कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

यस्तो देखियो मार्किङपछि विमानस्थल [तस्बिरहरु]

सुरज कुँवर, तस्बिर : अंगद ढकाल

काठमाडौँ — ७४ दिनदेखि व्यावसायिक उडानका लागि बन्द गरिएका काठमाडौंसहित मुलुकभरका विमानस्थल ढिलो चाँडो सञ्‍चालनमा ल्याइने छन् । कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि गरिएको लकडाउनपछि विमानस्थलमा पहिले जस्तो भीडभाड गर्न र गराउन पाइने छैन ।

नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले निर्देश गरेअनुसार, महामारीका बेला विमानस्थल कसरी सञ्‍चालन गर्नेबारे विशेष निर्देशिका (एसओपी) जारी गरेको छ । त्यसैअनुसार अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मार्किङ गरिएको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार, अब विमानस्थल सञ्‍चालनमा आएपछि पहिलेजस्तो भीडभाड गर्न पाइने छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डन गेटबाटै यात्रुले मात्रै प्रवेश पाउने छन् । आफन्तजनलाई त्यहाँबाट छिर्न निषेध गरिने छ ।

अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनल भवनमा यात्रुहरुले सामाजिक दूरी कायम गर्नुपर्ने छ । बोर्डिङपास लिन मार्किङ गरिएको रेखा (तस्बिरमा देखिएका पहेँलो रेखा) मा मात्रै पाइला राखेर काउन्टरमा जानुपर्ने छ । अबका दिन दुइटा फाराम अनिवार्य भर्नुपर्ने छ । एउटामा यात्रुको विस्तृत विवरण हुने छ भने अर्कोमा आफू स्वस्थ्य रहेको घोषणा गरेको हुनुपर्ने छ । विस्तृत विवरण ट्रयाकिङ गर्नका लागि राज्यले राख्ने छ ।

टर्मिनल भवनमा स्वास्थ्यकर्मी हुनेछन् । तीनले ज्वरो जाँच्ने छन् । स्यानिटाइजर हुने छ । त्यहाँ खटिने कर्मचारीहरु पनि वायुसेवा कम्पनीहरुले तयार पारेको मापदण्डअनुसार मास्कसहित खट्ने छन् । महाप्रबन्धक केसीले विमानस्थल सञ्‍चालनमा ल्याउनुभन्दा ठीक एक हप्ताअघि सरकारले उडान सञ्‍चालनबारे प्राधिकरणलाई जानकारी दिने भनेको छ । त्यसपछि विमानस्थल सञ्चालनमा ल्याइने छ । एयरलाइन्स र यात्रुबाहेक अबका दिन विमानस्थलमा यात्रुको सेवाका लागि रहने ट्याक्सी, क्याफे, विभिन्न निकायका कर्मचारी, कामदार आदिको स्वास्थ्य अवस्था र इमानदारिताको पनि निगरानी हुनुपर्ने छ ।


प्रकाशित : जेष्ठ १६, २०७७ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्