमाथि बन्दै गरेको मोटर गुड्ने पुल भत्किएको छ । मंगलबार बिहान चार बजेतिर पुल भत्किएको स्थानीयले बताएका छन् ।

भरतपुर डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालले भने पुल भत्केको जानकारी आएको र थप विषय बुझ्न बाँकी नै रहेको बताएका छन् । चितवन र तनहुँ जिल्ला मात्रै नभएर वाग्मती र गण्डकी प्रदेशलाई पनि जोड्ने यो पुलको लम्बाइ २ सय मिटर रहेको छ ।

‘पुलका चारवटा स्पान हुन्छन् । कंक्रिटका ४०/४० मिटरका तीनवटा र स्टिलको एउटा ४० मिटरको स्पान पुलमा रहन्छ । देवघाटतर्फ रहने एउटा स्पान र ठिमुरातर्फ रहने दुईवटा स्पानको ढलान भइसकेको छ । बीचमा रहने कंक्रिटको स्पान राख्न बाँकी छ । ढलान भएकोमध्ये ठिमुरा तर्फका दुईवटा कंक्रिटको स्पान नदीमा खसेको हो,’ सूचना अधिकारी इन्जिनियर शिव खनालले भने ।

आउँदो जेठभित्र निर्मण सक्ने गरेर धमाधम काम भइरहेका बेलामा यस्तो घटना भएको डिभिजन सडक कार्यालयका प्रमुख कृष्णराज अधिकारीले बताए । पुलको शिलान्यास २०७१ सालमा भएको थियो । पुल निर्माणको ठेक्का इलाइट, एडभेन्चर र इन्द्रेणी जेभीले संयुक्त रुपमा पाएका थिए ।

पुल निर्माणको कुल लागत १९ करोड रुपैयाँ रहेको उनले बताए । ‘ढलानपछि केही मुख्य काम बाँकी रहेका बेलामा खसेको छ । कारण के हो बुझ्दै छौं,’ प्रमुख अधिकारीले भने । यो पुललाई अघिल्लो वर्ष पनि बाढीले असर गरेको थियो ।


प्रकाशित : चैत्र २४, २०७७ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्