कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

‘ह्वाट मेक्स यू ह्याप्पी ?’

मलाई थाहा छ– दुनियाँमा के हुँदै छ, तिमीहरूलाई सब थाहा छ । किनकि तिमीहरू इन्टरनेट पुस्ता हौ । तिमीहरूलाई बीआईदेखि एआईसम्म इकोनोमिक्सदेखि ‘स्वीफ्टोनोमिक्स’ सम्म सबै अवगत छ । तर, आफैंलाई सोध त– के तिमीलाई ह्वाट मेक्स यू ह्याप्पी, थाहा छ ?

प्रिय भाइबहिनी, 
तिमीहरू मलाई बा भन्छौ । त्यसैले अबदेखि म तिमीहरूलाई ‘छोराछोरी’ भनेर सम्बोधन गर्नेछु । 
यो लेखको सुरुवात म तिमीहरूलाई दुईवटा प्रश्न सोधेर गर्छु । ‘डू यू नो, ह्वाट मेक्स यू ह्याप्पी ? ह्वाट आर यू विलिङ टू फाइट फर ?’

‘ह्वाट मेक्स यू ह्याप्पी ?’

मलाई थाहा छ– दुनियाँमा के हुँदै छ, तिमीहरूलाई सब थाहा छ । किनकि तिमीहरू इन्टरनेट पुस्ता हौ । तिमीहरूलाई बीआई (बिजनेस इन्टेलिजेन्स) देखि एआई (आर्टिफिसियल इन्टेलिजेन्स) सम्म इकोनोमिक्सदेखि ‘स्वीफ्टोनोमिक्स’ सम्म सबै अवगत छ । तर, आफैंलाई सोध त– के तिमीलाई ह्वाट मेक्स यू ह्याप्पी, थाहा छ ? तिमीलाई थाहा छ, जिन्दगीमा तिमी के कुराका लागि हरदम संघर्ष गर्न तयार छौ ?

यी प्रश्नमा घोत्लिँदा तिमी को हौ मात्र होइन, तिमी को होइनौ भन्ने उत्तर पनि भेटिनेछ । हेर्दा सजिलो लागे पनि सजिला छैनन्, यी प्रश्न ।

गएको महिना प्रकाशित लेखमा मैले भनेको थिएँ– अहिलेको पुस्ता अलि अधैर्य जस्तो पनि छ । हाताहाती परिणाम खोज्छ यो पुस्ता । तर मेरो विश्वास के छ भने कुनै पनि काम किन गर्न लागेको हो भन्ने कुरा थाहा पाउन सकियो भने धैर्य आफैं थपिन्छ । मैले सुरुमै सोधेको थिएँ नि– ‘ह्वाट आर यू विलिङ टू फाइट फर ?’ मेरा लागि यो प्रश्नको उत्तर– स्वतन्त्रता हो । यो प्रश्नको उत्तरमा स्पष्टता नभएको भए मैले १४ वर्षको जेल जीवन कसरी धान्न सक्थेँ र ?

‘ह्वाट आर यू विलिङ टू फाइट फर, ब्रो ?’ मेरो प्रश्न तिमीलाई ।

गएको महिनाको लेखमा मैले भनेको थिएँ– हरेक दिन एक कदम अगाडि । तिमीलाई लाग्ला, यो मैले आफू प्रधानमन्त्री भएका बेलामा अघि सारेको नारा मात्र हो । होइन, मेरा लागि त यो जीवनशैली हो । कसरी ? म तिमीलाई एउटा कथा सुनाउँछु ।

केही समयअघि ‘बिजमान्डु’ मा सुदर्शन सापकोटाले एउटा समाचार लेख्नुभएको थियो । शीर्षक थियो– ‘बिरामीको चाप घटेपछि स्वास्थ्य संस्था नोक्सानीमा, काठमाडौंका अधिकांश निजी अस्पताल बिक्रीमा ।’ यो समाचारले मलाई निकै उद्वेलित तुल्यायो । देशको अर्थतन्त्र त्यसै पनि राम्रो छैन । निर्माणदेखि उत्पादनसम्मका क्षेत्र नराम्ररी थलिएका छन् । स्वास्थ्य सेवा पनि नोक्सानीमा जान थालेको थाहा पाएपछि मनमा चिसो पस्यो । समयाभावका कारण हिजोआज म धेरैजसो समाचारको हेडलाइन मात्र पढेर छोडिदिन्छु । तर त्यो समाचार मैले पूरै पढेँ । समाचारको सार थियो– बिरामीको अभावमा निजी अस्पताल बन्द हुँदै छन् ।

किन यस्तो भयो ? के मानिसहरू बिरामी कम हुन थाले ? के मैले आफू प्रधानमन्त्री हुँदा भनेको निरोगी नेपालको नारा सफल भयो ? कि मानिसहरू उपचार खर्च नभएर अस्पताल जान छाडेका हुन् ? निजी अस्पताल मात्र जान छाडे कि सरकारी अस्पताल पनि ?

