११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

लिथुआनियाली भाषा र संस्कृतको सम्बन्ध

यस आलेखमा लिथुआनियाली भाषा र संस्कृतबीच किन र कसरीभन्दा पनि के मिल्छ, अर्थात् यी दुई भाषाबीच पाइएको अनौठो समानतालाई प्रस्तुत गर्ने जमर्को गरिएको छ ।
रघुनाथ अधिकारी

लिथुआनियाली पूर्वोत्तर युरोपको बाल्टिक सागरको दक्षिणपूर्वमा रहेको राष्ट्र लिथुआनियामा बोलिने भाषा हो । यो यहाँको राष्ट्रभाषा पनि हो । भारोपेली भाषा परिवारभित्रको बाल्तस्लाभेली उपशाखाबाट स्लाभेली र बाल्टिक अलग्गै गरी स्लाभेली उपपरिवार जस्तै बाल्टिक भाषालाई पनि एउटा छुट्टै उपपरिवारका रूपमा सम्बोधन गर्ने गरिन्छ ।

लिथुआनियाली भाषा र संस्कृतको सम्बन्ध

बाल्टिक उपपरिवारभित्र पुरानो प्रुसेली, लात्भियाली र लिथुआनियाली गरी जम्मा तीन भाषाका साथै थुप्रै भाषिका पर्छन् । यी तीन भाषामा पुरानो प्रुसेली भाषा अठारौं शताब्दीको सुरुतिरै लोप हुन पुग्यो भने लात्भियाली भाषा लात्भियाको राष्ट्रभाषाका रूपमा रहेको छ । सँगै जोडिएको इस्टोनियामा बोलिने भाषा भने युरालिक वा फिन्नोउग्रिक परिवार अन्तर्गत पर्छ ।

दक्षिण एसियाबाट ५ हजार किलोमिटर टाढाको भूगोलमा बोलिने लिथुआनियाली (यसपछि छोटकरीमा ‘लिथु’ पनि भनिएको) भाषा अचम्मलाग्दो गरी मूलतः दक्षिण एसियामा विकसित बन्न पुगेको संस्कृत (यसपछि छोटकरीमा ‘संस्’ पनि भनिएको) भाषासँग निकै मिल्छ । यस आलेखमा लिथुआनियाली भाषा र संस्कृतबीच किन र कसरीभन्दा पनि के मिल्छ, अर्थात् यी दुई भाषाबीच पाइएको अनौठो समानतालाई प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

लिथुआनियाली भाषा ध्वनि, अर्थ, रूप र वाक्य निर्माणमा पाइने पदक्रमको अवस्था जस्ता भाषाविज्ञानका मूल पक्षलाई केन्द्रमा राखेर हेर्दा संस्कृतसँग साह्रै नजिक देखिन्छ । जस्तो—

संस्. ‘कस्त्वमसि ?’, लिथु. ‘कस तु एसी ?’ अर्थ— ‘तिमी को हौ ?’

संस्. ‘तत्त्वमसि’, लिथु. ‘तत् तु एसि’, अर्थ— ‘त्यो तिमी हौ’ ।

संस्. ‘देवो दन्तानददात्, देवो धानां दास्यति’, लिथु. ‘दिएवस दन्तिस दावे, दिएवस दुओन्या दुओस’, अर्थ— ‘देवताले दाँत दिए, देवताले अन्न वा रोटी पनि दिनेछन्’ (वीदुनस, सन् २०१६,

‘संस्कृतलितुवीयमाला’)।

संस्. ‘अश्रु स्वसुः अक्षिणि’, लिथु. ‘अश्रोस सेसेरस अकीसे’, अर्थ— ‘बहिनीका आँखामा आँसु’ ।

