कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

डगमगाउँदो स्वास्थ्य क्षेत्र 

सुनसरी जिल्ला अस्पतालमा कुनै–कुनै चिकित्सकले एक दिनमा १०५ बिरामी हेर्नुपर्ने बाध्यता छ । जबकि एक चिकित्सकले गुणस्तरीय स्वास्थ्य सेवा दिन आफ्नो ६ घण्टाको कार्यअवधिमा बढीमा २०–३० बिरामी मात्र हेर्न सक्छ ।

विकसित मुलुकहरूमा राजनीतिले स्वास्थ्य र शिक्षालाई नकारात्मक असर पार्न सक्दैन तर विकासोन्मुख देशहरूमा भने यी दुई क्षेत्रमा समेत राजनीतिको प्रभाव निकै देखिन्छ । जब स्वास्थ्य र शिक्षाजस्ता संवेदनशील क्षेत्रमा राजनीति हाबी हुन्छ, तब अवस्था झन् जटिल बन्दै जान्छ । स्वास्थ्य र शिक्षामा कुनै पनि अवस्थामा नकारात्मक असर हुनुहुन्न ।

डगमगाउँदो स्वास्थ्य क्षेत्र 

स्वास्थ्य र शिक्षा क्षेत्र सदैव प्रभावकारी रूपमा अगाडि बढिरहनुपर्छ । नेपालमा राजनीति र बिचौलियाको चपेटामा परेर स्वास्थ्य र शिक्षा प्रणाली डगमगाउँदो छ । खासगरी स्वास्थ्य प्रणाली यति धराशायी बन्दै छ, भोलिका दिनमा नीतिगत भ्रष्टाचार, अदूरदर्शी रोडम्याप, सरकारी अस्पतालहरूको लाचारी अनि चिकित्सक र स्वास्थ्यकर्मीको अभावमा बिरामीहरू सामान्य उपचारका लागि पनि सहर र राजधानी धाउन बाध्य हुनुपर्नेछ । बिरामीले उचित उपचारका लागि लाखौं खर्च गर्नुपर्नेछ भने कतिले त आर्थिक अभावका कारण ज्यानसम्म गुमाउन बाध्य हुनुपर्नेछ । हाम्रो देशमा स्वास्थ्य क्षेत्रको वास्तविकता दर्साउने केही प्रसंग हेरौं ।

प्रसंग १ : जाजरकोटमा पछिल्लो पटक आएको विनाशकारी भूकम्पमा घाइते भएकाहरूलाई उपचारका लागि नजिकको जिल्ला अस्पताल लगियो । तर, जाजरकोट अस्पतालको अवस्था भयावह थियो । त्यहाँ दरबन्दीअनुसारका चिकित्सक थिएनन्, न्यूनतम सेवाहरूसमेत उपलब्ध थिएनन्, विनाशकारी अवस्थाका लागि पूर्वतयारी गरिएको थिएन । यसका कारण बिरामीले समयमा उपचार नपाउँदा र बिरामीलाई अन्तै रेफर गर्दा उपचारमा भएको विलम्बका कारण धेरैले अनायासै ज्यान गुमाउनुपर्‍यो भने कतिले धेरैबेर पीडा सहनुपर्ने अवस्था आयो । अस्पतालमा रहेका पाँच जनाजति चिकित्सकले सक्दो प्रयास त गरे तर सबै थोक उनीहरूका हातमा पनि थिएन ।

प्रसंग २ : जिल्ला अस्पताल सुनसरी, इनरुवामा दिनहुँ औसत ३७५ बिरामी आउने गर्छन् । बिरामीको अत्यधिक चाप रहेको यस अस्पतालमा समेत दरबन्दीअनुसारका चिकित्सक छैनन् । सामाजिक रूपमा असुरक्षित महसुस भएर काम गर्ने वातावरणको अभावका कारण समेत चिकित्सक बस्न नरुचाउनु एक विडम्बना हो र सरोकारवाला सरकारी निकायहरूको लाचारीको नमुना हो । यस अस्पतालमा, कुनै कुनै चिकित्सकले एक दिनमा १०५ बिरामी हेर्नुपर्ने बाध्यता छ । एक चिकित्सकले गुणस्तरीय स्वास्थ्य सेवा दिन आफ्नो ६ घण्टाको कार्यअवधिमा बढीमा २०–३० बिरामी हेर्न सक्छ । तर, सुनसरीमा बिरामीको चाप र चिकित्सकको अनुपात हेर्दा त्यो सम्भव नै छैन । थकित भए पनि बाध्यतावश ओपीडीमा आएका सम्पूर्ण बिरामी हेर्नुपर्छ । अनि बिरामीले पाउनुपर्ने गुणस्तरीय उपचारमा स्वाभाविक रूपमा प्रभाव पर्छ । यस्तो अवस्था सबै सरकारी अस्पताल, शिक्षण अस्पताल र प्रतिष्ठानहरूमा देख्न सकिन्छ ।

प्रसंग ३ : डडेलधुरा अस्पतालमा चिकित्सक पदपूर्तिका लागि विज्ञापन गर्दा कसैले आवेदन भर्न चासो दिएन । काम गर्ने उचित र सुरक्षित वातावरणको अभाव, बिरामीका परिवारबाट गरिने दुर्व्यवहार अनि न्यून पारिश्रमिकका कारण चिकित्सकहरूको प्राथमिकतामा दुर्गमका सरकारी अस्पताल प्राय: पर्दैनन् । बरु चिकित्सकहरू बिदेसिनुमा उचित सम्झिन थालेका छन् ।

