२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

पहिलोपटक रारा पुग्दा [फोटोफिचर]

२१ तस्बिरमा रारा
शब्द तथा तस्बिर : अंगद ढकाल

काठमाडौँ — नेपालमा घुम्नैपर्ने स्थानमध्ये एक हो रारा ताल । २०२० सालमा रारा भ्रमणमा पुगेका तत्कालीन राजा महेन्द्रले यसलाई स्वर्गकी अप्सरा उपमा दिएका थिए । मुगु जिल्लामा अवस्थित रारा ताल नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । समुद्र सतहदेखि २,९७२ मिटर उचाइमा रहेको ताल १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ भने लम्बाइ ५ किलोमिटर र चौडाइ ३.२ किलोमिटर छ । तालको गहिराइ १६७ मिटर छ ।

रारा तालबारे सुन्दै र पढ्दै आएको म पहिलोपटक घुम्न जान पाएँ । रारा घुम्न जाने भन्नेबित्तिकै मनमा उमंग र उत्साह छायो । दिनभरिमा आफ्नो रुप फेरिरहने रारा, स्वर्गकी अप्सराझैं देखिने रारा र जैविक विविधताले भरिपूर्ण ताललाई क्यामरामा कैद गर्न पाउँदा म साँच्चिकै उत्साहित थिएँ ।

हाम्रो यात्रा काठमाडौंदेखि सिधै ताल्चा एयरपोर्टको थियो । रारा जाने दिन बिहानै सूचना आयो– त्यस क्षेत्रमा पानी र भारी मात्रामा हिउँ परिरहेको छ । त्यसपछि मन त्यसै डरायो । ओहो !जहाज अवतरण गर्न सकेन भने कतै हाम्रो यात्रा स्थगित हुने त होइन । चारैतिर हिउँले घेरिएको रारा ताल हेर्ने हुटहुटीले डरलाई जितिरहेको थियो । यदि ताल्चा एयरपोर्टमा विमान अवतरण भएन भने नेपालगन्ज गएर बस्ने र भोलिपल्ट माथि जाने कुरा भएको थियो । अन्तत: त्यस्तै भयो ।

मौसम खराबीका कारण पहिलो दिन नेपालगन्ज नै बसियो । भोलिपल्ट बिहान ७ बजे नै ताल्चा एयरपोर्ट उडियो । नेपालगन्जदेखिको ताल्चा एयरपोर्टसम्मको हवाईयात्रा साँच्चिकै अविस्मरणीय रह्यो । अघिल्लो दिन परेको भारी हिमपातले त्यस क्षेत्रको पहाडी र हिमाली क्षेत्र सेताम्मै थियो । त्यो यात्रा वास्तवमै मेरो जीवनको अहिलेसम्मकै अद्भूत यात्रा रह्यो ।

यही यात्राका दौरान डोल्पा जिल्लामा अवस्थित नेपालको सबैभन्दा गहिरो ताल फोक्सुण्डो तालको अवलोकन गर्ने अवसर जुर्‍यो ।

ताल्चा एयरपोर्ट अवतरणपछि मिलिचौरसम्मको गाडीको यात्रा जोखिमपूर्ण थियो । हिउँले पुरिएको बाटोको यात्रा साहसिक रह्यो । हिउँले सेताम्मे मिलिचौर पुग्दा मन आनन्दित भयो ।

मिलिचौरदेखि तालसम्मको जंगलको यात्रा पनि रमणीय थियो । ढुगां छापेको बाटोभरि हिउँ नै हिउँ । सालको रुखबाट हिउँ पग्लिएर झर्दै गरेको आवाज सुन्दै अगाडि बढ्दा ताल पुगेको त पत्तै भएन । अहिलेसम्म फोटोमा मात्र हेर्दै आएको रारा ताल आँखै अगाडि देखियो । चारैतिर सेताम्मे हिमाल, पहाडै पहाडले घेरिएको ताल र त्यो गाढा निलो तालको पानीमा टल्किरहेको सेतो हिमालको छाया देख्न पाउनुको आनन्द बेग्लै थियो ।

मुर्मा टपबाट हिउँले घेरिएको निलो रारा झनै मनमोहक देखिन्थ्यो । ३६० डिग्रीमा देखिने साइपाल, सिस्ने र काञ्जिरोवा हिमाल र त्यसको बीचमा रहेको राराको दृश्य जति हेरे पनि हेरिरहुँ लाग्ने । जति फोटो खिचे पनि के नपुगे के नपुगे जस्तो महसुस हुने । कोही घोड सवारीमा व्यस्त, कोही फोटो खिच्नमा, कोही डुंगा सयरमा, कोही हिउँ खेल्नमा व्यस्त । सबैजना आ–आफ्नै धुनमा व्यस्त । रारा घुम्न आएका अधिकांश आन्तरिक पर्यटक थिए । त्यो देख्दा लाग्यो हाम्रो पर्यटन उद्योग अब आन्तरिक पर्यटनले पनि धान्‍न सक्छ । राति १० बजेसम्म पनि घुम्न आउने पर्यटकहरु ओइरो लागेको थियो ।

रारा पुग्न अहिले पहिलोको जस्तो गाह्रो छैन । मोटरबाटो खुलेसँगै निकै सहज भएको छ । तर बासको भने अभाव खड्किन्छ । सहज र पर्याप्त बसोबासको प्रबन्ध नहुँदा यात्रा केही कष्टकर हुन सक्छ । तर पनि राराको सौन्दर्यले केही क्षणकै लागि सही सब दु:ख कष्ट बिर्साइदिन्छ ।


प्रकाशित : चैत्र २, २०७७ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्