कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टुँडिखेलमा फूलपाती बढाइँ [तस्बिरहरू]

तस्बिर : इलिट जोशी, तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — नवरात्रिको सातौँ दिन सैनिक मञ्च टुँडिखेलमा शुक्रबार फूलपाती बढाइँ कार्यक्रम सम्पन्न भएकाे छ । तर अघिल्ला वर्षहरूमाझैं तामझामसहित नभएर सामान्य रूपमा फूलपातीकाे बढाइँ गरिएकाे छ । फूलपाती बढाइँ समारोहमा नेपाली सेनाको सलामी ग्रहण गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उपस्थित भएका थिए । कोभिड–१९ को सङ्क्रमणबाट सिर्जित परिस्थितिका कारण हर्षोल्लासका साथ नभई धर्म, संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतीकात्मक रूपमा मात्र बढाइँ गरिएकाे हाे ।

बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोपका साथ मार्चपास गरेको थियो । अघिल्ला वर्षका बढाइँमा पूर्व,पश्चिम र दक्षिणपाटाबाट ८४/८४ जनाको गुल्मले बढाइँ गर्थ्याे भने यस पटक सामाजिक दूरी कायम गरी २५/२५ जनामा सीमिति गरिएको छ । विगतमा सेनाबाहेक १ हजार २ सयको सङ्ख्यामा विभिन्न क्षेत्रका मानिसलाई आमन्त्रण गर्ने गरिएकामा यस पटक सेनासहित पाहुनाको सङ्ख्या सय जनामा सीमित गरिएकाे थियाे ।

आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैंघरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।


प्रकाशित : कार्तिक ७, २०७७ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्