यी त केही उदाहरणीय प्रसंग मात्र हुन् । यस्ता कैयौं घटना छन् जसले नेपालको स्वास्थ्य क्षेत्र डगमडाइरहेको भान हुन्छ । जबसम्म सुरक्षित वातावरणमा काम गर्ने अवस्था आउँदैन तबसम्म चिकित्सकले आफ्नो दक्षताको उच्चतम सीप र ज्ञानको प्रयोग गर्न चाहँदैन । फलस्वरूप बिरामीहरू नै मारमा पर्न जान्छन् । मृत्यु ध्रुवसत्य हो, यसलाई कसैले नकार्न सक्दैन, तर अस्पतालमा हुने हरेक मृत्युलाई चिकित्सकको कमजोरी भन्न मिल्दैन, यसका धेरै आयाम हुन्छन् भनेर बुझ्नुपर्छ ।

जनशक्ति, उचित संरचना र औजार र औषधिको उपलब्धता, स्वास्थ्य सहकर्मीहरूको प्रभावकारी भूमिका अनि अस्पताल प्रशासनको भूमिकाले समेत प्रभाव पारिरहेको हुन्छ । यी सबै पक्षमा कमजोर स्वास्थ्य नीति र गैरजिम्मेवार सरकार नै हावी देखिन्छ । जाजरकोट भूकम्पपछि बिरामीको उपचारमा देखिएको समस्याले नेपालको स्वास्थ्य क्षेत्रको वास्तविकता उजागर गर्छ ।

दरबन्दी करिब पाँच दशक पुरानो छ र त्यस आधारमा स्वास्थ्यकर्मी अभाव हुनु स्वाभाविक हो । अनि दरबन्दी भएका ठाउँमा समेत चिकित्सक बस्ने उचित वातावरण नहुनु, अन्य देशमा झैं सम्मान र पारिश्रमिक दिन नसक्नु अनि सुरक्षित वातावरणमा काम गर्ने मौका नदिनुले पनि चिकित्सक र स्वास्थ्यकर्मीहरू सहरबाहिर जान चाहँदैनन् । यी सबै विषयमा सरकारको चासो खोइ ? ठोस नीति खोइ ? स्वास्थ्य क्षेत्र र चिकित्सक समाजसेवी अनि मानवसेवी हुन् र हुनु पनि पर्छ तर केवल सामजसेवी हैनन्, केवल मानवसेवी हैनन् ।

चिकित्सकको पनि घरपरिवार हुन्छ । तसर्थ श्रमबापत् आय आर्जन हुनु पनि आवश्यक छ । चिकित्सकहरूको अध्ययनका क्रममा हुने संघर्ष, त्याग, मिहिनेत र लगानी सबै पक्षलाई केलाउनुपर्छ । उचित सम्मान, राज्यको सहयोग र सहुलियत अनि श्रमअनुसारको पारिश्रमिक नपाएसम्म चिकित्सक पलायन हुनबाट अब रोकिने अवस्था छैन । यस्तो पलायनले नेपालले बर्सेनि ६ सय दक्ष चिकित्सक गुमाउनुपरेको छ, जसको प्रभाव स्वास्थ्य क्षेत्रमा टड्कारो रूपमा देखिँदै जानेछ ।

हुन त सरकाले बिमाको अवधारणा ल्याएर केही हदसम्म प्रभावकारी स्वास्थ्य सेवा दिने प्रयास गरेको थियो तर बिमामार्फतको सेवा पनि प्रभावकारी हुन सकेको छैन । बिमा कसैका लागि कमाइखाने भाँडो बनेको छ त कसैका लागि समय–समयमा शारीरिक परीक्षणको बहाना । पछिल्लो समय नेपालमा स्वास्थ्य बिमा प्रभावहीन बन्दै गएको छ । बिमाबापत् लगानी गरेको रकम प्रयोग नहुने भएपछि अर्को वर्ष बिमा सक्रिय नगराउने हजारौं व्यक्तिले चाहिएका बेला उचित स्वास्थ्य सेवा लिन सकिरहेका छैनन् । बिमाका अन्य पक्षसमेत कमजोर साबित भइरहेका बेला बिमा प्रक्रियाको उचित परिमार्जन हुनु आवश्यक छ ।

अन्तमा, नेपालको डगमगाउँदो स्वास्थ्य क्षेत्रको सुधारमा सरोकारवालाहरू जिम्मेवार हुनुपर्छ । सरकारले यसमा थप ढिलाइ गर्नुहुन्न । चिकित्सक पलायन रोक्न सरकारी निकायहरूमा दरबन्दी बढाउनुपर्छ, गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न उचित कार्यनीति अपनाउनुपर्छ अनि प्रभावकारी स्वास्थ्य प्रशासन बनाउनुपर्छ । बिमाका कमजोर पक्षलाई सुधार गरी आम जनतालाई सहज, सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण बनाउनु आजको आवश्यकता हो । अनि मात्र नेपालको डगमगाउँदो स्वास्थ्य क्षेत्रलाई सही बाटोमा हिँडाउन सकिन्छ ।

साह अस्पताल व्यवस्थापनका जानकार र रिजाल वरिष्ठ हाडजोर्नी विशेषज्ञ हुन् ।

प्रकाशित : मंसिर १५, २०८० १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×