कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मास्कबिनै बैठकमा निर्धक्क बस्छन् सांसदहरु [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — छिमेकी देश भारतसँगै नेपालमा पनि पछिल्लो समय कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दो क्रममा छ । पुन: संक्रमणले भयावह स्थिति नलियोस् भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन निरन्तर अपील गरिरहेको छ ।

उपत्यकाका तीनै जिल्लासहित देशभरका सम्बन्धित सरकारी निकायहरुले सार्वजनिक ठाउँमा हिँड्‌डुल गर्दा अनिवार्य मास्क लगाउन भनिसकेका छन् । तर, जनप्रतिनिधिका रुपमा रहेका कतिपय संघीय सांसदहरुले मास्क नलगाउने र लगाए पनि हेलचेक्र्याइँ गरेको दृश्य बुधबारको प्रतिनिधिसभा बैठकमा देखियो ।

मास्कको प्रयोग, सामाजिक दूरी, हात धुने, सेनीटाइजरको प्रयोगजस्ता स्वास्थ्य मापदण्ड तोकिएको छ । केही सांसदहरु निर्धक्क बिनामास्क बसिरहेका थिए भने कसैले मुखमा सिधै हात लग्ने, नाक कोट्याउने, मास्कको प्रयोग राम्रोसँग नगर्ने लगायतका क्रियाकलाप गरिरहेका थिए ।

नेपालमा पछिल्लो २४ घण्टामा १६२ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार ३ सय ९ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ९ सय १९ पीसीआर परीक्षण भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, २४ घण्टामा ५९ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७२ हजार ७ सय ८६ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३० छ । त्यस्तै १ हजार ४ सय ९३ जना आइसोलेसनमा र ५९ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख ७१ हजार ३ सय २७ पीसीआर परीक्षण भएका छन् ।


प्रकाशित : चैत्र १८, २०७७ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्