कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आहालमा मस्त गैंडा [तस्बिरहरू]

रमेशकुमार पौडेल

काठमाडौँ — एकसिंगे गैंडा प्राय एक्लै हिँड्छ । सँगै देखिने भनेको माउ बच्चा हुन् । तर मंगलबार मध्यान्ह एउटा ६ वटा गैंडा एकै ठाउँ भेटिए । गैंडाका लागि चरन जस्तै महत्वपूर्ण आहाल पनि हो । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा पर्ने नवलपुर तमासपुरको ठूलो पोखरा मध्यवर्ती सामुदायिक वनको पोखरी तालमा आहाल बस्न गैंडाहरु झुम्मिने गरेका छन् ।

तमासपुर रेञ्जपोस्टमा कार्यरत कर्मचारी र सुरक्षाकर्मीले कुनै बेला ८ वटासम्म गैंडा आहाल खेल्दै गरेको भेटेका छन् । सिनियर गेमस्काउट ललित मल्लका अनुसार वनमा पहिल्यैदेखि ताल थियो । दुई वर्षअघि मर्मत गरेपछि त्यहाँ गैंडाहरु झुम्मिन थालेका छन् । निकुञ्जको सिमानाभन्दा झण्डै ६ किलो मिटर उत्तरमा सो ताल छ । निकुञ्जबाट निस्केर चर्दैचर्दै गैंडाहरु गर्मी बढेपछि आहाल बस्न त्यहाँ जाने गर्दछन् । पूर्व–पश्चिम राजमार्गदेखि सो ठाउँ झण्डै ५ किलोमिटर दक्षिणमा छ । सो ठाउँको वन क्षेत्रमा गैंडाले रुचाउने घाँस पनि छ । अन्यत्र जस्तो होहल्ला नहुने र चर्नलाई घाँस, पिउन तथा आहाल बस्न घोल पनि भएका कारण गैंडाहरु त्यता जाने गरेका छन् । एकसिंगे गैंडा विश्वमा लोप हुन लागेको दुर्लभ वन्यजन्तु हो ।

वि.सं. २०७२ सालको वैशाखमा सार्वजनिक भएको गैंडा गणनाको नतिजा अनुसार देशभर ६४५ वटा एकसिंगे गैंडा छन् । सवैभन्दा बढी गैंडा चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासको वन क्षेत्रमा छन् । त्यो बेला यो क्षेत्रमा ६०५ वटा गैंडा भेटिएका थिए ।


प्रकाशित : चैत्र ५, २०७७ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्