पठाओकी शोभा [फोटोफिचर]

तस्बिर: बिजु महर्जन

काठमाडौँ — शोभा श्रेष्ठ बिहान अफिस जाँदा, आउँदा पठाओ चलाउँछिन् । उनी पठाओ राइडर भएको झन्डै २ वर्ष भयो । उनी फरक सक्षमता भएकी पठाओ राइडर हुन् । पठाओका ग्राहकहरु राइड लिन बोलाउँछन् र उनको स्कुटरका थप दुई पांग्रा देखेर मुख अमिलो बनाउँछन् । तलदेखि माथिसम्म हेर्छन्, थुप्रै प्रश्न पनि सोध्छन् । तर उनलाई आफू फरक सक्षमता भएको व्यक्ति हुनुमा कुनै पश्चाताप नभएको बताउँछिन् ।

फुरकोट आहालेको भानु–८ तनहुँमा जन्मिएकी उनी पढाइको सिलसिलामा काठमाडौं आएकी हुन् । हाल आरआर क्याम्पसमा अंग्रेजी विषयमा स्नातकोत्तर गर्दै छिन् । उनी ९ महिना जतिकी हुँदा आमा बुबाले उनको खुट्टामा समस्या छ भनेर थाहा पाए । सिधा उभिनै उनलाई गाह्रो हुन्थ्यो । परिवारसहित उनी त्यतिखेर भारतमै बस्थिन् । डाक्टरले पोलियो भने । उनको शरीर बिस्तारै सुक्दै जान थाल्यो, खुट्टा निकै छोटो भयो । घरबाट स्कुल निकै टाढा थियो, हिँड्डुल गर्ने नसक्ने भएका कारण आफन्तकोमा बसेर पढिन् । तीन वटा बैशाखी कामै नलाग्ने भए । पछि त उठ्न बस्न नै गाह्रो भयो । मान्छे बढ्दै जाने तर खुट्टा भने बढेन । एकदिन कृष्ण प्रणामी धर्म मान्नेहरुले पोलियो लागेका व्यक्तिमा पनि अपरेसनपछि निको हुने भनेर स्कुलमा सूचना पठाए । त्यतिखेर उनी १० कक्षामा पढ्थिन् । उनी तुरुन्त तयार भइन् । उनलाई जसरी भएपनि बैशाखी छोड्न मन थियो । बैशाखी टेकेर हिँड्दा कति लुगा च्यातिए । काखीमा असह्य घाउ पनि भए । उनी दुई साथीसहित काठमाडौं उपचारका लागि आइन् । उनीहरुको उपचार सम्भव देखिएन । उनको भने उपचार हुने भयो ।

अपरेसनका लागि नाम लेखियो । खुट्टा पहिलाभन्दा तन्कियो । अहिले पनि बराबरी छैन तर बैशाखीको साथ भने छुट्यो ।

अहिले पनि कसैलाई बैशाखी टेकेर हिँडेको देख्दा, पानी पर्दा छाता ओढ्न नसकेका दिनहरु सम्झिँदा मन अमिलो भएर आउँछ । शोभाले १३ वर्ष शिक्षण गरिन् । पछि अरु क्षेत्रबारे बुझ्न त्यो पेसा छोडिन् । सरकारी जागिर खानका लागि लोकसेवामा पनि परीक्षा दिइन् तर उनको नाम त्यहाँ निस्केन । आफू फरक सक्षमता भएको व्यक्ति भएपनि उनलाई यसबारे केही थाहा थिएन । एकदिन लोकसेवाको परीक्षा दिएर फर्किँदै गर्दा उनले बाटोमा अपांगता दिवसका दिन सडकमा निस्केको र्‍याली देखिन् । आफू पनि त्यही र्‍यालीमा नजानिँदै सहभागी भइन् । र्‍याली मन्त्रालयमा गएर सकियो ।

एउटा संस्थामार्फत अपांग व्यक्तिका लागि ३ महिने व्यक्तित्व विकासको नि:शुल्क तालिम दिँदै रहेछ । आफ्नो लागि आफैले कसरी रोजगारी खोज्ने, त्यसको तयारी कसरी गर्ने भन्ने कुरा त्यहाँ सिकाइयो । यसले उनको आत्मविश्वास धेरै बढायो । सोही संस्थामार्फत उनले नयाँ जागीरका लागि अन्तर्वार्ता पनि दिइन् । १३ वर्ष शिक्षण पेशामा बिताएकी उनलाई एउटा विद्यालयमा लेखा शाखाका लागि पठाइयो । एकाउन्टबारे उनलाई केही थाहा थिएन र सिक्नका लागि तयार भएको पनि बताइन् । विद्यालयमा जागिर पाइन् । तर कोभिडको प्रभावले स्कुल बन्द भयो । लकडाउनपछि बोलाउने कुरा थियो । बोलाइएन । अपांगता संरक्षण नेपाल संस्थाले उनलाई इन्टर्नसिपका लागि बोलायो । उनी हाल त्यहीँ कार्यरत छिन् ।

बैशाखी छाडेपछि पनि उनका दिनहरु सजिला भएनन् । अरुको दाँजोमा उनका दैनिकी कष्ठकर नै रहे । राजधानीमा यातायात चढ्न एक सामान्य मानिसकै लागि चुनौती हो ।अपांगता भएको व्यक्तिका लागि त महाभारत भन्दा कम छैन । एकदिन बाटोमा हिँड्दा उनले चार पांग्रे स्कुटर देखिन् । उनलाई पनि स्कुटर किन्ने सोच आयो । स्कुलमा पढाउँदा जोगाएको पैसाले रक्सौल गएर स्कुटर किनिन् । नेपाल सरकारले अपांगता भएको व्यक्तिका लागि भन्सार छुट दिएको रहेछ । केही दिनमा स्कुटर सिकिन् ।