संस्कृत र लिथुआनियाली भाषासँग सम्बन्धित माथि उल्लिखित शब्द र वाक्यहरू ध्वनि, संरचना, अर्थ र वाक्य निर्माणमा स्वतन्त्र पदक्रमका हिसाबले समेत समान छन् । अझ रोचक त, यी दुवै भाषाका क्रियापदहरूमा रहेको समानताले भूगोलको यति लामो दूरीमा रहेर पनि कसरी यति धेरै समान हुन पुगे यी दुई भाषा भन्ने घोर जिज्ञासा उत्पन्न गराउँछ (हेर्नुस् तालिका) ।

तालिका र त्यसअघिका उद्धरणका रूपमा प्रस्तुत गरिएका समानता दर्शाउने शब्द र वाक्य संरचनाले के देखाउँछन् भने, एकातिर वाक्यगठनमा यी दुवै भाषामा पदक्रम स्वतन्त्र छ भने अर्कातर्फ क्रियापदमा प्रयुक्त विभक्तिहरूसमेत अरू भाषासँग तुलना हुनै नसक्ने गरी आधारभूत रूपमा समान देखिन्छन् ।

ध्वनिविज्ञान र अर्थविज्ञानका दृष्टिबाट तुलना गर्दा दुवै भाषामा समान रूपमा पाइएका करिब ६ सय धातु र प्रातिपदिकहरू आधारभूत रूपमा समान छन् । यस्ता धातु र प्रातिपदिकहरूमा यान्त्रिक रूपमा समान एवं ध्वनिवैज्ञानिक र अर्थवैज्ञानिक नियम वा सूत्रहरूबाट समानता दर्शने गरी विभाजन गरी हेर्दा मूलतः दुई प्रकारका छन् । यान्त्रिक रूपमा समान हुने त समान भई नै गयो तर नियमको प्रयोग गरी समानता उजागर हुने धातु तथा प्रातिपदिकहरू जम्मा २३ नियमबाट व्याख्या गर्न सकिने पाइएको छ (अधिकारी, सन् २०२३, ‘हिस्टोरिकल रिलेसनसिप बिट्विन संस्कृत एन्ड लिथुआनियन’) । विश्लेषण गरेर हेर्दा विभिन्न विषय–क्षेत्रसँग सम्बन्धित धातु र प्रातिपदिकहरू दुवै भाषामा निकै समान ढंगले पाइएका छन् । जस्तो—

शरीरका अङ्ग जनाउने केही प्रातिपदिक : संस्. ‘अक्षि’, लिथु. ‘अकि’, अर्थ— आँखा; संस्. ‘अश्रु’, लिथु. ‘अश्र’, अर्थ— आँसु; संस्. ‘कुच’, लिथु. ‘क्रूत’, अर्थ— ‘स्तन’; संस्. ‘हृद’, लिथु. ‘शिर्द’, अर्थ— मुटु; संस्. ‘नख’, लिथु. ‘नग’, अर्थ— नङ । यी र यस्ता समान नामधातुहरू कसरी दुवै भाषामा आधारभूत रूपमा मिल्न गए भन्ने जिज्ञासा प्रबल छ ।

नातासम्बन्ध जनाउने नामधातु : संस्. ‘मातर’, लिथु. ‘मोतेर’, अर्थ— आमा; संस्. ‘तात’, लिथु. ‘तेते’, अर्थ— बुबा; संस्. ‘स्वसृ’, लिथु. ‘सेसेर’, अर्थ— दिदीबहिनी; संस्. ‘सूनु’, लिथु. ‘सूनुस’, अर्थ— छोरा; संस्. ‘पति’, लिथु. ‘पतिनस’, अर्थ— लोग्ने वा पति आदि ।

