२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

‘न्यु इयर रिजोलुसन’ र तन्नेरी पुस्ता

अहिले तन्नेरी पुस्तामाथि सोसल मिडियाको चर्को प्रभाव छ । करिअर राम्रो बनाउनुपर्ने मानसिक दबाब त छ नै, आर्थिक अनिश्चितताले लेखेट्ने समय पनि यही हो । त्यसैले यो पुस्ता अलि अधैर्यजस्तो पनि लाग्छ । उनीहरूलाई तुरुन्तातुरुन्तै परिणाम चाहिएको छ । 
केपी शर्मा ओली

पुराना पात झरेर नयाँ पालुवा पलाएका छन् । रंगीबिरंगी फूलपातले प्रकृति सिँगारिएको छ । चराचुरुंगीले नयाँ गुँड बनाएका छन् । कोइलीको कुहुकुहुले रनवन ढाकेको छ । भ्रमरको भुनभुनले अनौठो संगीत गुन्जायमान छ । यही मनमोहक वसन्त ऋतुको आनन्द, उल्लास र उमंगसँगै हामी नयाँ वर्षको आगमनलाई स्वागत गरिरहेका छौं । 

‘न्यु इयर रिजोलुसन’ र तन्नेरी पुस्ता

तपाईंको नयाँ वर्ष सुखद अनि मंगलमय होस्, मेरो शुभकामना !

हामी विक्रम संवत् २०८१ मा प्रवेश गर्दै छौं । यसको अर्थ विक्रम संवत् चलेको २०८० वर्ष पूरा भयो । यो सौर्य पात्रो हो । तर यसको साइनो चन्द्र पात्रोसँग पनि छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने दिन यस पात्रोको नयाँ संवत्सर थालनी हुन्छ ।

नयाँ वर्षसँगै घरको भित्तामा पात्रोमात्र फेरिँदैन, यसले आफूसँगै नयाँ–नयाँ आशा, विश्वास र सम्भावनासमेत लिएर आएको हुन्छ । हामी केटाकेटी छँदा अहिले जस्तो नयाँ वर्षको रौनक हुँदैनथ्यो । शुभकामना आदानप्रदान गरेको पनि मलाई याद छैन ।

नयाँ वर्ष मनाउने मामिलामा म अहिलेको पुस्तालाई निकै अगाडि देख्छु । उनीहरूले आपसमा शुभकामना साटासाट, भेटघाट, खानपिन, घुमफिर र रमाइलो गरेर उत्साहका साथ नयाँ वर्षको भव्य स्वागत गर्छन् । मलाई लाग्छ, नयाँ वर्षले बोकिल्याउने नवीनताको रङलाई पर्गेल्न अहिलेको पुस्ता उम्दा छ ।

युवापुस्ताले नयाँ वर्षलाई गहन चिन्तन–मनन र समीक्षा गर्ने अवसरका रूपमा समेत लिएको पाउँछु । ‘न्यु इयर रिजोलुसन’, ‘रिफ्लेक्सन’ जस्ता अंग्रेजी शब्दको प्रयोग गर्दै तन्नेरीहरू वर्षभरिमा के–के गरेँ, गरेको काममा के कति सफलता पाएँ, क–कस्ता चुनौती आइलागे र ती चुनौती पार गर्न के कस्ता पहल गरेँ, थप सफलताका लागि के–के गर्नुपर्छ आदि कुरामा घोत्लिन्छन् । तन्नेरीहरूको यो तरिका मलाई खास लाग्छ ।

अहिले तन्नेरी पुस्तामाथि सोसल मिडियाको चर्को प्रभाव छ । करिअर राम्रो बनाउनुपर्ने मानसिक दबाब त छ नै, आर्थिक अनिश्चितताले लेखेट्ने समय पनि यही हो । त्यसैले यो पुस्ता अलि अधैर्यजस्तो पनि लाग्छ । उनीहरूलाई तुरुन्ता–तुरुन्तै परिणाम चाहिएको छ । आफूले सोचेजस्तो नभए चाँडो ‘डिप्रेस्ड’ पनि हुन्छ यो पुस्ता । हुन त हरेक उमेर समूहका मानिसलाई उस्तै तनावले घेरिरहेकै छ ।

विश्व स्वास्थ्य संगठनले मानसिक समस्या महामारीको रूप नै लिने अवस्थामा रहेको बताएको छ । नेपालमा गएको दशकमा आत्महत्या गर्नेहरूको संख्या ७२ प्रतिशतले वृद्धि भएको छ । हरेक दिन १९ नेपालीले आफ्नो ज्यान आफैं लिइरहेका छन् । यो निकै डरलाग्दो तथ्यांक हो । यसको रोकथामका लागि राज्यको ध्यानाकर्षण हुनु आवश्यक छ । साथै व्यक्तिले पनि आफ्नो चाहनालाई व्यवस्थित गर्नु जरुरी छ । खासगरी युवापुस्ताले आफ्नो महत्त्वाकांक्षालाई व्यवस्थित गर्नुको विकल्प छैन ।