यी सबै प्रश्नको उत्तर थाहा पाउन २०७२ सालमा फर्कनुपर्छ ।

म पहिलो पटक प्रधानमन्त्री भएका बेला २०७२ चैत २५ गते कैलाली जिल्लामा एउटा नमुना कार्यक्रम सुरु गरेको थिएँ । त्यसको तीन महिनापछि त्यही नमुना कार्यक्रमलाई इलाम र बागलुङ जिल्लामा पुर्‍याएँ । त्यही वर्षको बजेटमा त्यो नमुना कार्यक्रमलाई २५ जिल्लामा पुर्‍याउन तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई २ अर्ब २५ करोड रुपैयाँ विनियोजन गर्न लगाएँ । त्यो कार्यक्रम आज देशको ७७ जिल्लामा फैलिएको छ । सुदर्शनजीले व्यवसायी किशोर महर्जनलाई ‘कोट’ गरेर लेख्नुभएको छ– ‘सरकारको बिमा नीतिले गर्दा निजी अस्पताल खाली हुन थालेका छन् ।’

अहिले वार्षिक ३५ सय रुपैयाँ तिरेपछि एक घरपरिवारको १ लाखसम्मको स्वास्थ्य बिमा हुन्छ । करिब ७० लाखभन्दा बढी नागरिकले स्वास्थ्य बिमा गरेका छन् । यसैका कारण बिरामीको चाप निजी अस्पतालबाट सरकारी अस्पतालमा सरेको छ ।

कुरा यतिमा मात्र सीमित छैन । स्वास्थ्य क्षेत्रमा हामीले खोजेको ‘इको सिस्टम’ बिस्तारै बन्दै छ । यो कुरा त मैले अघिल्लो महिना पनि भनेको थिएँ– म प्रधानमन्त्री भएका बेला हामीले ३ सय ९६ वटा स्थानीय तहमा १५ बेडका अस्पताल एकै पटक शिलान्यास गरेका थियौं । केही स्थानीय तहले ती अस्पतालबाट सेवा नै दिन थालिसके । यी अस्पतालको दिगो सञ्चालनका लागि कतिपय स्थानीय तहले स्वास्थ्य बिमाकै सहारा लिएका छन् ।

गएको महिना मैले यस्तै एउटा उदाहरण स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिकाको लिएको थिएँ । पालिकाले त्यहाँका सबै २८ हजार नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ । यसका लागि पालिकाले करिब १ करोड ८० लाख रुपैयाँ खर्चिएको छ । पालिकाले निःशुल्क स्वास्थ्य बिमा गरिदिएपछि नागरिकहरू आफ्नो उपचार गर्न स्थानीय कालीगण्डकी अस्पताल जान्छन् । नागरिकले उपचार गरेबापतको रकम स्वास्थ्य बिमा बोर्डले स्थानीय अस्पताललाई भर्पाई दिन्छ । त्यही बिमाको रकमले पालिकाले कालीगण्डकी अस्पताल चलाएको छ ।

राजधानीकै निजी अस्पतालहरू घाटामा गइरहेको समाचार आइरहेका बेला यस वर्ष मात्र कालीगण्डकी अस्पतालले करिब ४ करोड रुपैयाँ आम्दानी गर्दै छ । यसरी देशभित्र स्वास्थ्य क्षेत्रमा बिस्तारै ‘इको सिस्टम’ बन्दै छ, जसका कारण नागरिकले कसरी उपचार गरुँ भन्ने चिन्ताबाट मुक्ति पाउँदै छन् ।

