साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता हामीलाई उत्कृष्ट लागेका सात तस्बिरहरु । दशरथ रंगशालामा भएको थ्री नेसन्स कपको फाइनल खेलपछि सन्यास लिएका नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान विराज महर्जन । तस्बिर : हेमन्त श्रेष्ठ

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौंको भृकुटिमण्डपमा निर्मित ढुंगेधारा खोलेर मेलम्ची खानेपानीको औपचारिक उद्घाटन गर्दै । तस्बिर: बिजु महर्जन

मकवानपुरको बकैया गाउँपालिका–५ राजदमार क्षेत्र मा शुक्रबार लागेको डढेलो । तस्बिर : किरण पाण्डे

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बिना मास्क उपस्थित भएका सांसदहरु । स्वास्थ्य मन्त्रालयले बारम्बार मास्कको प्रयोग, सामाजिक दूरी, हात धुने, स्यानिटाइजरको प्रयोग तथा स्वास्थ्य मापदण्ड अपनाउन अपिल गरेपनि सांसदहरुले भने टेरेका छैनन् । छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि सजकता अपनाउन भनिएको छ । तस्बिर :अंगद ढकाल

राजधानीको वसन्तपुरमा होलीको उमङमा रमाउदै युवाहरु । तस्बिर: एलिट जोशी

बुधबार साँझ पानी परेर मौसममा आंशिक सुधार आएपछि धरहराबाट देखिएको काठमाडौं उपत्यका । नेपालभरी डढेलो बढेकाले चैत १३ गतेदेखि उपत्यका लगायत देशभरको वायुमण्डल घातक तुवाँलोले ढाक्दा घाम लाग्न सकेको थिएन । तस्बिर : दीपेन्द्र रोक्का ।

काठमाडौं तराई जोड्ने ७२.५ किलोमिटर लम्बाईको द्रूत मार्ग (फास्ट ट्रयाक) । नेपाली सेनाले २०७४ वैशाख २१ गतेदेखि निर्माणको जिम्मा पाएको यो राष्ट्रिय गौरवको आयोजनाको ट्रयाक खोल्ने काम भएपनि सुरुङ मार्गको पुलको ठेक्का हालसम्म लाग्न सकेको छैन । तस्बिरः किरण पाण्डे ।


प्रकाशित : चैत्र २१, २०७७ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्

कम तौलको स्टील/डन्डी बेच्दै राजेश हार्डवेयर, बालाजुको सटर शिलबन्दी

कान्तिपुर संवाददाता

काठमाडौँ — बालाजुमा रहेको राजेश हार्डवयरले कम तौलका फलामे डन्डी बिक्री गरेर उपभोत्ता ठगी गरेको पाइएको छ । सागरमल अग्रवालको नाममा दर्ता रहेको राजेश हार्डवेयरको बालाजु शाखाले बिलमा उल्लेखित परिमाणभन्दा कम डन्डी लगायतका फलाम जन्य सामग्री बिक्री गरेको पाइएको हो ।

गुणस्तर तथा नापतौल विभागका क्षेत्रीय कार्यालय प्रमुख मनिशकुमार दासका अनुसार उक्त हार्डवेयरबाट उपभोक्ताको उजुरी परेको थियो । तर, प्रमाण फेला गर्न सकेको थिएन । शुक्रबार उपभोक्ताले खरिद गर्दा पुन: शंका लागेपछि प्रहरीकोमा पुर्‍याएका थिए । त्यसपश्चात् ठगी गररहेको पुष्टि भएको हो । ‘उपभोक्ताहरु आफैंले बालाजु प्रहरी चौकीमा लगेका थिए । त्यसक्रममा हार्डवयरका कर्मचारीले गल्ती स्वीकार गरेको छ,’ दासले भने, ‘बिलमा एक सय किलो उल्लेख गरेर ९० किलोसम्म मात्रै दिने गरेको देखियो । यो सरासर ठगी नै हो ।’ उपभोक्ताले प्रहरी चौकीमा पुर्‍याएपछि शुक्रबार सामान्य मुचुल्का बनाएर राखिएको थियो । शनिबार वाणिज्य आपूर्ति तथा उपभोक्ता सरक्षण विभाग, गुणस्तर तथा नापतौलको टोलीसमेत पुगेपछि डन्डीजन्य सामग्री तौल गर्दा बिलअनुसार कम देखिएको थियो । वाणिज्य विभागका प्रवक्ता शिवराज सेडाईंका अनुसार तौल गर्दा १० देखि १५ प्रतिशतसम्म कम देखिएको थियो ।

‘प्रहरीमा पुगेपछि वाणिज्यमा पनि खबर आयो । सामान आउटलेटमै लगेर पुन: तौल गर्दा १० देखि १५ किलोसम्म फरक परेको देखियो । बिलमा ९८ किलो लेखिए पनि तौल गर्दा ७८ किलो/८१ किलोसम्म मात्रै देखियो,’ प्रवक्ता सेडाईंले भने, ‘थप अध्ययनका लागि सम्पूर्ण कागजातसहित २४ घण्टाभित्र विभागमा उपस्थित हुन निर्देशन दिएका छौं । त्यसपश्चात् कडा कारबाही हुन्छ ।’

विभागले तौल गरिएको वस्तुहरु नियन्त्रणमा लिई शिलबन्दी गरेर बिक्री वितरणमा रोक्का गरेको छ । उक्त शाखाका प्रमुख कमल शर्मा (भारतीय नागरिक) प्रहरी हिरासतमै रहेको सेडाईले जानकारी दिए । राजेश हार्डवयरले विभिन्न कम्पनीको रड, स्टिल लगायतका सामग्री बिक्री गर्दै आएको छ । उक्त हार्डवयरको १८ वटा आउटलेट रहेको वाणिज्यले जनाएको छ ।

प्रकाशित : चैत्र २१, २०७७ १९:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×