उनले पठाओका बारेका एक साथी मार्फत थाहा पाइन् । पठाओमा राइडर भएर काम गर्दा राइड रिक्वेस्ट आउँदा आफ्नो फोर ह्विलर भएको सुनेर कैयौं पटक फोन काटिएको, स्कुटरमा चढ्न आनाकानी गरेको उनी बताउँछिन् । तर कोहीकोही भने उनलाई देखेर इन्सपायर हुन्छन् ।

पहिला बैशाखीका कारण उनलाई आफ्नो गन्तव्यसम्म पुग्न गाह्रो पर्‌थ्यो तर अहिले उनले सबैलाई आफ्नो गन्तव्य सम्म पुर्‌याउँछिन् ।

अहिले पनि मानिसहरुलाई अपांगताबारे जानकारी छैन । विशेषगरी महिलाहरु आफ्नो अवस्था पनि अरुलाई देखाउन लाज मान्छन् । आफूले आँट्यो भने सफल भइन्छ भन्ने कुरा बिर्सन्छन् । शोभा आफूजस्तै अपांगता भएका महिलाहरुका लागि थुप्रै काम गर्न चाहन्छिन् ।


प्रकाशित : फाल्गुन २४, २०७७ १८:००
प्रतिक्रिया
पठाउनुहोस्

अज्ञात समूहद्वारा विद्यालयमा आगजनी

सुनसरी — धरान–१७ पटनालीस्थित ज्वालामुखी माध्यमिक विद्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । सोमबार बिहानको २ बज्न लाग्दा स्थानीयले विद्यालयमा आगलागी भइरहेको देखेका थिए । आगलागीको कारण खुल्न सकेको छैन । 

अज्ञात समूहले आगजनी गरेको धरानको ज्वालामुखी माध्यमिक विद्यालय । तस्बिर: प्रदीप मेन्याङ्बो/कान्तिपुर 

स्कुलको अफिस बाहिर भर्‍याङ, मट्टितेल हालिएको बोतल र त्यसमा लगाउने बिर्को भेटिएकाले कसैले आगजनी गराएको हुन सक्ने इलाका प्रहरी कार्यालय धरानका डीएसपी ज्ञानेन्द्र बस्नेतले बताए ।

आगलागीबाट करिब २० लाख रुपैयाँको भौतिक क्षति भएको बताइएको छ । धरानको भानुचोकबाट करिब ६ किलोमिटर पश्चिमोत्तरमा पर्ने पटनालीको उक्त विद्यालय धरान–बराहक्षेत्र जाने सडक खण्डमा पर्छ ।

आगलागीबाट विद्यालयको दुईथान ल्यापटप, तीनवटा दराज, नगद ९० हजार रुपैयाँ, प्रिन्टर एकथान र शिक्षक र प्रअ बस्ने कुर्सी टेबल जलेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । प्रनाउ बस्नेतले भने, ‘आगलागीको कारण खुल्न सकेको छैन । अनुसन्धान गरिरहेका छौं । तर विद्यलाय प्रवेश गर्ने मख्य गेट, अफिस छिर्ने चेनगेट, अफिसको बाहिरबाट ताला लागेर बन्द रहेको अवस्थामा आगलागी हुनु शंकास्पद देखिएको छ ।’

उनले अनुसन्धानको दायरा फराकिलो बनाउनु पर्ने अवस्था देखिएको बताए । स्कुलको अफिस बाहिर भर्‍याङ, मट्टितेल हालिएको बोतल र त्यसमा लगाउने बिर्को पनि भेटिएकाले कसैले आगलागी गराएको हुन सक्ने प्रनाउ बस्नेतले बताए ।

शिक्षक र प्रधानध्यापकको कक्ष कोठामा भएको आगलागीबाट स्थापनाकालदेखिको स्कुलको सबै रेकर्ड जलेर खरानी भएको छ ।

शैक्षिक संस्थाको कार्यालय जलाउनु पर्ने खासै कारणबारे स्थानीय अभिभावक, शिक्षक र प्रअले बताउन सकेका छैनन् । तर प्रहरीले भने विद्यालयको ०५४ सालदेखि हालसम्म रहेका सबै अभिलेख, माइन्युट बुक, चेक, फर्निचर लगायत सबै खरानी हुने गरी जलाउनु पर्ने कारणको खोजी भइरहेको जनाएको छ । उनले भने, ‘विद्यालयको हिसाब किताब तलमाथि गरेर आर्थिक अनियमितताको कारण कर्मचारीले नै पनि जलाउन सक्छन् वा विभिन्न परीक्षामा कम अंक दिएको निहुँमा चित्त नबुझाएका विद्यार्थीले पनि जलाउन सक्छन् ।’

विद्यालयका प्रअ भरत खत्रीले शैक्षिक संस्थामा आगजनी गरेर लाखौं रुपैयाको क्षति पुर्‍याउने दोषी पत्ता लगाएर कडा कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएको बताए । उनका अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीको सबै रेकर्ड जलेकाले कसै न कसैले जानीबुझी आगजनी गरेको हुनसक्ने बताए ।

प्रकाशित : फाल्गुन २४, २०७७ १७:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×