कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्यानमारमा हिंसात्मक दमनविरुद्ध काठमाडौंमा नागरिक अभियन्ताको प्रदर्शन [तस्बिरहरू]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — म्यानमारमा सैन्य सरकारले गरिरहेको हिंसात्मक दमनको विरोधमा शुक्रबार काठमाडौंस्थित म्यानमार दूतावासअगाडि विरोध प्रदर्शन गरिएको छ । बृहत् नागरिक आन्दोलनको अगुवाइमा नागरिक अभयन्ताहरूले नक्खु, भैंसेपाटीस्थित दूतावासअगाडि प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा नागरिक अभियन्ताहरू गोविन्द केसी, नारायण वाग्ले, खगेन्द्र संग्रौला, युग पाठकलगायत सहभागी थिए । प्रदर्शनका सहभागीहरूले म्यानमारमा नरसंहार बन्द गर्नुपर्ने भन्दै आफूहरू त्यहाँका जनताको पक्षमा रहेको बताए । उनीहरूले म्यानमारमा तत्काल लोकतन्त्र पुनर्बहाली गर्न माग राखेका छन् ।

म्यानमारमा गरिएको सैन्य कु र त्यहाँका लोकतान्त्रिक आन्दोलनकारीमाथि जारी नरसंहारविरुद्ध प्रदर्शन गरिएको आन्दोलनले जनाएको छ । म्यान्मारमा सैनिक ‘कु’ विरुद्ध बुधबार गरिएको प्रदर्शनमा सुरक्षाकर्मीको गोली लागि कम्तीमा ३८ जना मारिएको जनाइएको छ । संयुक्त राष्ट्रसंघले ३८ जना मारिएको पुष्टि गर्दै सैनिक ‘कु’ यताकै ‘रक्तपातपूर्ण’ दिन भनेको छ ।

राष्ट्रसंघीय मानवअधिकार कार्यालयका अनुसार फेब्रुअरी १ को सैनिक ‘कु’ को विरोधमा त्यसयता भएका प्रदर्शनमा प्रहरीले दमन गर्दा कम्तीमा ५४ जनाको ज्यान गइसकेको छ । गत आइतबार एकै दिन १८ जनाले ज्यान गुमाएका थिए । समाचार संस्था रोयटर्सले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै जनाएअनुसार सुरक्षा फौजले कैयौं नगरहरूमा चेतावनीबिना नै गोली चलाएको थियो ।

गत माघ १९ गते सेनाले सत्ता हातमा लिएपछि म्यान्मारका सबैजसो सहरहरूमा विरोध प्रदर्शन र नागरिक अवज्ञा भइरहेका छन् । सेनाले सत्ता कब्जा गरेसँगै नेत्री आङ सान सुचीसहित नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) का नेताहरूलाई बन्दी बनाइएको छ । प्रदर्शनकारीहरूले उनीहरूको रिहाइ र सैनिक शासन अन्त्यको माग गरिरहेका छन् । सुचीलाई विभिन्न चारवटा अभियोग लगाइएको थियो ।

७५ वर्षीया सुचीलाई मार्च १५ मा अदालत पेस गरिने जनाइएको छ । सेनाले नोभेम्बरमा भएको चुनावमा धाँधली भएको भन्दै शक्ति हातमा लिएको हो । चुनावमा सुचीको दल एनएलडी भारी मतले विजयी भएको थियो ।


प्रकाशित : फाल्गुन २१, २०७७ १२:००
प्रतिक्रिया
पठाउनुहोस्