आफू प्रधानमन्त्री भएका बेला मैले एउटा नारा अगाडि सारेको थिएँ– हरेक दिन एक कदम अगाडि । लक्ष्य ठूलो राख्ने तर सानो–सानो खुड्किलो पार गर्दै निरन्तर लागिरहे मात्र लक्ष्यमा पुग्न सकिन्छ । अहिले पनि म युवापुस्तालाई एउटा मात्र शब्द थपेर भन्न चाहन्छु, ‘ब्रो, हरेक दिन एक कदम अगाडि ।’ जतिसुकै लामो यात्रा पनि एक–एक कदम गरेरै पूरा गर्ने हो ।

तन्नेरी पुस्तालाई म ‘पौरखी पुस्ता’ भन्न रुचाउँछु । यही पुस्ताका कारण देशभित्र नयाँ–नयाँ प्रविधि, सोच र अवसर जन्मिएका छन् । सहर घुम्ने फुर्सद त म पाउँदिनँ । तर यसो कतै जाँदा आउँदा, काठमाडौंमा कफी संस्कृति ह्वात्तै बढेको देख्छु । केही दिनअघि एउटा भिडियो हेरेको थिएँ– नेपालमा कफीको ‘थर्ड वेभ’ सुरु हुँदै रहेछ । नेपालको कफीमा असीम सम्भावना छ । कुनै दिन मौका मिलाएर उद्यमीहरूसँग कफीको सम्भावनाबारे कुरा गर्ने इच्छा छ ।

केही महिनाअघि मैले पश्चिमको झुलाघाटदेखि पूर्वको चिवाभन्ज्याङसम्म लगातार १८ दिनको यात्रा गरेँ । दसौं लाख मानिसको भावनालाई नजिकैबाट छाम्ने मौका पाएँ । नागरिकको न्यानो आत्मीयता पाएँ । यसबाट ममा बेग्लै ऊर्जा सञ्चार भयो । यात्राका क्रममा मैले के पनि अनुभव गरेँ भने, हाम्रो देशका गाउँ–गाउँमा समृद्धि टुसाइरहेको छ । कैयौं स्थानीय सरकारले आफ्नो गाउँठाउँलाई जुरुक्कै उचाल्ने प्रयत्न गरेका छन् । विशेष गरी स्वास्थ्य र शिक्षा क्षेत्रमा स्थानीय सरकारले लिइरहेको पहल निकै सराहनीय छ ।

स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिकाले देशमै पहिलो पटक आफ्नो पालिकाभित्रका सबै नागरिकको स्वास्थ्य बिमा गर्ने प्रबन्ध मिलाएको रहेछ । पालिकाभित्र रहेका करिब २८ हजार नागरिकको स्वास्थ्य बिमा भएको छ । हरेक शिशु जन्मनेबित्तिकै बिमित हुन थालेका छन् । यसले विपन्न नागरिकले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्छ नै । कालीगण्डकी गाउँपालिकाले १५ शय्याको आफ्नै अस्पतालसमेत बनाएको रहेछ । उक्त अस्पतालमा हुने कुनै पनि उपचारमा नागरिकले शुल्क तिर्नु नपर्ने रहेछ ।

कोभिड महामारीका बेला नेपालको स्वास्थ्य क्षेत्रमा बेहाल देखेको थिएँ मैले । त्यसपछि हरेक स्थानीय सरकारमा एक अस्पतालको अवधारणा ल्याएँ । र, ३९६ वटा स्थानीय तहमा एकै पटक अस्पताल शिलान्यास गरेको थिएँ । अहिले स्थानीय तहहरूले यस अभियानलाई अगाडि बढाएको देख्दा औधि खुसी लागेको छ । मलाई स्थानीय सरकारहरूले प्राप्त गरिरहेको उपलब्धि अझै जान्न मन छ । स्थानीय सरकारमा रहेर काम गरिरहेका साथीहरूबाट आफूले हासिल गरेको प्रगति–अनुभव सुन्न आतुर छु ।

गएको वर्ष देशको अर्थतन्त्र राम्रो रहेन । त्यसका विभिन्न कारण छन्– पहिलो, सरकारले अर्थतन्त्रको समस्या बेलैमा बुझ्न नसक्नु । दोस्रो, नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय, योजना आयोग र उद्योग मन्त्रालयबीच आवश्यक समन्वय नहुनु । तेस्रो, कर प्रणाली ध्वस्त बनाइनु । चौथो, निजी क्षेत्रको मनोबल गिराउनु । घर, जग्गा र सेयर बजारमा अस्वाभाविक कारोबार हुँदा अहिलेको समस्या देखापरेको भन्ने कतिपयको भनाइ रहँदै आएको छ । तर, मेरो नजरमा यी सबै सहायक समस्या हुन् । मुख्य समस्याचाहिँ सरकारले म कहाँ जाँदै छु भन्ने गन्तव्य थाहा नपाउनु हो ।