भरोसायोग्य स्वास्थ्य बिमा प्रणाली बनाउन हामीलाई ८ वर्षभन्दा बढी समय लाग्यो । गण्डकी प्रदेशका अहिलेका मुख्यमन्त्री खगराज अधिकारी २०७१ सालमा स्वास्थ्यमन्त्री हुँदा गठन भएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति गठन आदेशलाई समेत जोड्दा एक दशक पुग्छ । एउटा जिल्लाबाट थालनी गरेको कार्यक्रम कहिले ७७ जिल्लामा पुग्ला भनेर त्यतिबेला मैले नाक खुम्चाएको भए आज सरकारी अस्पतालमा चाप बढ्ने र निजीमा घट्ने दिन आउने थिएन ।

मैले यहाँ भन्न खोजेको के मात्र हो भने कुनै पनि कुराको परिणाम आउन समय लाग्छ । तर हरेक दिन परिणामका लागि एक पाइला अगाडि बढायो भने न त समय बितेको पत्तो हुन्छ, न परिणामको चिन्ता नै हुन्छ । किनकि त्यो परिणामको खोजीमा बढाउने पाइला नै आफैंमा रोमाञ्चकारी हुन्छ । त्यसैले मैले भन्दै आएको छु नि, हरेक दिन एक कदम अगाडि ।

हुन त अंग्रेजी शब्द ‘सेल्फ डिस्कभरी’ निकै लोकप्रिय छ । तिमीहरूको अहिलेको उमेर नै ‘सेल्फ डिस्कभरी’ मा लगाउन सुहाउँदो समय हो । अध्ययन अनुसन्धानले भन्छ– ७५ प्रतिशत मानसिक समस्या २५ वर्षअगावै सुरु हुन्छ । र, अनुसन्धानले यो पनि भन्छ कि मलाई केले खुसी बनाउँछ भनेर थाहा पाउन सकियो भने व्यक्तिको मानसिक स्वास्थ्यसमेत राम्रो हुन्छ । त्यसैले तिमीहरूले आफ्नो मानसिक स्वास्थ्यका लागि पनि ‘ह्वाट मेक्स यू ह्याप्पी ?’ भन्ने थाहा पाउनु जरुरी छ ।

यही कुरालाई ध्यानमा राख्दै नवलपरासी जिल्लाको मध्यबिन्दु नगरपालिकाले शिक्षा क्षेत्रमा एउटा गज्जबको काम गर्न लागेको छ । मेयर भीमलाल अधिकारी नेतृत्वको नगरपालिकाले ‘समृद्ध मध्यबिन्दु, खुसी नगरवासी’ को आदर्श वाक्यका साथ पालिकाभित्रका निजी र सरकारी दुवै गरी ६६ विद्यालयमा ‘हाम्रो खुसी’ पाठ्यक्रम लागू गर्न लागेको छ । यस्तो पाठ्यक्रमको सुरुवात नेपालमा पहिलो पटक हुन लागेको हो ।

कक्षा १ देखि ८ सम्मका बालबालिकालाई कसरी ‘माइन्डफुलनेस’ हुने, ‘सेल्फ अवेरनेस’ कसरी बढाउने भन्ने कुरा पाठ्यक्रममा राखिएको जानकारी पाएको छु । यसका लागि निजी र सरकारी दुवै विद्यालयका शिक्षकहरूलाई आवश्यक तालिम दिइएको छ । हरेक दिन आधा घण्टा कक्षामा ‘हाम्रो खुसी’ पढाइ हुँदै छ । २०७६ सालमा राष्ट्रिय शिक्षा नीति तर्जुमा गर्दा हामीले यसको लक्ष्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ राखेका थियौं । यही लक्ष्य प्राप्त गर्न पूरक सामग्रीका रूपमा ‘हाम्रो खुसी’ पाठ्यक्रम तयार गरिएको रहेछ । मलाई विश्वास छ, ‘हाम्रो खुसी’ ले पालिकाभित्रका विद्यार्थीहरूलाई ‘ह्वाट मेक्स मी ह्याप्पी ?’ भन्ने प्रश्नको उत्तर खोज्न सानैदेखि बानी लगाउनेछ ।

हिजोसम्म उपचार खर्च जुटाउन नसकेर छटपटिने बिरामी, आज निःशुल्क उपचार पाएर दंग पर्दै जब अस्पतालबाट बाहिर निस्कन्छ– ‘द्याट मेक्स मी ह्याप्पी’ ।

अब तिमी नै भन– ‘ह्वाट मेक्स यू ह्याप्पी, ब्रो ?’

अर्को पटक हामी अझ विस्तृतमा छलफल गरौंला ।

केपी शर्मा ओलीका अन्य लेखहरू पढ्नुहोस् :

प्रकाशित : जेष्ठ २, २०८१ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×