पशुपन्छी जनाउने नामधातु : संस्. ‘पशुः’, लिथु. ‘पेकुस’, अर्थ— जनावर; संस्. ‘अश्व’, लिथु. ‘अश्व’, अर्थ— घोडा । लिथुआनियालीमा थप ‘अश्विनी’ ले कडा परिश्रम गर्ने घोडा भन्ने पनि बुझिन्छ । संस्. ‘अज’, लिथु. ‘ओज’, अर्थ— ‘बाख्रा’; संस्. ‘अविस’, लिथु. ‘अविस’, अर्थ— भेडा; संस्. ‘श्वन्’, लिथु. ‘शुओ’, अर्थ— कुकुर; संस्. ‘हंस’, लिथु. ‘जाँस’, अर्थ— हाँस; संस्. ‘वृक’, लिथु. ‘विल्क’, अर्थ —ब्वाँसो; संस्. ‘कृमिन्’, लिथु. ‘किर्मिन’, अर्थ— कीरा, गड्यौला आदि ।

वनस्पति जनाउने नामधातु : संस्. ‘यव’, लिथु. ‘यव’, अर्थ— जौ; संस्. ‘भूर्ज’, लिथु. ‘बेर्ज’, अर्थ— भोजपत्रको वृक्ष; संस्. ‘शाखा’, लिथु. ‘शाका’, अर्थ— हाँगा ।

घरायसी सरसामान जनाउने नामधातु : संस्. ‘धाम’, लिथु. ‘नम’, अर्थ— घर; संस्. ‘पुरी’, लिथु. ‘पिलिस’, अर्थ— किल्ला; संस्. ‘द्वार’, लिथु. ‘दुरीस’, अर्थ— दैलो; संस्. ‘रथ’, लिथु. ‘रत’, अर्थ— रथ । लिथुआनियालीमा भने ‘रत’ चक्काको अर्थमा पनि प्रयुक्त हुन्छ । संस्. ‘मधु’, लिथु. ‘मेदुस’, अर्थ— मह; संस्. ‘अग्नि’, लिथु. ‘उगन’, अर्थ— आगो; संस्. ‘अङ्गार’, लिथु. ‘अङ्ल’, अर्थ— अँगार; संस्. ‘उर्णा’, लिथु. ‘विल्न्’, अर्थ— ऊन । यी शब्दहरू ध्वनि र अर्थमा एकरूपताका हिसाबले आधारभूत रूपमा समान पाइन्छन् ।

अन्य भौतिक वस्तु र परिवेशजन्य कतिपय नामधातुसमेत आधारभूत रूपमा समान पाइएका छन् । जस्तो— संस्. ‘उभ’, लिथु. ‘अबु’, अर्थ— माथि र दुवै पनि; संस्. ‘दक्षिण’, लिथु. ‘देशिन’, अर्थ— दाहिने; संस्. ‘उच्च’, लिथु. ‘ऊग’/‘ऊगिस’, अर्थ— उचाइ; संस्. ‘अश्म’, लिथु. ‘अक्म’, अर्थ— ढुङ्गो; संस्. ‘धूलि’, लिथु. ‘दुल्क’, अर्थ— धूलो; संस्. ‘वायु’, लिथु. ‘वेय’, अर्थ— हावा; संस्. ‘स्रु’, लिथु. ‘स्रू’, अर्थ— बहनु; संस्. ‘हिम’, लिथु. ‘जिएम’, अर्थ— हिउँद; संस्. ‘सूर्य’, लिथु. ‘सउल’, अर्थ— घाम; संस्. ‘उषा’, लिथु. ‘अउश’/‘अउशरा’, अर्थ— बिहानी; संस्. ‘दिन’, लिथु. ‘दिएन’, अर्थ— दिन वा दिउँसो; संस्. ‘शुष्’/‘शुष्क’, लिथु. ‘सउस’, अर्थ— सुक्खा; संस्. ‘नक्त’, लिथु. ‘नपत’, अर्थ— रात्रि; संस्. ‘तमस्’, लिथु. ‘तम्स’, अर्थ— अन्धकार ।