अन्तरसरकारी निकाय समन्वय नहुने रोग त मेरै पालामा पनि थियो । तापनि हामीले त्यतिबेला धेरै काम गर्न सकेका थियौं । सरकारको प्राथमिकताका आधारमा हुलाकी लोकमार्ग, मदन भण्डारी लोकमार्ग बन्यो, पुष्पलाल लोकमार्ग छिट्छिटो बन्न थाल्यो । पूर्व–पश्चिम राजमार्ग पनि चौडा बन्न थाल्यो, एयरपोर्टहरू स्तरोन्नति भए । त्यत्रो पुनर्निर्माणका काम भए । सुनकोशी मरिण डाइभर्सनको काम सुरु भयो । तुइन विस्थापित भएर झोलुंगे पुल बने ।

यी सबै काम किन हुनसके भने हामीले एउटा गन्तव्य स्पष्ट गरेका थियौं– ‘समृद्ध नेपाल सुखी नेपाली’ । त्यस गन्तव्यमा पुग्ने गरी कृषि, उद्योग, शिक्षा, खेलकुद, व्यापार, सेवा, पूर्वाधार निर्माण, यातायात लगायतका सबै क्षेत्रलाई एकैपटक परिचालन गरेका थियौं । र, सुखद परिणाम निकालेका थियौं । गन्तव्य स्पष्ट पारेर नीति, कार्यक्रम, योजना तय गरेर हरेक दिन एक पाइला अगाडि बढ्ने संकल्प गरेका थियौं । त्यसरी काम गर्दा, ७ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि गरेका थियौं ।

कामका लागि प्रतिबद्धता चाहिन्छ । गएको वर्ष सरकारले गन्तव्य नै त्याग गर्‍यो । त्यहाँसम्म पुग्ने नीति र कार्यक्रम नै भत्काइदियो । त्यसैले मैले संसद्मा भनेको थिएँ–

भत्काइदेऊ धरहरा, पुरिदेऊ रानीपोखरी

भत्काइदेऊ पुलहरू, ओली याद आउने सबै कुराहरू ।

काम गर्नै नखोजेपछि अर्थतन्त्र कसरी अघि बढ्छ ? अहिले सिर्जना भएका सबै समस्या सरकारले आफ्नो गन्तव्य थाहा नपाउँदाको परिणाम हो ।

त्यसमाथि निजी क्षेत्रलाई दुर्व्यवहार नै गरियो, जसले गर्दा उसको मनोबल गिरेको छ । राज्यको ध्यान जहिले पनि कसरी उद्योगधन्दाको संरक्षण गर्ने भन्नेमा केन्द्रित हुनुपर्छ । उद्यमी कसरी सफल हुन्छन् भन्ने कुरामा सरकारले विशेष ध्यान दिनुपर्छ । बैंकहरूले पनि उद्योगी–व्यवसायीलाई कसरी सहयोग गर्न सकिन्छ भनेर विवेकपूर्ण ढंगले सोच्नुपर्छ ।

अहिले नियमनकारी निकायहरू आफैं भ्रष्ट भएका छन् । त्यहाँका व्यक्तिहरू आफू बन्न खोज्छन्, आफू बन्न पाएनन् भने अरूलाई बिगार्न खोज्छन् । अहिले सुनियतले भन्दा बढी कुनियतले मुद्दा चलिरहेका छन् । त्यसले अर्थतन्त्रलाई बिगार्नेबाहेक अरू केही गर्दैन । म प्रधानमन्त्री भएका बेला अर्थतन्त्र किन अघि बढ्यो भने हामी निजी क्षेत्रलाई कसरी सहयोग गर्न सकिन्छ र सबै क्षेत्रको सन्तुलन मिलाएर कसरी अघि बढ्न सकिन्छ भन्ने कुरामा केन्द्रित थियौं ।

त्यसैले अब हामीले स्पष्ट गन्तव्य तय गर्नुपर्ने भएको छ । यो कुरा मैले अहिले सरकारमा सामेल सबै राजनीतिक दललाई भनेको छु । त्यसैले सरकारमा भएका सबै दल ‘समृद्ध नेपाल, सुखी नेपाली’ लाई गन्तव्य बनाउन तयार छन् । अब यही तोकिएको गन्तव्यअनुसार सरकारको नीति र कार्यक्रम आउनुपर्छ । र, त्यसमा समायोचित बजेट व्यवस्था गरेर नयाँ वर्षलाई अझ पल्लवित, पुष्पित र सुफलित तुल्याउन लाग्नुपर्छ ।

प्रकाशित : चैत्र ३०, २०८० ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

धावनमार्गको पिच उप्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार केहीबेर विमान उडान र अवतरण नै रोक्नुपर्ने अवस्था आउनुलाई के भन्नुहुन्छ ?