कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

निगमको साखसँगै मुलुककै प्रतिष्ठा दाउमा

सम्पादकीय

६५ वर्षअघि स्थापित राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको आन्तरिक उपस्थिति नै नगण्य भइसकेको छ भने अन्तर्राष्ट्रिय उडानका लागि पनि जम्मा चार जहाज छन् । तर, १ सय ५८ सिट क्षमताको न्यारोबडी मंसिर १३ देखि ग्राउन्डेड भएकामा गत शुक्रबार मात्रै मर्मतका लागि इजरायल पठाइएको छ । त्यो बनेर कहिले आउने हो भन्ने ठेगान नहुँदै निगमको वाइडबडी पनि सोमबारदेखि ग्राउन्डेड भएको छ ।

निगमको साखसँगै मुलुककै प्रतिष्ठा दाउमा

यसरी जम्मा चार जहाज भएको निगमको अन्तर्राष्ट्रिय उडान क्षमता अहिले सिधै ५० प्रतिशतमा झरेको मात्र छैन, दैनिक करिब पाँच करोडको कारोबार गुमेको छ र निगमको उडान तालिका नै अस्तव्यस्त भएको छ । बिग्रिएको जहाज डेढ महिनासम्म ‘ग्राउन्डेड’ किन गरियो ? राष्ट्रिय ध्वजावाहकलाई थला पार्ने काम लापरबाही हो कि योजनाबद्ध भन्ने प्रश्न उठेको छ ।

निगमको विमान बिग्रनु र कैयौं दिनसम्म थन्किरहनु नियमित नियतिजस्तै बनेको छ । उडानका बेला जहाजमा समस्या आउँदा वैकल्पिक व्यवस्था गर्ने पेसागत दायित्वमा पनि निगमको चरम बेवास्ता छ जसले गर्दा यात्रु बिचल्लीमा परेका घटना हरेक महिना अभिलिखित भएका छन् । यसबाट निगम आफैंले आर्थिक क्षति भोगिरहेकै मात्रै छैन, यात्रुले सास्ती पाएका छन् । राष्ट्रिय ध्वजावाहकको लापरबाहीले मुलुककै छविमा पनि अपुरणीय क्षति पुगिरहेको छ ।

निगमको अन्तर्राष्ट्रिय उडानमा हरेक महिनाजसो समस्या देखिँदै आएको छ । सोमबार राति पनि अचानक उडान रद्द भएपछि २ सय ७६ यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परे । राति ११ बजे दोहा (कतार) उड्ने तालिका रहेकामा यात्रुलाई राति साढे १ बजे मात्र उडान रद्द भएको सूचना दिइएको थियो । यताबाट विमान नउडेपछि दोहाबाट तेस्रो मुलुक जाने धेरै यात्रुको उडान पनि छुट्यो । दोहाबाट मंगलबार राति नेपाल आउनुपर्ने २ सय ५४ यात्रु पनि उतै रोकिए । यसरी अर्को जहाज पनि ‘ग्राउन्डेड’ भएपछि त्यसको शृंखलाबद्ध असर निगमका अन्य उडानमा परेको छ । मंगलबार राति ११:२५ का लागि निर्धारित जापानको नारिता उडान पनि अर्को दिनलाई सर्‍यो, लगत्तै अन्य उडान पनि सरेका छन् ।

यसअघि दुई साताअघि २३ पुसमा बैंकक उड्ने तरखरमा रहेको निगमको न्यारोबडी उड्न नसकेपछि १ सय ५२ यात्रुलाई जहाजबाट ओरालिएको थियो । मंसिर १३ मा पनि निगमको व्यवस्थापकीय लापरबाहीका कारण ३१ यात्रुको दुबई उडान छुट्यो । निगमको वाइडबडी राति साढे ११ बजे उड्नुपर्नेमा प्रधानमन्त्री पुष्पकमल दाहालको यात्राका लागि भने निर्धारित तालिकाभन्दा दुई घण्टा पहिल्यै उडाइँदा ती यात्रु छुटेका थिए । त्यसअघि मंसिर ६ मा ‘ओभर बुकिङ’ भएको जनाउँदै निगमको न्यारोबडीका ६० यात्रु छाडेर उडेको थियो । यी निगमको चरम लापरबाहीका दृष्टान्त हुन् ।

यान्त्रिक साधनमा प्राविधिक समस्या देखिनु स्वाभाविकै हो तर पटकपटक यही घटना दोहोरिँदा भने व्यवस्थापकीय क्षमतामाथि नै प्रश्न उठ्छ । अरू वायुसेवा कम्पनीका विमानमा पनि प्राविधिक समस्या आउँदा तत्कालै मर्मतसम्भार गरिन्छ, उडान रद्द भएको अवस्थामा अन्य विमान व्यवस्थापन गरेर यात्रुलाई गन्तव्यमा पुर्‍याइन्छ । विमानमा प्राविधिक समस्या देखिएपछि मर्मतसम्भारका लागि तदारुकता देखाउने हो भने समस्या तत्काल समाधान हुने मात्र होइन, मर्मतमा लाग्ने समय र वित्तमा पनि सहुलियत हुन्छ । यसो भएमा अनावश्यक दुःख र निगमले आर्थिक क्षति भोग्नुपर्दैन । न्यारोबडी बिग्रनासाथ बनाउने पहल गरिएको भए अहिले वाइडबडीमा समस्या आए पनि तीनवटा विमानबाट उडान चलिरहेको हुन्थ्यो । न्यारोबडीले दिनमा डेढ करोड र वाइडबडीले चार करोड रुपैयाँ हाराहारीको कारोबार गर्छ । न्यारोबडी ग्राउन्डेड भएपछि त्यसको रुटमा घाटामा वाइडबडी सञ्चालन गर्नुपर्ने बाध्यता छँदै छ । अर्कातिर अचानक उडान रद्द भएपछि यात्रुलाई होटलमा राख्दा थप खर्च पर्छ ।

निजी क्षेत्रका वायुसेवा कम्पनीले विमान थप्दै गन्तव्यसमेत विस्तार गरिरहेका बेला राष्ट्रिय लगानीको निगमले भने सीमित संख्याका विमानलाई पनि व्यवस्थित रूपमा सञ्चालन गर्न नसक्नु उदेकलाग्दो छ । राजनीतिक हस्तक्षेप, अनावश्यक कर्मचारी भर्ती र कमजोर व्यवस्थापनका कारण निगम धराशायी बनेको हो । सरकारको पूर्ण स्वामित्व रहेको निगम अहिले साँवाब्याज गरी ४८ अर्ब रुपैयाँ ऋणमा छ ।

अहिलेकै संरचना र व्यवस्थापन प्रणालीबाट निगमको अधोगति रोकिँदैन । सरकारले निगम सुधारका लागि २०५८ सालयता मात्र गठन गरेका नौवटा कार्यदलमध्ये प्रायः सबैले नीतिगत र संरचनागत सुधार गर्न जोड दिएका छन् तर सुझाव कार्यान्वयनमा न निगम आफैं तयार देखिन्छ न सरकार । निगमलाई थप धराशायी हुन नदिन अध्ययन कार्यदलहरूले दिएका सुझावअनुसार नीतिगत र संरचनागत सुधारको गृहकार्य सरकारले तत्काल थाल्नुपर्छ । निगमको साख र देशकै प्रतिष्ठाका लागि पनि यो अपरिहार्य छ ।

प्रकाशित : माघ ४, २०८० ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×