अमूर्त अवधारणा जनाउने केही धातु पनि हुबहु र आधारभूत रूपमा समान पाइन्छन् । केही भिन्न भएका अवस्थामा ध्वनिविज्ञानका निश्चित नियमबाट हेर्दा स्वाभाविकै देखिन्छन् । जस्तो— संस्. ‘भू’, लिथु. ‘बू’ अनि संस्. ‘अस्’ र लिथु. ‘एस’ धातुले समान रूपमा सत्ता या अस्तित्वको अर्थ बोकेका छन् । मानिसका विश्वाससँग सम्बन्धित केही धातु पनि निकट देखिन्छन् । जस्तो— संस्. ‘देवी’, लिथु. ‘देइवे’, अर्थ— देवी; संस्. ‘बुध्’, लिथु. ‘बुध’, अर्थ— ब्यूँझनु/जाग्नु; संस्. ‘रम्’, लिथु. ‘रम’, अर्थ— शान्त र रमाइलो, रमाउनु; संस्. ‘मोक्ष’, लिथु. ‘मोक’ समान अर्थमा मुक्तिसँग सम्बन्धित छन् ।

उदाहरणका रूपमा उल्लिखित यी केही धातु र प्रातिपदिकहरू ध्वनि र अर्थका हिसाबले दुवै भाषामा हजारौंको संख्यामा समान रूपमा अस्तित्ववान् रहेको र नेपाली–मैथिली–हिभक्तपुरमा घरपालुवा जनावरसम्बन्धी क्लिनिकल स्किल लर्निङ सेन्टरन्दी र अंग्रेजी जस्ता पूर्वस्थानिक (प्रिपोजिसनल) र परस्थानिक (पोस्टपोजिसनल) एवं निश्चित पदक्रम भएका भाषाका तुलनामा संस्कृत र लिथुआनियाली दुवै नै विभक्तिप्रधान र स्वतन्त्र पदक्रम भएका (फ्रिवर्डअर्डर) प्रकृतिका भाषा भएका कारण झनै नजिक देखिन्छन् ।

यसरी यी दुई भाषामा यत्रो विधि समानता देखिन जाँदा केही जिज्ञासा स्वाभाविक रूपमा उत्पन्न हुन्छन् । जस्तो— यत्रो भौगोलिक दूरीमा रहेका यी दुई भाषामा निहित समानता के प्राचीनकालमा हुने गरेको व्यापारका कारण शब्दहरूको प्रसारण भएर भएको हो ? यदि यसो हुन्थ्यो भने थुप्रै शब्द त समान हुन सक्थे होला तर बहुसूचक तुलनाका दृष्टिबाट हेर्दा यो असम्भव देखिन्छ ।

लिंग्विस्टिक पेलिअन्टोलोजीका दृष्टिबाट हेर्दा जब शरीरका अङ्गका नामहरू, नातागोता जनाउने शब्दहरू, जीव र वनस्पतिका नामहरू, घरायसी प्रयोजनका सामग्रीदेखि लिएर जीवन र जगत्सँग निकटतम रूपमा सम्बन्धित कैयौं धातु शब्द र तिनका रूपहरूसमेत समान रूपमा चल्छन् भने यस तथ्यका आधारमा यस्ता दुई भाषाबीच वंशानुगत (जेनेटिक्स) सम्बन्ध हुने गर्छ भनिन्छ । यी भाषामा वंशानुगत सम्बन्ध छ भन्ठान्ने हो भने दुई भाषिक समुदायका पुर्खाहरू कुनै समयमा एउटै साझा भूभागमा बसोबास गर्थे भन्ने निष्कर्षमा पुग्नुपर्ने हुन्छ ।

-मानवशास्त्र र भाषाविज्ञानका अध्येता अधिकारीले ‘हिस्टोरिकल रिलेसनसिप बिट्विन संस्कृत एन्ड लिथुआनियन’ विषयमा विद्यावारिधि गरेका छन् ।

प्रकाशित : मंसिर १४, २०८० ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपालको पासपोर्ट फेरि पनि विश्व वरीयतामा १०३ औं स्थानमा परेर खराब सूचिमै दर्ज भयो । स्तर उकास्न मुख्य रुपमा के गर्नुपर्छ ?